शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ओली एमाले फुटाएर जाँदै हुनुहुन्छ : भीम रावल

शुक्रबार, १० वैशाख २०७८, १७ : २४
शुक्रबार, १० वैशाख २०७८

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले अध्यक्ष केपी शर्मा ओली पार्टी फुटाएर जान लागेको बताएका छन् । शुक्रबार राजधानीमा आयोजित एक साक्षात्कारमा बोल्दै उनले आफूहरु नभई ओली नै पार्टी फुटाएर जान लागेको बताएका हुन् ।

‘ओलीजी पार्टी फुटाएर जाँदै हुनुहुन्छ,’रावलले भने, ‘पार्टी फुटाएर गएमा निर्णायक कदम चाल्छौँ ।’ उनले आफूहरु कुनै हालतमा एमालेबाट नभाग्ने स्पष्ट पारे । कसैको धम्कीबाट नडराउने बताउँदै एमालेको आफूहरु निर्वाचित पदाधिकारी भएको बताए । नवौं महाधिवेशनको म्यान्डेट अनुसार ओली अध्यक्ष भएको र आफूहरु पनि पदाधिकारी भएको उनले बताए । रावलले भने, ‘हामी नेकपा एमालेमा टाँस्सिएका होइनौं, निर्वाचित पदाधिकारी हौं ।’

कुनै व्यक्तिले हटाउँदैमा आफूहरुको सांसद पद नजाने रावलले जिकिर गरे । सांसद पद जाने गरी विधि विधान विपरित कार्य नगरेकाले अध्यक्ष ओलीले पदमुक्त गर्न नसक्ने उनले तर्क गरे । ‘कुनै व्यक्तिले हटाउँदैमा हाम्रो सांसद पद जाँदैन’ ओलीलाई चुनौती दिँदै रावलले भने, ‘सांसद पदबाट मुक्त हुन संविधानले स्पष्ट रुपमा विधि तोकेको छ भन्ने हेक्का होस् ।’ 

विधि र विधान विपरित कसैले पदबाट हटाउँदैमा नहट्ने तर्क गर्दै ओलीको गतिविधि नेकपा एमाले विभाजनको दिशातर्फ बढिरहेको आरोप लगाए । उनले सांसद पदबाट आफूहरु हट्न राजीनामा दिनुपर्ने, दल त्याग गर्नुपर्ने, ह्वीप उल्लंघन गरेको हुनुपर्ने उल्लेख गरे । उनले भने,‘हामीले सांसद पदबाट हट्नुपर्ने कुनै त्यस्तो कार्य गरेका छैनौं, कसैले हटाएर हट्दैनौँ ।’

आफूहरुले अलग पार्टी बनाएको आरोप हाँस्यास्पद भएको समेत उनको भनाई थियो । उनले भने, ‘अलग पार्टी चलाएको र सञ्चालन गरेका छैनौं ।’  ओलीले सहमतिका लागि भन्दै माधवकुमार नेपालसँग गरेको दुई चरणको भेटलाई भ्रम छर्ने रणनीतिको संज्ञा रावलले दिए । कार्यकर्तामाझ मिलाउन खोजेको थिएँ भनि भ्रम छर्न ओलीले नेताहरुसँग पछिल्लो समय भेटवार्ता गरेको उनले सुनाए । 

ओलीले गठन गरेको स्थायी कमिटी र महाधिवेशन आयोजक कमिटीलाई अवैधानिक संज्ञा दिँदै रावलले अवैधानिक कमिटी बनाएर गरिएको बैठक अवैधानिक नै हुने तर्क गरे । उनले भने, ‘ओलीजी नवौं महाधिवेशनबाट निर्वाचित अध्यक्ष हुनुहुन्छ भने हामी पनि सोही महाधिवेशनबाट निर्वाचित उपाध्यक्ष हौं ।’ 

सहमतिका लागि २ जेठ २०७५ को अवस्थामा नेकपा एमालेको संरचनालाई सक्रिय बनाउनुको विकल्प नभएको उनको भनाई थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप