शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

हिन्दु सेन्टिमेन्ट तान्दै केपी ओली, राप्रपाबाट फुत्किँदै एजेन्डा

आइतबार, १२ वैशाख २०७८, १० : ३७
आइतबार, १२ वैशाख २०७८

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टीले जबरजस्तरुपमा अघि सारेको हिन्दुत्वको एजेन्डा फुत्किने खतरा देखिन थालेको छ । राप्रपाको एजेन्डा एमाले अध्यक्ष केपी ओलीले खोस्न खोजेको भन्दै राप्रपाका नेताहरुले चिन्ता व्यक्त गर्न थालेका छन् ।

प्रधानमन्त्रीसमेत रहेका एमालेका अध्यक्ष केपी ओलीले पछिल्लो समय एकपछि अर्को गर्दै हिन्दु जनमतलाई आफ्नो पक्षमा पार्ने गरी गतिविधि गर्दै आएपछि पछिल्लो राप्रपा सशंकित मात्रै बनेको छैन, सो पार्टीका जिम्मेवार नेताले सार्वजनिकरुपमै कटाक्ष गर्न थालेका छन् ।

यसै साता प्रधानमन्त्री ओलीले बालुवाटारमा राम, लक्ष्मण, सीता र हनुमानका मूर्तिहरू पूजा गरेकै दिन राप्रपा अध्यक्ष कमल थापाले गरेको ट्विटले पनि राप्रपा नेताहरुको चिन्तालाई अभिव्यक्त गर्दछ । अध्यक्ष थापाले लेखेका थिए–

‘हिन्दुराष्ट्रको पहिचान समाप्त पारी धर्म परिवर्तनको विदेशी एजेन्डा कार्यान्वयन गर्ने, धर्मलाई अफिम ठान्ने, ईश्वरको अस्तित्व अस्वीकार गर्ने, संस्कृति परम्परा मास्ने कम्युनिष्ट/मार्क्सवादीहरूलाई मठ मन्दिरप्रतिको कृत्रिम, चुनावी मोह होइन, हिन्दुराष्ट्र पुनर्स्थापना गर्ने साहस देखाउन आग्रह गर्दछु ।’

राप्रपा अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले मार्क्स र माओको सालिकसँगै राम र हनुमानको पनि मन्दिर पनि ओलीले राख्न खोजेको भन्दै कटाक्ष गरेका छन् । उनले कवितात्मक शैलीमा व्यङ्ग्य गर्दै भनेका छन्–

मार्क्स र माओको सालिक
राम र हनुमानको मन्दिर
दुवैको मालिक हुन खोज्दा
न रह्यो  वाम
न रह्यो राम
बचेछ एउटा
सिद्धान्त विचलित

लोहनीको यस अभिव्यक्तिले राप्रपा दबाबमा परेको बुझिन्छ । हुन पनि हिन्दु राष्ट्रको एजेन्डाकै बलमा राप्रपाले २०७० को दोस्रो संविधानसभा निर्वाचनबाट २५ सिट जितेको थियो । तर, सत्ता राजनीतिमा फस्दै एजेन्डालाई सही रुपमा अघि बढाउन नसक्दा सो पार्टी २०७४ को प्रतिनिधि सभा निर्वाचनसम्म आइपुग्दा १ सिटमै खुम्चिन पुगेको थियो । पछिल्लो समय हिन्दुत्वको एजेन्डालाई अघि बढाउने गरी उल्लेखनीय अभियान सञ्चालन नगरेको राप्रपा रक्षात्मक अवस्थामा पुगेको हो ।

हिन्दु सेन्टिमेन्ट बटुल्दै ओली

गत पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि देशव्यापी विरोध हुँदै गर्दा उनले हिन्दु सेन्टिमेन्टलाई आफ्नो पक्षमा पार्ने गरी गतिविधि सञ्चालन गरे । भलै उनले हिन्दुराष्ट्रको पक्षमा अहिलेसम्म मुख खोलिसकेका छैनन् । संसद भङ्ग गर्दै दुई चरणमा चुनाव घोषणा गरेपछि जनआक्रोश बढ्दै सरकारविरोधी प्रदर्शन भइरहेको अवस्थामा उनले पशुपतिमा जलहरी राख्न आर्थिक सहयोगको घोषणा गर्नुका साथै नारायणहिटीको आँगनमा पार्टीको शक्ति प्रदर्शन गराए । ओलीकै पार्टीका नेताहरुले ओलीले त्यहाँबाट हिन्दुराष्ट्रको एजेन्डाबारे बोल्ने अभिव्यक्ति दिए पनि ओलीले त्यस्तो त गरेनन् हिन्दु जनमत बटुल्ने अभियानलाई भने जारी राखे । त्यसकै सिलसिलामा उनले कहिले रामको जन्म ठोरीमा भएको बताए त त्यही ठोरीमा रामसीताको मन्दिर प्रतिस्थापन गर्ने निर्णय लिए । यस्तै ओलीले हिन्दु दर्शन र मूल्य मान्यताका लामो प्रवचन दिने कार्यलाई निरन्तरता दिँदै आएका छन् ।

पशुपतिलाई ३० करोड

मुलुकमा राजनीतिक सङ्कट गहिरिएकै माघ १९ गते सोमबारको शुभ साइत पारेर प्रधानमन्त्री ओली पशुपति दर्शनमा पुगेका थिए । त्यहाँ पूजापाठ गरेका ओलीले मन्दिरको शिवलिङ्गमा सुनको जलहरी राख्नका निम्ति सरकारका तर्फबाट ३० करोड रुपैयाँ सहयोग गरे ।

पशुपतिको पूजाअर्चनाका क्रममा उनले सुरुमै ५१ हजार खर्च लाग्ने गरी लाखबत्ती बालेर रुद्री पूजासमेत गरेका थिए । ओलीकै सहयोगमा पशुपतिमा विवादका बीच सुनको जलहरी राखिसकिएको छ । त्यहाँ १ सय ४१ किलो सुनको जलहरी राखिएको हो ।

ओलीको पशुपति दर्शनलाई जोडेर त्यतिबेला भारतीय अखबारले ‘नेपालमा सत्ता कायम राख्नका लागि ओलीले खेले हिन्दु कार्ड’ शीर्षकमा सम्पादकीय नै लेखेको थियो ।

पचासभन्दा बढी वर्षदेखि कम्युनिस्ट राजनीतिमा सक्रिय ओलीले अहिलेसम्म आफूलाई नास्तिक भन्दै आएको र धर्मलाई उनले ‘अफिम’सँग तुलना गरेको पनि सो अखबारले उल्लेख गरेको थियो ।

‘तर अब कुर्सी खोसिन लागेको देखेर उनले आफ्नो कट्टर कम्युनिस्टवाला पहिचानमा एकाएक हिन्दुत्वको रङ भर्न थालेका छन्, नेपालको हिन्दु राजतन्त्रको विरोध गर्ने ओलीले अब हिन्दु धार्मिक अनुष्ठानमा अग्रसर भएर भाग लिने र मन्दिरहरुमा जान थालेका छन्,’ सम्पादकीयमा लेखिएको थियो, ‘काठमाडौंस्थित प्रसिद्ध पशुपतिनाथको मन्दिरमा पत्नी राधिकाका साथ विशेष पूजाका लागि गए, उनले त्यहाँ सवा घण्टा पूजा–अर्चना गरे र सवा लाख बत्ती बाले ।’

नारायणहिटी अगाडि सभा !

ओलीले नारायणहिटी सङ्ग्रहालय अगाडि आयोजित जनसभामा गत माघ २३ गते सम्बोधन गरेका थिए । नारायणहिटी अगाडि कार्यक्रम गरिएपनि तत्कालीन नेकपाका नेता सुरेन्द्र पाण्डेले सार्वजनिक रुपमै ओलीले हिन्दुराष्ट्रको घोषणा गर्न लागेको अभिव्यक्ति दिएका थिए । तर ओलीले सो आमसभामार्फत आफू परिवर्तन र गणतन्त्रको पक्षमा रहेको भन्दै सो अभिव्यक्ति खारेज गरिदिएका थिए । ओलीले जे बताए पनि उनको गतिविधि भने हिन्दु जनाधारलाई आफ्नो पक्षमा पर्नेतर्फ नै हुँदै गयो ।

यसैको सिलसिलामा कोरोना महामारीका बीच फागुन ७ मा बालुवाटारमै ‘श्री सीताराम शोभा रथयात्रा स्थापना समारोह’ को आयोजना गरियो । बालुवाटारबाट रथायात्रा माडीको अयोध्याधाममा लगेर भव्य समारोहबीच राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति प्रतिस्थापन गरिसकिएको छ । बालुवाटारमा ओलीले मूर्तिमा विशेष पूजासमेत गरेका थिए ।

उसो त ओलीले विभिन्न स्थानमा हुने विकास निर्माणको शिलान्यास लगायतमा समेत पण्डित लगाएर विशेष पूजापाठ गराउने गरेका छन् । यस्तै हिन्दु दर्शन र संस्कृतिमा केन्द्रित रहेर उनले लामो प्रवचन पनि दिँदै आएका छन् ।

फागुन ११ को सर्वोच्च अदालतको फैसलापछि एमाले बनिसकेपछि पनि ओलीले आफ्नो हिन्दु कार्डको रणनीतिलाई त्याग्न सकेको देखिँदैन । उनले बोलीमा परिवर्तनको अलाप जप्ने गरे पनि भित्रभित्रै हिन्दुराष्ट्रलाई बल पुग्नेगरी गतिविधि गर्दै आएको एमालेका एक नेताले बताए । प्रतिनिधि सभा विघटनजस्तो प्रतिगामी कदम चाल्ने ओलीको सोच पनि प्रतिगामी रहेको उनको आरोप छ । ‘ओली आफ्नो पक्षमा जनमत तान्न अनेक हत्कण्डा गर्न पछि पर्दैनन् । उनले अहिले हिन्दु राष्ट्र र राजतन्त्रसमेतको एजेन्डामा खुल्न सकेका छैनन्’, ती नेताले भने, ‘राजनीतिक फाइदाका लागि अन्तिम अवस्थामा पनिले हिन्दुको कार्ड फाल्न पछि पर्दैनन् ।’ भारतीय प्रधानमन्त्री ओलीले हिन्दुत्वको कार्ड फालेजस्तै ओलीले पनि त्यही सिको गर्ने प्रयास गरिरहेको कतिपयको आरोप छ ।

काँग्रेसमा पनि कम छैन हिन्दुवादीको धार !

एमालेमा ओली एक्लैले हिन्दु जनमत बटुल्नेगरी गतिविधि गर्दै गर्दा काँग्रेसमा पनि हिन्दुराष्ट्र हुनुपर्छ भन्ने मत एकथरीमा रहेको छ । त्यसमा काँग्रेसमा हिन्दुराष्ट्र हुनुपर्छ भन्नेमा महामन्त्री शशांक कोइरालाले सार्वजनिक रुपमै जाहेर गर्दै आएका छन् । यद्यपि काँग्रेसले हिन्दुराष्ट्रको पक्षमा खुलेआम गतिविधि र सेन्टिमेन्ट आफूतिर पार्ने गतिविधि भने गरेको पाइँदैन ।

बरु यदाकदा हिन्दुराष्ट्रको पक्षमा युवाहरु सडकमा आउने गरेका छन् । कोरोना महामारी उग्र बन्दै गर्दा गतवर्षको मध्यतिर युवाहरुको प्रदर्शन व्यापक बनेको थियो ।  सो प्रदर्शन यसरी फैलियो कि देशव्यापी बन्न पुग्यो । प्रदर्शन नतिजामुखी नभए पनि त्यसले हलचल मच्चाइदिएको थियो । रोचक त के रह्यो भने सो प्रदर्शनमा हिन्दुवादी र राजावादीको एजेन्डा बोक्ने राप्रपा कहीँकतै देखिएन । बरु आन्दोलन चर्किन थालेपछि आफूहरुको पनि समर्थन रहेको राप्रपा अध्यक्ष कमल थापालगायतले बताए । तर युवाहरुले भने आफूहरु स्वतस्फूर्त रुपमा सडकमा आएको भन्दै खण्डन गरे । यसले पनि राप्रपा एजेन्डालाई सही रुपमा उठाउन नसक्ने अवस्थामा पुगेको सो एजेन्डा फुत्किने दिशातिर पुगेको विश्लेषकहरुको भनाइ छ ।

राप्रपा नेता बर्तौला राप्रपाले आफ्नो एजेन्डा जोगाउन निरन्तर लागिपर्ने बताउँछन् । ‘स्वभाविक रुपमा विगतमा जुन जनमत प्राप्त गरेका थियौं, त्यसमा अहिले हामी खस्केको यथार्थ हो’, उनले भने, ‘एजेन्डा छाडेको होइन । हामी मन, वचन र कर्मले विचारप्रति प्रतिबद्ध छौँ । ’

उनले जेठमा हुने महाविधेशनबाट स्पष्ट विचार र अलग पहिचनसहितको राजनीतिक दल बन्ने एजेन्डा तय गरिने बताउँदै कमजोर भएको जनमतलाई कसरी तान्ने भन्नेमा पनि रणनीति र कार्यनीति बनाएर अघि बढ्ने बताए ।

राप्रपालाई एजेन्डा जोगाउने चिन्ता

राप्रपाका नेताहरु आफ्नै पार्टीको नेतृत्वमा आएको विचलन, सत्ता स्वार्थ र एजेन्डालाई सहीरुपमा ‘क्यास’ गर्न नसक्दा समस्या पैदा भएको स्वीकार गर्छन् । यद्यपि हिन्दुत्वको एजेन्डाप्रति राजनीतिक तहमा साझा सहमति बन्दै गए त्यो पार्टीका लागि खुसीको विषय हुने बताउन भने नेताहरु छाड्दैनन् ।

राप्रपाका नेता दिलनाथ गिरीले पार्टीले हिन्दुत्व अर्थात हिन्दुराष्ट्रको एजेन्डालाई सही रुपमा क्यास गर्न नसकेको स्वीकार्दै यसमा नेतृत्वको कमजोरी रहेको आरोप लगाए । उनले पार्टीलाई गतिशील बनाउन स्पष्ट रणनीति र कार्यनीति बनाउनुपर्ने भन्दै विगतमा भएको गल्ती कमजोरीलाई स्वीकार्दै जनमत र एजेन्डालाई जोगाउनुपर्नेमा जोड दिए ।

यसैगरी राप्रपाका नेता राजाराम बर्तौलाले भने हिन्दुत्वको एजेन्डाप्रति साझा सहमति बन्दै गए त्यो पार्टीको लागि खुसीको कुरा हुने बताए । ‘हिन्दुत्वको एजेन्डाप्रति साझा सहमति बन्दै गयो भने त्यो हाम्रा लागि खुसीकै कुरा हो’, उनले भने, ‘मात्र कसैबाट पनि राजनीतिक स्वार्थका लागि देखावटी नहोस् भन्ने मात्रै हो ।’

उनले राप्रपा हिन्दुत्वको एजेन्डाप्रति प्रतिबद्ध रहेको तर कतिपयले फैलाएको भ्रम चिर्न नसक्दा पार्टीप्रति नकारात्मक सन्देश गएको जिकिर गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप