बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कोरोना संक्रमित बढेको बढ्यै, सरकारले प्रक्षेपणअनुसार तयारी गर्न सकेन

मङ्गलबार, १४ वैशाख २०७८, १२ : ५२
मङ्गलबार, १४ वैशाख २०७८

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या तीन लाख नाघेको छ । पिसिआर र एन्टिजेन विधिबाट परीक्षण गरेकामध्ये करिब ३३ प्रतिशतमा संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण दरमा उच्च वृद्धि भएपछि सरकारले काठमाडौं उपत्यकामा वैशाख १६ देखिएका हप्ता निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ । सरकारले कोरोनाभाइरस (कोभिड–१९) संक्रमितको संख्या असारसम्ममा दैनिक ११ हजार पुग्ने प्रक्षेपण गरेको छ । त्यतिबेलासम्म देशमा कोरोना संक्रमितको संख्या ६ लाख पुग्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुमान छ ।

मंगलबारमात्रै सरकारले जारी गरेको तथ्याङ्कमा २४ घण्टाको अवधिमा संक्रमणबाट देशभर २८ जनाको मृत्यु भएको छ । संक्रमित र मृतकको संख्या सरकारले गनिरहँदा संक्रमणका कारण गम्भीर बिरामी भएकालाई अस्पतालमा बेडको अभाव हुन थालेको छ । सरकारले संक्रमितको प्रक्षेपणअनुसार पूर्व तयारी नगरेको जनस्वास्थ्य विज्ञ बताउँछन् ।

उपत्यकामा एक हप्ता निषेधाज्ञा गर्ने निर्णय गरे पनि कोरोना संक्रमण नरोकिने जनस्वास्थ्यविद् बाबुराम मरासिनीले बताए । हालसम्म ९ वटा जिल्लामा ५ सयभन्दा माथिको संख्यामा संक्रमित छन् । काठमाडौं, भक्तपुर, ललितपुर, कास्की, बाँके, रुपन्देही, दाङ, मोरङ, पर्सामा ५ सयभन्दा बढी संक्रमित छन् ।

एकहप्ताको अवधिमा कति बढे संक्रमित ?

स्रोत : स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

संक्रमणका कारण अस्पताल भर्ना हुनुपर्ने बिरामीले सहज रुपमा भर्ना पाउन मुस्किल भइसकेको जनस्वास्थ्यविद् शरत वन्त बताउँछन् । ‘संक्रमणका कारण अस्पताल भर्ना हुनुपर्ने बिरामी बाँके लगायतका जिल्लामा बेड नपाएर घरमै बसेका खबर आइरहेका छन्,’ उनले भने, ‘अस्पतालमा पुगेका धेरै बिरामीहरुलाई न्यून स्वास्थ्यकर्मीले सेवा दिन बाध्य छन् । जनशक्ति, स्वास्थ्य पूर्वाधारको अभावमा गुणस्तरीय सेवा पाउन बञ्चित भइरहेका छन् ।’

अस्पताल भर्ना हुनुपर्ने संक्रमित बेलैमा उपचार नपाएर मृत्युको मुखमा पुग्ने स्थिति सिर्जना हुनुमा सरकारको गल्ती ठहरिने उनी बताउँछन् ।

​कोरोना संक्रमितको पहिचान, नियन्त्रण र व्यवस्थापनका लागि पूर्व तयारीका साथ अनवरत खटिनुपर्ने बेलामा सरकार बल्ल आवश्यक तयारीमा जुटेको भन्दै डा. वन्तले असन्तुष्टि पोखे । ‘पहिला नै संक्रमणको प्रक्षेपण संख्या गन्ती गरे पनि संक्रमणसँग जुध्नका लागि तयारी नगर्दासम्म त्यस्तो प्रक्षेपणको अर्थ रहँदैन,’ उनले भने ।

नेपालमा आयातीत भाइरसभन्दा पनि समुदायमा भित्रभित्रै संक्रमण तीव्ररुपमा फैलिरहेको जनस्वास्थ्य वैज्ञानिक डा.समीरमणि दीक्षित बताउँछन् ।

प्रक्षेपणअनुसार संक्रमित हुनेमध्ये कति प्रतिशत बिरामी अस्पताल भर्ना हुनसक्छन्, कस्तो खालको उपचार सेवा दिनुपर्छ, कति जनशक्ति र स्वास्थ्य पूर्वाधार चाहिन्छ भन्ने आँकलन गरी सोहीअनुसार व्यवस्थापन गर्न पुनः सरकार चुकेको उनी बताउँछन् ।

डा. दीक्षित भन्छन्, ‘संक्रमण दर बढ्दैमा बन्दाबन्दी नै अन्तिम उपाय होइन, कोरोना भाइरसको पहिचान, नियन्त्रण र उपचारमा जुध्न अझै बढी तयारी गर्नुपर्‍यो ।’

संक्रमित बढेसँगै अब अस्पताल भर्ना हुने बिरामीको संख्या तीव्र गतिमा बढ्न सक्ने भएकाले सरकारलाई तत्काल कोभिड अस्पताल तोक्न उनी सुझाव दिन्छन् । कोरोना संक्रमणको पहिलो लहरबाट पाठ सिकेर कोरोना परीक्षण, आइसोलेशन, उपचारको बन्दोबस्तमा बेलैमा सरकारले तयारी गर्नुपर्ने उनको भनाइ छ । भारतबाट आएका संक्रमितभन्दा समुदायमा पहिलादेखि रहेको संक्रमणले गति लिइरहेकाले दीर्घरोगी, वृद्धवृद्धा बढी प्रभावित हुने उनले बताए । उनका अनुसार यसका लागि पर्याप्त परीक्षण र कन्ट्याक्ट टे«सिङ र जनस्वास्थ्य मापदण्डमा जोडदिनुपर्ने देखिन्छ ।

संक्रमित भएर अस्पताल भर्ना हुने बिरामी ९० प्रतिशतभन्दा बढीलाई अक्सिजन आवश्यकता पर्छ । नेपालमा बालबालिका, युवा, वृद्धवृद्धादेखि लिएर दीर्घरोगी लगायतका सबै उमेर समूहमा संक्रमण देखिएकाले गम्भीर स्थिति सिर्जना भएको छ । कोरोना संक्रमणको दोस्रो लहर तीव्र गतिमा फैलिएकाले अक्सिजनको अभाव हुन सक्ने औंल्याउँदै उनले अक्सिजन प्लान्ट, सिलिन्डरको तयारीमा समेत जुट्न आवश्यक रहेको बताए ।

​‘अस्पतालमा भर्ना हुने अधिकांश र संक्रमणकै कारण होम आइसोलेसनमा बस्नेलाई पनि अक्सिजनको आवश्यकता पर्न सक्छ,’ उनले भने, ‘संक्रमित बिरामीलाई समयमै अक्सिजन उपलब्ध नभए कुनै पनि हालतमा बचाउन सकिँदैन ।’

सरकारले संक्रमितको उपचार गर्न डेडिकेटेड अस्पताल बनाउनुका साथै नन्–कोभिड बिरामीले कहाँकहाँबाट कस्तो उपचार पाउँछन् भनेर छुट्याउन सरकारलाई डा. वन्त सुझाव दिन्छन् । कोरोना परीक्षण, उपचार, नियन्त्रण र स्वास्थ्य पूर्वाधार नियन्त्रणमा निगरानी तथा अनुगमनमा सरकार उदासिन बन्दा संक्रमणको दर बढेको उनी बताउँछन् । ‘होम लाइसोलेशनमा बसेका संक्रमितलाई निगरानी गर्न अति आवश्यक छ, किनभने लक्षण नदेखिएपछि उनीहरुले जनस्वास्थ्यका मापदण्ड पालना नगर्ने परिदृष्य पहिलो लहरमै देखिएको हो,’ उनले भने, ‘स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगर्नेलाई कडा निगरानी गर्ने र कारवाही गर्न सरकारले अग्रसरता नदेखाए संक्रमण दर झन बढ्छ ।’

अब स्थालमार्ग, हवाई र ठूला शहरी क्षेत्रमा प्रवेश गर्नेलाई निरन्तर निगरानी गर्न, जनस्वास्थ्यका मापदण्ड पालना गर्न तथा गराउन उनले जोड दिए ।

महामारी नियन्त्रणका नाममा खोपलाई भुल्नु हुँदैन

कोरोनाभाइरस सरुवा रोग भएकाले निरन्तर देखिन पनि सक्छ । कोरोनाभाइरसले विगत डेढ वर्षको अवधिका स्वरुप परिर्वतन गरेर नेपाल लगायत विश्वका विभिन्न राष्ट्रमा पहिलो, दोस्रो, तेस्रो लहर फैलिएको जनस्वास्थ्य वैज्ञानिक डा. दीक्षित बताउँछन् ।

नेपालको उदाहरण दिँदै उनी भन्छन्, ‘पहिलो लहरमा कोरोना संक्रमण तीव्र गतिमा फैलिएर क्रमशः न्यून भयो । समुदायमा भित्रभित्र लुकेर बसेको संक्रमण पुनः तीव्र रुपमा फैलिरहेको छ ।’

भारत र हवाईमार्ग हुँदै आउनेहरुबाट कोरोनाको नयाँ भेरिएन्टको संक्रमण पनि फैलिएको उनी बताउँछन् । यसरी पृथ्वीमा कोरोनाभाइरसको अस्तित्व रहुन्जेल स्वरुप परिवर्तन गरिरहेर दुःख दिइरहने उनको भनाइ छ । त्यसैले सरकारले कोरोनाविरुद्धको खोपमा बढी जोड दिनुपर्ने उनी बताउँछन् ।

कोरोना महामारी नियन्त्रण तथा व्यवस्थापन गर्न अन्ततः खोप खरिद प्रक्रियालाई तीव्रता दिनुपर्ने डा. दीक्षितको भनाइ छ । अपाङ्ग, दीर्घरोगी, ज्येष्ठ नागरिकलाई जतिसक्दो चाँडो खोपको व्यवस्था गर्नुपर्ने उनी बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप