बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

विमानस्थलमा यसरी गरिँदैछ कोरोनाको निगरानी

भारतबाट आउने र बेलायतबाट आउनेलाई बेग्लै मापदण्ड
मङ्गलबार, १४ वैशाख २०७८, २० : ३९
मङ्गलबार, १४ वैशाख २०७८

सरकारले बिहीबारदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गर्ने भने पनि  विमानस्थल चाहिँ बन्द नगर्ने बताएको छ । भारत र बेलायतबाट कोरोनाको नयाँ भेरिएन्ट भित्रिएको चर्चा चलिरहेका बेला काठमाडौंको विमानस्थल कसरी चलिरहेको छ ? रातोपाटीको टोली मंगलबार त्रिभुवन विमानस्थलमा पुग्दा त्यहाँ विदेश जाने र नेपाल भित्रिनेहरुको भीड बाक्लो थियो ।

मंगलबार दिउँसो जर्मनीबाट फर्केका दुईजना यात्रुलाई याक एण्ड यति होटलको क्वारेन्टिनमा पठाइयो । उनीहरुको रिपोर्टमा शंका लागेपछि कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र (सिसिएमसी) ले होटलमा पठाएको हो । होटलमा बस्ने यात्रु भाग्न सक्ने आशंकामा नेपाली सेनाले उनीहरुको निगरानी गरेको छ ।

कोरोना महामारी तिब्र गतिमा बढ्न थालेपछि विदेशबाट त्रिभुवन विमास्थलमा आउने यात्रुमाथि सरकारले सामान्यतः निगरानी बढाएको पाइयो । निगरानीका क्रममा भारतबाट आउने र बेलायतबाट आउनेहरुमाथि फरक मापदण्ड अपनाएको पाइयो ।  

नयाँ भेरियन्टसहितको संक्रमण बढेसँगै बेलायत र दक्षिण अफ्रिकाबाट काठमाडौं आउने यात्रुलाई त्रिभुवन विमानस्थलबाट सिधै होटल क्वारेन्टिनमा पठाइएको पाइयो । तर, भारतबाट आएका यात्रुको भने पिसिआर रिपोर्ट शंकास्पद देखिएमा मात्रै होटल क्वारेन्टिनमा पठाउने गरिएको भेटियो ।

​बेलायत र दक्षिण अफ्रिकाका आएकाहरुलाई चाहिँ रिपोर्ट जेजस्तो भए पनि सोझै होटलमा पठाउने गरिएको विमानस्थलका अधिकारीहरु बताउँछन् ।

भारतमा पनि कोरोना भाइरस संक्रमण उच्च भएको हुनाले त्यहाँबाट आउने यात्रुको पिसिआर रिपोर्ट परीक्षण र ज्वरो परिक्षणमा पनि कडाइ गरिएको छ । तर, भारतबाट आउनेको हकमा रिपोर्टमा शंका लागेमा वा ज्वरो देखिएमा मात्रै होटल क्वारेन्टिनमा पठाइन्छ, अन्यथा घर जान दिइने गरेको पाइयो । भारतबाट आउने यात्रुको तापक्रम थोरैमात्र बढी देखिए होटलमै पठाउने गरिएको छ ।

विमानस्थलमा थर्मल स्क्यानरबाट ज्वरो परीक्षण गरिन्छ । आगमन कक्षमा बसेका हेल्थ डेस्कका कर्मचारीले यात्रुको पिसिआर रिपोर्ट परीक्षण गर्छन् । पिसिआर रिपोर्ट शंकास्पद देखिएमा सीसीएमसीका प्रतिनिधिसँग समन्वय गरेर होटल क्वारेन्टिनमा पठाउने गरिएको त्रिभुवन विमानस्थलका जनस्वास्थ्य निर्देशक चन्द्रबहादुर सुनारले रातोपाटीलाई बताए ।

पहिले अनलाइन फराम, अनि बल्ल यात्रा

विदेशबाट विमान चढ्नुअघि यात्रुले कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र (सिसिएमसी)ले जारी गरेको अनलाइन फारम भर्नुपर्छ । ब्यक्तिगत विवरण र स्वास्थ्य विवरण भरेपछि पाउने सीसीएमसी बारकोड हेल्थ डेस्कका कर्मचारीलाई देखाएपछि मात्रै यात्रुले आगमन कक्षबाट बाहिर निस्कन पाउँछन् ।

विदेशबाट आएका कसैलाई कोभिड संक्रमण देखिएमा सो बारकोडका आधारमा कन्ट्याक्ट ट्रेसिङ गरिन्छ । बारकोड नम्बर कम्प्युटरमा इन्ट्री गरेपछि यात्रुको पूरा विवरण थाहा हुन्छ । पिसिआर रिपोर्टबिना बिमान कम्पनीले विदेशबाट यात्रु ल्याउन पाउँदैनन् । पिसिआर रिपोर्टमाथि स्वास्थ्यका कर्मचारीलाई शंका लागे होटल क्वारेन्टिनमा बसेर फेरि परीक्षण गराउनुपर्छ ।

‘सीसीएमसी बारकोड भएका र पिसिआर रिपोर्ट दुरुस्त भएकाहरुचाहिँ होम क्वारेन्टिनमा बस्न पाउँछन्’ जनस्वास्थ्य निर्देशक सुनारले भने, ‘होटल क्वारेन्टिनमा बस्ने यात्रुको निगरानी गर्ने जिम्माचाहिँ नेपाली सेनाको हुन्छ ।’

बेलायत र दक्षिण अफ्रिकाबाट आउनेहरुले चाहिँ कोरोनामुक्त पिसिआर रिपोर्ट ल्याए पनि अनिवार्य होटल क्वारेन्टिनमा बस्नुपर्छ । ती मुलुकमा देखिएको नयाँ भेरियन्टका कारण उनीहरुलाई होटल क्वारेन्टिन अनिवार्य गरिएको हो ।

पिसिआर रिपोर्ट शंकास्पद देखिएमा होटल क्वारेन्टिनमा पठाइएका यात्रु ५ दिन होटलमा बस्नुपर्छ । छैटौं दिन स्वाब दिएर रिपोर्ट आएपछि उनीहरु होम क्वारेन्टिनमा जान पाउँछन् ।

कोरोना भाइरसको दोस्रो लहर शुरु भएसँगै त्रिभुवन विमास्थलबाट दैनिक करिब २ हजार यात्रु अन्तर्राष्ट्रिय उडानमार्फत नेपाल आउँछन् । सोमबार १ हजार ९४५ जना आएका थिए ।

५ ल्याबको रिपोर्ट मात्रै मान्य

त्रिभुवन विमास्थल सुरक्षा कार्यालयका एसएसपी राजेशनाथ बाँस्तोलाका अनुसार दैनिक करिब दुई हजारको हाराहारीमा यात्रु विदेश जान्छन् । विदेश जाने यात्रुले सरकारी ल्याबभन्दा बाहेक निजी क्षेत्रका ५ वटा ल्यावमा गरिएको पिसिआर परीक्षण रिपोर्ट देखाएर मात्र विदेश जान पाउँछन् ।

सरकारी अस्पताल भन्दा बाहेक मेडिसिटी अस्पताल, ह्याम्स, स्टार, मनमोहन मेमोरियल अस्पताल र भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्समा गरेको पिसिआर रिपोर्टलाई मात्र सरकारले मान्यता दिएको छ ।

नक्कली पिसिआर रिपोर्ट बनाएर पठाउन थालेपछि वैशाख १० बाट जनस्वास्थ्य प्रयोशालाले ५ ओटा ल्याबको रिपोर्टलाई मात्र मान्यता दिएको विमानस्थलका जनस्वास्थ्य संयोजक चन्द्रबहादुर सुनारले बताए । ‘सरकारी र पाँचवटा निजी क्षेत्रका ल्याबबाहेक अरुको रिपोर्टलाई हामी फिर्ता पठाउँछौं,’ सुनारले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप