शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जीप दुर्घटना र कोरोना सङ्क्रमणबाट २ जनाको निधन

मङ्गलबार, १४ वैशाख २०७८, २२ : ४५
मङ्गलबार, १४ वैशाख २०७८

तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका–१ धारापानीमा आज जीप दुर्घटना हुँदा एकको मृत्यु भएको छ । दुर्घटनामा १५ घाइते भएका छन् । दमौलीबाट भिरकोटतर्फ जाँदै गरेको ग१ज ७६०० नम्बरको जीप सडकबाट ७० मिटर तल खस्दा भएको दुर्घटनामा परी व्यास नगरपालिका–५ बस्ने २५ वर्षीया मनु थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । निजलाई दमौली अस्पतालका चिकित्सकले मृत घोषणा गरेका थिए । 

दुर्घटनामा परी ऋषिङ गाउँपालिका–२ बस्ने २६ वर्षीया रुपा थापा, निजका छोरा दुई वर्षीय सलिम थापा, सोही ठाउँ बस्ने २६ वर्षीया गीतामाया थापा, निजका छोरा आठ वर्षीय डिप्चन थापा, छोरी पाँच वर्षीया अस्मी थापा, बहिनी २० वर्षीया करिश्मा थापा घाइते भएकी छिन् ।

त्यस्तै ऋषिङ गाउँपालिका–२ कै ४५ वर्षीय टीकाराम थापा, व्यास नगरपालिका–५ की पाँच वर्षीया अनामिका थापा, ऋषिङ गाउँपालिका–२ की बलिसरा थापा, व्यास नगरपालिका–७ की २३ वर्षीया दिलु थापा, निजकी छोरी दुई वर्षीया सुहानी थापा, ऋषिङ गाउँपालिका–२ का २८ वर्षीय लालबहादुर नेपाली र जीप चालक २९ वर्षीय गुजलसिं महारी घाइते भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये रुपा थापा, सलिम थापा र अनामीका थापालाई पोखरा पठाइएको र अन्य घाइतेको दमौलीस्थित अस्पतालमा उपचार भइरहेको छ । 

यसैबीच कोरोना सङ्क्रमणका कारण तनहुँको शुक्लागण्डकी नगरपालिकाका एक पुरुषको मृत्यु भएको छ । शुक्लागण्डकी नगरपालिका–९ का ८३ वर्षीय पुरुषको पोखरास्थित मेडिप्लस अस्पतालमा उपचार क्रममा आज मृत्यु भएको हो । 

उनमा वैशाख ८ गते कोरोनाको सङ्क्रमण पुष्टि भएको थियो । उहाँमा निमोनियालगायत समस्या रहेको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ । यसैगरी गोरखाको पालुङटार नगरपालिका–५ की ६७ वर्षीया महिलाको पनि उपचारको क्रममा आज मृत्यु भएको छ । उनमा वैशाख १३ गते सङ्क्रमण पुष्टि भएको थियो ।  यससँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २१७ पुगेको स्वास्थ्य निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप