शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भारतबाट आएका यात्रु विमानस्थलबाट सीधै समुदायमा

क्वारेन्टिनमा नराख्दा संक्रमणको त्रास बढ्यो
बुधबार, १५ वैशाख २०७८, २२ : १४
बुधबार, १५ वैशाख २०७८

काठमाडौं । छिमेकी मुलुक भारत कोरोनाको हटस्पट बनेको छ । कोभिड–१९ संक्रमणबाट ज्यान गुमाउनेहरुको दाहसंस्कारका लागि ठाउँ नभएको समाचार र भिडियो सामाजिक सञ्जालमा भाइरल छन् । तर, त्यही भारतबाट काठमाडौं आउने नागरिकहरुलाई सरकारले खुल्लमखुल्ला समुदायसम्म जान दिइरहेको छ ।

समुदायमा कोरोना फैलिएको भारतको नयाँ दिल्ली लगायतका ठाउँबाट पछिल्लो साता त्रिभुवन विमानस्थलमा दैनिक २५० देखि ३ सय यात्रु काठमाडौं आइरहेका छन् ।

काठमाडौं उपत्यकामा निषेधाज्ञाको निर्णयपछि त्यो संख्यामा कमी आएको बताइएको छ । तर, बुधवार एअर इन्डियाको विमानमार्फत ८० जना यात्रु दिल्लीबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिए ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्रबाट विमानस्थलमा खटिएका हेल्थ डेस्कका कर्मचारीले उनीहरुको पिसिआर रिपोर्ट हेरे । सीसीएमसी बारकोड नोट गरेर प्रवेश अनुमति दिए ।

भारतबाटै अनलाइनमार्फत व्यक्तिगत विवरण र आफ्नो स्वास्थ्य विवरण भरेपछि एउटा नम्बर आउँछ । त्यसैलाई भनिन्छ,–‘सीसीएमसी बारकोड ।’

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले होटल क्वारेन्टिनमा नपठाएपछि उनीहरु सिधै समुदायमा गएका छन् । रातोपाटीसँग कुराकानी गर्दै भारतबाट आएका केही यात्रुले नयाँ बसपार्क र ठमेलको होटलमा जान लागेको बताएका छन् ।

नयाँ बसपार्कस्थित होटल जङसन एण्ड रेष्टुरेन्टको भिजिटिङ कार्ड देखाउँदै एकजना यात्रुले भने, ‘हामी चारजना छौं, बसपार्कमा रहेको जङसन होटलमा बस्नेछौं ।’

बुधवार भारतबाट आउनेहरुको पिसिआर रिपोर्ट शंकास्पद नदेखिएको भन्दै कसैलाई पनि सरकारी निगरानीमा रहेको होटल क्वारेन्टिनमा पठाइएको छैन ।

‘पिसिआर रिपोर्ट शंकास्पद देखिएन’ त्रिभुवन विमानस्थल हेल्थ डेस्कका संयोजक चन्द्रबहादुर सुनारले रातोपाटीसँग भने, ‘पिसिआर रिपोर्ट र सीसीएमसी बारकोडका आधारमा सबै यात्रुलाई आ–आफ्नो गन्तव्यमा जाने गरी अनुमति दिइएको छ ।’

भारतबाट आएका यात्रुको पिसिआर रिपोर्टमा शंका लागेमात्र सीसीएमसीका प्रतिनिधिले होटल क्वारेन्टिनमा पठाउने गरेका छन् ।

भारतीय नागरिक साइकिरण कुन्दुकुराई सफ्टवेयरसम्बन्धी काम गर्छन् । उनीसँग ७ जनाको समूह काठमाडौं आएको छ । कम्पनीले व्यवस्था गरेको अपार्टमेन्टमा बसेर सफ्टवेयरको काम गर्न काठमाडौंमा आएको उनले रातोपाटीलाई बताए ।

भारतीय नागरिक शिवराज चौगुलाल विमानस्थलबाट प्रि–पेड ट्याक्सी चढ्दै थिए । ‘ठमेलस्थित ड्रिम नेपाल भन्ने होटलमा जाँदैछु’ ट्याक्सी चढ्दै शिवलालले भने, ‘होटल मैले आफैंले बुक गरेर आएको हुँ ।’

रातोपाटीलाई प्राप्त एयर इन्डियाको प्यासेन्जर मेनिफेस्टो अनुसार बुधबार काठमाडौं आएका ८० यात्रुमध्ये थोरै नेपाली नागरिक छन् । बाँकी सबै भारतीय छन् । कोरोनाको हटस्पटबाट आएका उनीहरुलाई एक मिनेट पनि सरकारको निगरानीमा राखिएको छैन । उनीहरु सोझै समुदायमा गएका छन् ।

कोरोनाको हटस्पटबाट आएकालाई क्वारेन्टिनमा नराखेर सिधै समुदायमा पठाउँदा कोरोना फैलने डर हुन्छ । तर, सरकारले त्यसतर्फ ध्यान दिएको देखिएन ।

होटल क्वारेन्टिन : आफैं जानुपर्छ !

कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले त्रिभुवन विमानस्थलबाट होटल क्वारेन्टिनमा राख्नुपर्ने यात्रुको व्यवस्थापनको जिम्मा नेपाली सेनालाई दिएको छ । तर, विमानस्थलमा खटिएका सैनिक कर्मचारीले त्यस्ता यात्रुलाई आफ्नो निगरानीमा होटलमा लाँदैनन् । होटल तोकेर आफ्नो तरिकाले जान आग्रह गर्छन् ।

यसबारे कुरा गर्न खोज्दा विमास्थलमा खटिएका सैनिक अधिकृतले ‘बोल्न नमिल्ने’ जवाफ दिए ।

सैनिक प्रबक्ता (सहायकरथी) सन्तोष बल्लभ पौडेलले होटल क्वारेन्टिनमा पठाएका यात्रुलाई तोकिएका होटलमा गएर बेला–बेला निगरानी गर्ने गरेको बताए । उनले भने, ‘विमानस्थलबाट तोकिएका क्वारेन्टिनमा चाहिँ हामीले ल्याउँदैनौं । तर, निगरानीका लागिचाहिँ खटाउने गरेका छौं ।’

मंगलबार जर्मनीबाट आएका २ जनालाई होटल याक एण्ड यतिको क्वारेन्टिमा पठाइएको थियो । त्यहाँ ५ दिन बसेपछि उनीहरु पिसिआर परीक्षण गरेर मात्र होम क्वारेन्टिनमा जान पाउने बताइएको छ ।

 फोटो : सुवास श्रेष्ठ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप