शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

लोभ : उर्जा व्यवस्थापनको सरल तरिका

बिहीबार, १६ वैशाख २०७८, १० : ०३
बिहीबार, १६ वैशाख २०७८

नेपालीमा एउटा उखान छ– ‘लोभीको भाँडो उभिन्डो ।’ यसको आशय हो लोभ गर्नुहुन्न भन्ने । यसै अर्थमा नै उखान भन्न थालिएको हो यस्तो । यसको अर्थ लोभ गर्नै हुन्न भन्ने चाहिँ होइन । लोभबिना जीवन नै चल्दैन । मानवीय स्वभावमै पर्छ यो । तर, प्रयोग गर्न भने जान्नुपर्छ । प्रयोग गर्न जान्दा जीवन उर्जा बनेर सुख दिन्छ, नजान्दा दुर्गुण बनेर दुःख दिन्छ ।

प्रयोग गर्न जान्ने भनेको के हो ?, कसरी गरिने हो ?, गर्नुपर्ने हो ? आउनुस् आजको बसाइमा यसैबारे छलफल गरौँ ।

लोभ भनेको जीवन उर्जाकै अर्को भाग हो, जसलाई तपाईँले जन्मदै साथमा लिएर आउनु भएको छ । बाँचुन्जेल साथमै रहन्छ । लोभ प्रकृतिका यावत पक्षमा हुन्छ । जीवजन्तुमा हुन्छ, पशुपक्षीमा हुन्छ, कीरा कमिलामा हुन्छ । बालकमा हुन्छ, वृद्धमा हुन्छ, युवामा हुन्छ । जति उमेर ढल्किँदै गयो उति बढ्दै जान्छ । बिरामीमा हुन्छ, मलामीमा हुन्छ । शरीरका प्रत्येक अङ्गमा छिपेको छ । आँखामा छ, कानमा छ, मुखमा छ, नाकमा छ, हातमा छ, गोडामा छ । जहाँ पनि हुन्छ, जहिले पनि हुन्छ, जसमा पनि हुन्छ । सर्वप्रथम आँखाबाट प्रवेश गर्छ र मनको तहमा पुग्छ । अनि त्यहीँबाट शरीरका अङ्गमा फैलिने गर्छ । 

एउटा बालकलाई केही दिनुस् फिर्ता गर्न गाह्रो मान्छ । पेटले पचाउन सकेको हुँदैन मनले खान खोजिरहेको हुन्छ । दाँतले चपाउन सकेको छैन, थप चपाउन खोजिरहेको हुन्छ । आँखाले देख्न छाडिसक्यो बढी देख्ने रहर जागिरहेको हुन्छ । हातले समाउन सकेको छैन, समाउने रहर झन् प्रबल हुँदै जान्छ ।

गोडाको अवस्था त्यस्तै हो, बुद्धि र विवेकको अवस्था पनि त्यस्तै हो । यसलाई न तपाईँ छाड्न सक्नुहुन्छ, न छाड्नुस् भन्न मिल्छ, न कसैले  भनेको भरमा छाड्नुहुन्छ । त्यसैले यसलाई छाड्नुस् भन्ने होइन बढी गर्नुस् भन्ने हो । बुझेर गर्नुस् भन्ने हो । भनेर छाडिने चीज होइन, चाहेर छाडिने चीज पनि होइन ।

लोभको नतिजा दुई किसिमको हुन्छ । प्राप्त भए लोभै बढ्छ, नभए क्रोध । यसलाई राग र द्वेष भन्ने गरिएको पनि पाइन्छ । मानिलिनुस् कुनै चीजको चाहना गर्नु भयो । प्राप्त हुनासाथ अर्को चीजको आवश्यकता भइसकेको हुन्छ, जसलाई राग भनिन्छ । पाउनु भएन रिस उठ्यो, जसलाई द्वेष भनिन्छ ।

त्यसो भए के गर्ने त ? प्रश्न गम्भीर छ, तर डराउनु पर्दैन, उत्तर सहज छ– केही पनि नगर्ने । मात्र त्यसलाई व्यवस्थापन गर्ने । जब व्यवस्थापन गर्नुहुन्छ तब जीवन उर्जा बनिदिन्छ, नसोचेको फाइदा पाइन्छ । यसमा व्यावहारिक उदाहरणबाट थप प्रष्ट हुन सक्नुहुन्छ ।

लोभ भनेको कुनै विषयप्रतिको आशक्ति हो । विषय जे पनि हुन सक्छ । धन, सम्पत्ति, पद, प्रतिष्ठा, यस्तैयस्तै । सर्वप्रथम त्यसको स्रोत पत्ता लगाउनुस् र त्यसलाई व्यवहारमा ल्याउने प्रयास गर्नुस् स्वतः व्यवस्थापन हुन पुग्छ । यही नै लोभ व्यवस्थापनको सरल सूत्र हो । 

मानिलिनुस् तपाईँलाई कुनै चीज खान मन लाग्यो । दूध, दही, घ्यु, मह, फलफूल वा यस्तै कुनै चीज । पहिले त्यो कहाँ, कहिले, कसरी बन्छ, कसरी पाइन्छ पत्ता लगाउनुस् । यही नै उसको स्रोत हो । खान मन लाग्दैमा पाइने होइन । खोज्नैपर्छ, नखोजी पाइँदैन । त्यसो भए  के गर्ने त ? त्यसको स्रोत पत्ता लगाउने र त्यसलाई प्राप्त गर्ने प्रयास गर्ने ।

खेतबारीको खोज गर्नुपर्ला, फल्ने र फूल्ने तरिकाको जानकारी चाहिएला ।  खेतबारी छैन भने पनि केही छैन चिन्ता नगर्नुस् । कसैको साथमा लागेर पनि प्रयोग गर्न सक्नुहुन्छ, सट्टापट्टामा लिन पनि सक्नुहुन्छ । सट्टापट्टाको भरपर्दो साधन पैसा हो । सरकारले नै यसको व्यवस्था गरिदिएको छ । कि श्रम गरेर प्राप्त गर्नुस् कि पैसाद्वारा सट्टापट्टा गर्नुस् चाहिएको चीज पाउन गाह्रो पर्दैन । 

व्यापारी वा उद्योगपति बन्न मन लागेको छ । कसैले गाडी चढेको देख्नुभयो । उद्योग, कल–कारखाना देख्नुभयो । विलासिताको जीवन देख्नुभयो । गाडीमा हिँडेका छन्, मनमा लागेका सामान किनेका छन्, भोगेको छन् । तपाईँलाई पनि त्यस्तै बन्न मन लाग्यो । त्यस्तै बन्ने प्रयास गर्नुस् ।

व्यापारी बन्न मन लागेको भए व्यापार गर्नुस् । उद्योगपति बन्न मन लागेको भए उद्योग व्यवसाय चलाउनुस् । काम ठूलो सानो नभन्नुस्, सानैबाट सुरु गर्नुस् । काम ठूलो सानो हुँदैन । कामले भने ठूलो सानो बनाउँछ । सुरुमा गाह्रो प¥यो भने व्यपारी वा उद्योगपति कहाँ गएर काम सिक्नुस् । कुन सामान कहाँ पाइन्छ, कुन पार्टपूर्जाको प्रयोग कहाँ, कसरी हुन्छ । हरेक कुराको जानकारी पाउन सक्नुहुन्छ । तपाईँ एक्लो हुनुहुन्न । संसार तपार्ईँको सहयोगमा बसेको छ । सहयोगको हात बढाउन खोजिरहेको छ । मात्र तपाईँले लिन जान्नुपर्छ, लिने कला सिक्नुपर्छ ।

काम सिक्नासाथ आफैँ उद्योग खोल्नुस्, व्यवसाय गर्न थाल्नुस् । पैसा छैन भने त्यसको पनि चिन्ता लिनुपर्दैन । कतैबाट सापटी लिन सक्नुहुन्छ । बजारका बैङ्कहरू तपाईँकै प्रतीक्षा गरिरहेका छन् । तपाईँकै लागि खुलेका हुन् । हिजो आज सरकार आफैँ पनि सानो तिनो लगानी गरेर उद्योग व्यवसाय गर्न उत्साहित गराउन थालेको छ । उनीहरू कहाँ जानुस् आफ्नो योजना प्रस्तुत गर्नुस्, ऋण माग्नुस् । योजनामा लगाउनुस् । दुईचार वर्षमै कहाँबाट कहाँ पुग्नुहुन्छ पत्तै हुनेछैन । 

कुनै हाकिमको जीवन शैली देख्नु भयो । उनको कार्यकक्षमा बराबर मानिस आउने जाने गरेका छन् । घन्टी थिचेको भरमा कार्यालय सहयोगी उपस्थित भएका छन् । बोल्नेसम्म फुर्सद छैन । फायल पल्टाउँदै छन् कुरा गर्दै छन् । कम्प्युटरमा खेलिरहेका छन्, मानिससँग बोलिरहेका छन् । काम सकिन भ्याएको हुन्न, गाडी लिएर चालक भाइ खडा हुन पुगेका छन् । तपाईँलाई पनि त्यस्तै बन्न मन लाग्यो । त्यसो हो भने त्यसको पनि स्रोत खोज्नतिर लाग्नुस् । उनी कसरी त्यहाँ पुगे । त्यहाँ पुग्न केके गरे । त्यसको सोधखोज गर्नुस् र आफूभित्रको लोभको उर्जालाई त्यस्तै बन्ने काममा लगानी गर्नुस् । 

यसका लागि सर्वप्रथम पढाइमा ध्यान दिनुपर्ला । पढेर मात्र पनि नहोला, राम्रो नम्बर ल्याउनु पनि पर्ला । उनले पनि त्यस्तै गरेका होलान् । त्यस्तै गरेर नै त्यहाँ पुगेका होलान् ।  त्यसैले पूर्ण मन लगाएर पढ्नुस् । सरकारले पढ्ने व्यवस्था गरिदिएको छ । स्कुल क्याम्पस, विद्यालय, विश्वविद्यालय खोलिदिएको छ । आवश्यक जनशक्तिको व्यवस्था गरिदिएको छ । सरकारले गरेन नभन्नुस् । आफूले के गर्नुपर्छ त्यतातिर ध्यान दिनुस् । मन लगाएर पढ्नुस् । उनीहरूले परीक्षा लिनेछन् ।  परीक्षासँग नडराउनुस्, त्यसको सामना गर्नुस् । परीक्षा तपाईँको शत्रु होइन, सहयोगी हो । सहयोग गर्नै आएको हो ।  सावधानी पूर्वक परीक्षा दिनुस् । राम्रो नम्बरमा पास हुनुहुनेछ । क्रमशः कक्षा चढ्दै जान सक्नुहुन्छ र त्यो पदलाई चाहिने प्रमाणपत्र लिन सक्नु हुनुहुनेछ । अनि त्यसलाई लिएर सरकारी अफिस वा उद्योगपति कहाँ जानुस् । उनीहरूले पनि पुनः परीक्षा लिनेछन् । उनीहरूले खोजे अनुसारको पाए भने पक्कै लिनेछन् । त्यसपछि त्यसको  सदस्य बन्नु हुनेछ । बिस्तारै काम सिक्दै जानुहुनेछ, प्रमोशन हुँदै जानेछ । बल्ल त्यस्तो हाकिम बन्नुहुनेछ । त्यतिबेलासम्म त्यहाँ बस्नेले पनि तपाईँका निम्ति पद खाली गरिसकेका हुनेछन् । 

कुनै नेता, राज नेताको जीवन शैली देखेर पनि तपाईलाई लोभ लागेको हुन सक्छ । यहाँ पनि त्यस्तै हो । उनीहरू कसरी त्यहाँ पुगे त्यसको खोजी गर्नुस् । उनीहरू पनि सिधै त्यहाँ पुगेका पक्कै होइनन् । धेरै पापड बेले होलान् । जनताको सुखदुखमा साथ दिए होलान् । सँगै बसे होलान्, खाए होलान् । उनीहरूका गल्ली हिँडे होलान् । तपाईँ पनि त्यस्तै गर्नुस् ।  नेता, राजनेता बन्न सक्नुहुनेछ ।

यी केही उदाहरण हुन् । हरेक क्षेत्रमा यही नियमले काम गरेको हुन्छ । यही नै लोभ उर्जा व्यवस्थापनको सरल तरिका हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कमल रिजाल
कमल रिजाल
लेखकबाट थप