मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

इतिहासमा आजः क्रिकेटर बन्ने सपना देखे र बने बलिउड स्टार, ट्युमरले रोकिदियो इरफानको यात्रा

बिहीबार, १६ वैशाख २०७८, ११ : ०७
बिहीबार, १६ वैशाख २०७८

‘व्यक्तिको सपना जब टुट्छ तब व्यक्ति समाप्त हुन्छ’ मार्च सन् २०२० मा रिलिज भएको फिल्म ‘अंग्रेजी मिडियम’ को यो डायलगले मध्यम वर्गीयको सपनालाई उडान भर्न सहयोग गर्छ । यो फिल्म एउटा यस्ता कलाकारको अन्तिम फिल्म थियो जसले आफ्नो फिल्ममा आफ्नो हरेक पात्रलाई बाँचे । हामी कुरा गरिरहेका छौं इरफान खानको । भारतीय सिनेमाका यी निखारिएका कलाकार सन् २०२० मा आजकै दिन संसारबाट बिदा भए ।

इरफानको जन्म ७ जनवरी सन् १९६७ मा राजस्थानको जयपुरमा भएको थियो । इरफानको क्रिकेटर बन्ने सपना थियो तर भाग्यले उनलाई नेशनल स्कूल अफ ड्रामामा डोहोर्‍यायो । त्यहाँ उनको भेट सुतापा सिकदरसँग भयो जोसँग इरफनले विवाह गरे ।

इरफान नेशनल स्कूल अफ ड्रामाबाट पढाई पूरा गरेर मुम्बईमा आए । यहाँ उनले थुप्रै धारावाहिकमा काम गरे । सन् १९८८ मा रिलिज भएको ‘सलाम बम्बे’ इरफानको पहिलो फिल्म थियो । यो फिल्ममा इरफानको एउटा छोटो भूमिका थियो । यति छोटो कि सायद उनलाई कसैले यी दुब्ला, पातला युवक को हुन् भनेर याद नै गरेनन् । उनले त्यसपछिका थुप्रै फिल्ममा यस्तै भूमिका निर्वाह गरिरहे तर उनी जुन स्टारडमका हकदार थिए, त्यो उनले पाएका थिएनन् । सन् २००३ मा ‘हासिल’ फिल्म रिलिज भयो त्यसपछि ‘मकबूल’ । यहाँबाट इरफानले चर्चा पाउन थाले । त्यसपछि इरफानले कहिल्यै पछाडि फर्केर हेर्नुपरेन ।

सन् २०१२ मा इरफानको फिल्म आयो । नाम थियो पान सिंह तोमर । यो फिल्ममा इरफानले बीहडको डाकूको भूमिका निभाए । यसका लागि इरफानले उत्कृष्ट अभिनेताको राष्ट्रिय पुरस्कार पाए ।  

बलिउडमा पीकू, हिन्दी मिडियम त हलिउडमा स्लमडग मिलियनेयर, द अमेजिङ स्पाइडर म्यान, जुरासिक वर्ल्डमा उनको भूमिकाले अत्यधिक प्रभावित पार्यो । एउटा लामो संघर्ष पछि इरफानले सफलता पाएका थिए । तर सन् २०१८ मा इरफानलाई थाहा भयो कि उनी न्यूरोएन्डोक्रायन ट्युमरबाट पीडित छन् । उपचारका लागि विदेशमा पनि बसे । सबैकुरा राम्रै चलिरहेको जस्तो देखिएको थियो तर अघिल्लो वर्ष सन् २०२० मा मुम्बईमा उनको निधन भयो ।

बंगलादेशमा समुद्री आँधीः

सन् १९९१ मा २९ अप्रिल राती समुद्री आँधीले बंगलादेशमा यस्तो कहर निम्त्यायो कि एक लाखभन्दा बढी मानिस मारिए । लाखौं मानिस बेघर भए । टुबी नामको यो आँधी यस्तो घातक थियो कि यसका कारण समुद्रमा १५ देखि २० फिट अग्लो लहर उठ्न थाल्यो । द्वीप डुबे । १५ दिनसम्म शव हटाउने काम चलिरह्यो । यो आँधीलाई २० औं शताब्दिको सबैभन्दा भयानक आँधीमध्ये एक मानिन्छ ।

आँधी यति भयावह थियो कि चटगांव पोर्टमा राखिएको एउटा १०० टन तौल भएको जहाज बगेर करिब २ किलोमिटर टाढा कर्णफुली नदीको पुलमा गएर ठोक्कियो । यसरी ठोक्किँदा जहाज दुई टुक्रा भयो । यसरी नै सयौं संख्यामा डुङ्गा र जहाजमाथि क्षती पुग्यो ।

प्रिन्स विलियम्स र केट मिडलटनको शाही विवाहः

प्रिन्स विलियम्स र केट मिडलटनको विवाह आज १० वर्ष पुरा भयो । सन् २०११ मा आजकै दिन प्रिन्स विलियम्सले केट मिडलटनसँग विवाह गरेका थिए । प्रिन्स विलियम्सले ड्यक अफ केम्ब्रिज र उनकी श्रीमती केटले डचेस अफ केम्ब्रिजको उपाधि पाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप