बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

नैतिकताको खडेरीमा निजामती प्रशासन

बिहीबार, १६ वैशाख २०७८, १३ : २९
बिहीबार, १६ वैशाख २०७८

नैतिकताले व्यक्तिको चरित्र वा स्वभावलाई बुझाउँछ । यसले  असल र खराब आचरणको अध्ययन विश्लेषण गर्दै असल मार्गमा हिँड्न अभिप्रेरित गर्छ । जीवनलाई लयबद्ध तरिकाले हिँड्न सिकाई आफ्नो अधिकार र कर्तव्यको बोध गराउँछ । कुन सही र कुन गलत हो फैसला गर्नका लागि आधार तय गर्छ । आफ्नो कर्तव्य अनि जिम्मेवारी पालना गर्न सिकाउँछ । कसैलाई हानिनोक्सानी नपु¥याउने, राष्ट्रसेवामा तल्लीन रही एकअर्कालाई आदर, सम्मान र मायाका लागि नैतिकता चाहिन्छ ।

देशको सरकारी सेवाहरूको मियो निजामती प्रशासन हो । अरू सरकारी सेवाहरू यसैकै वरिपरि घुमिरहेका हुन्छन् । यो राज्यको स्थायी सरकारका रूपमा रहेको हुन्छ । तलब प्राप्त गर्ने दक्ष कर्मचारीहरूको व्यावसायिक समूह हो । कर्मचारीको छनोट प्रक्रिया स्वतन्त्र रूपमा रहेको संवैधानिक निकायबाट हुन्छ । यसमा सेवा सुविधा, वृत्तिविकासका आधारहरू र सुरक्षाको प्रत्याभूति पनि गरिएको हुन्छ । योग्यता प्रणालीमा आधारित, व्यावसायिकतातर्फ उन्मुख हुन्छ । निजामती सेवालाई गतिशील र चलायमान बनाउने जनशक्तिका रूपमा कर्मचारीहरू रहेका हुन्छन् । जबसम्म सङ्गठनका कर्मचारीहरू नैतिकताले ओतप्रोत हुँदैन तबसम्म सङ्गठनले गति लिई परिणाममुखी हन सक्दैन ।

निजामती सेवामा सक्षम कर्मचारीहरू विभिन्न परिवेशबाट छनोट भई आएका हुन्छन् । यसमा योग्यता प्रणालीको आधारमा कर्मचारीहरूको छनोट गरी पेसागत हकहितको संरक्षण  हुन्छ । उनीहरूको धर्म, संस्कृति, चालचलन, प्रचलन, परम्पराहरू पनि नैतिकताका आधारमा बनेका हुन्छन् । मानवीय सचेतना, परिवार, साथी सङ्गति, शैक्षिक संस्था, सञ्चार माध्यम, कानुनी पद्धतिहरूले  नैतिकतालाई जीवन्त बनाइराखेका हुन्छन्  । यसरी नैतिकताले एक घर परिवार, समाज मात्र नभएर एउटा सङ्गठनमा जीवन्तता भर्ने काम गर्दछ । देशमा न्याय र निष्पक्षता कायम गरी अमनचयन शान्ति सुव्यवस्था कायम गर्नका लागि मद्दत पु¥याइराखेको हुन्छ । राष्ट्रिय एकता र अखण्डतालाई  सुदृढ बनाउँछ ।  राष्ट्र र प्रशासनको उच्च शाख र प्रतिष्ठा वृद्धि गर्दछ ।  सेवा वितरणमा न्यायपूर्ण गुणस्तरता कायम गर्नका लागि सहयोग पु¥याउँछ ।  साङ्गठनिक मूल्य र व्यक्तिगत मूल्यबीचमा सन्तुलन कायम गरी एकआपसमा सुमधुर प्रगाढ सम्बन्ध कायम राख्न मद्दत पु¥याउँछ । विधिको शासन स्थापित भई जनताको हितमा समर्पित हुन्छ । नातावाद र कृपावादको अन्त्य भई लोकतान्त्रिक मूल्य मान्यताको प्रत्याभूति गर्दै बहुजन हितायमा जोड दिन्छ । आधारभूत मानव अधिकारको प्रत्याभूति गर्दै उत्तर दायित्व, जवाफदेहिता र पारदर्शिताको अवलम्बन गर्दै राष्ट्रको विकास र सुरक्षाको प्रत्याभूति गराउँदै नैतिक समाज निर्माणमा जोड दिन्छ ।

वर्तमान समयमा नैतिकताको खडेरी पर्दै गइरहेको छ । दिनदिनै नैतिकतामा ह्रास आउँदै गएको छ । इमान, धर्मलाई लात हान्दै गएको छ । कर्मचारीको सबैभन्दा महत्त्वपूर्ण सार सदाचारको ह्रासले  गर्दा  सार्थक र सफल जीवन, सफल सङ्गठन बन्न सकिरहेको छैन । मानवले आफ्नो आचरण र मर्यादालाई बिर्संदै छ । यसको असर निजामती प्रशासनमा परिसकेको छ । यसबाट दिन प्रतिदिन समाजमा अपराधीकरण बढेको छ । समाज भ्रष्ट बन्दै गइरहेको छ । दण्डहीनता मौलाउँदै गएको छ । साँचो बोल्ने, संयमित हुने, सही र गलत छुट्याउने निर्णय गर्ने क्षमतामा असर पुगेको छ । अपराधको राजनीतीकरण र राजनीतिमा अपराधीकरणको नियन्त्रण हाबी भएको छ । परिणाम स्वरूप विधिको शासनमा समस्याहरू चुलिनुको साथै चुनौतीहरू थपिँदै गएका छन् ।

निजामती सेवामा प्रतिस्पर्धी नभई एकाधिकार हाबी भएको छ । सरुवा, बढुवा, कार्य विभाजन, राम्राभन्दा पनि हाम्राको हैकम र हुकुमी प्रशासनको रूपमा चिनिँदै गएको छ । निर्णय तहका व्यक्तिहरूले आफ्नो पदको धर्म र मर्मलाई कुल्चिएको पाइन्छ । आफ्नो  जिम्मेवारी कर्तव्य पूरा गर्न पनि अरुकै इसारामा नाचिरहेको घटना परिघटनाहरूले पुष्टि गरिरहेको पाइन्छ । निर्णय गर्ने कुरामा नैतिकताको खडेरीका कारण आफ्नो निर्णय क्षमतामा ह्रास आएकै कारण प्रशासनमा राजनीतीकरण हाबी बनेको देखिन्छ । जसले गर्दा योग्य र अब्बल कर्मचारीले क्षमता र दक्षताअनुसारको कार्य जिम्मेवारी पाउन सक्दैनन् । हरेक अवसरबाट वञ्चित बनाउँदा उनीहरूमा वितृष्णता उत्पन्न भएको छ ।

आज लोकतन्त्रका मूल्यमान्यताहरू हराउँदै गएका छन् । यसको असर देशमा गरिबी, बेरोजगारी समस्याले देशका बलिया पाखुरीहरू खाडी लगायतका मुलुकमा विदेशिन बाध्य र विवश छन् । शिक्षा, स्वास्थ्य, रोजगारी, स्वतन्त्रता लगायतका मानव अधिकारका आधारभूत आवश्यकताहरूको समेत प्रत्याभूति हुन सकिरहेको छैन । लोकतन्त्र टाठाबाठा, राष्ट्रिय स्तरका दलका ठेकेदार, दलाल र माफियाहरूको संरक्षणमा रह्यो । प्रशासनिक नेतृत्व र राजनीतिक नेतृत्वभित्र इमान, नैतिकता, सदाचार हराउँदै गयो । के ठीक के बेठीक यसको असर के हुन्छ ? भन्नेसम्मको पनि हेक्का छैन । गरिब जनताको आसा र भरोसाको केन्द्रविन्दुको रूपमा रहेको निजामती सेवामा राजनीतिको अपराधीकरण बढ्दै जानु नै  अबका युवापुस्तामा समेत नकारात्मक असर पर्नु हो । देशका भोलिका कर्णधारहरूले नैतिकताको पाठ यही समाज, परिवेश, परिवारबाट सिक्ने हुँदा नैतिकताको खडेरीमा के सिक्दै जालान् भन्नेमा कसैको ध्यान गएको छैन ।

नैतिकताको अभावले गर्दा निजामती सेवा अपारदर्शिता, जनउत्तरदायी नहुने र भ्रष्ट प्रवृत्ति बढ्दै गएको छ । जनताको सेवाभावमा सर्मित हुनु पर्नेमा दल र नेताको स्वार्थ अनुरूप कार्य गर्दै गइरहेको छ । कर्मचारीको सरुवा पद्धति सेटिङमा चलेको छ । राम्रा, योग्य सबल र अब्बल नभइकन हाम्राले प्राथमिकता पाएका छन् । बौद्धिक दिमागहरू कामविहीन भएका छन् । उनीहरूको क्षमता, योग्यतालाई बढीभन्दा बढी उपयोग गर्न सकिरहेको छैन । कर्मचारीमा नैराश्यता बढ्दै गएको पाइन्छ । राजनीतिक अस्थिरता र दीर्घकालीन सोचको अभावले निजामती प्रशासन दिशाविहीन अवस्थामा पुगेको छ । लामो समयदेखि कर्मचारी पूर्ति नहुँदा यसको असर  राष्ट्रलाई पुगेको छ । अब बेलैमा सबैको ध्यान नैतिकताको अनुसरण गर्नेतर्फ जान जरुरी छ । नत्र राज्यले भोलिका दिनमा नराम्रो दुर्गती भोग्नु पर्नेछ ।

यसरी नैतिकता एक व्यक्ति, परिवार, समाज, सङ्गठन र राष्ट्रलाई सही मार्गमा अभिप्रेरित गर्ने महत्त्वपूर्ण गहना हो । कर्मचारीहरूले आफ्नो काम, कर्तव्य अधिकार, जिम्मेवारी र उत्तरदायित्वलाई सही तरिकाले पालना गर्नु जरुरी छ । निजामती प्रशासन नैतिकतामैत्री हुनुपर्दछ । कर्मचारीहरूमा समान व्यवहार, सरुवा, बदुवा, तालिम वैदेशिक मनोनयन न्यायपूर्ण र समान सहभागितामा जोड दिने खालको हुनु पर्दछ ।

निजामती सेवा राजनीतिक तटस्थता, निस्पक्ष, न्यायपूर्ण मियोको रूपमा रहनुपर्दछ । सम्पादित कामलाई परिमाणात्मक र गुणात्मक बनाउनु जरुरी छ । त्यसैगरी व्यावसायिक आचारणलाई अनुशासित मर्यादित बनाई जनभावनामा केन्द्रित हुन जरुरी देखिन्छ । प्रशासनिक प्रतिबद्धता राजनीतिक कटिबद्धताले मात्र मुलुकलाई सही दिशामा लैजान सकिन्छ । यसबाट मानव अधिकारको प्रत्याभूतिमा योगदान पुग्छ । त्यसै गरी मुलुकमा दिगो शान्ति र अमनचयन कायममा  मद्दत पुग्छ । विकास निर्माणले गति लिन सक्छ । नैतिकतामैत्री व्यवहार, पद्धति आज अपरिहार्य बनेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कल्पना नेपाल आचार्य
कल्पना नेपाल आचार्य
लेखकबाट थप