बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

माधव पक्षका ४ प्रदेश सदस्य र १५ जनप्रतिनिधिलाई कारबाहीका लागि सिफारिस

शुक्रबार, १७ वैशाख २०७८, २२ : ००
शुक्रबार, १७ वैशाख २०७८

गत सोमबार दैलेखमा बरुनाथ योगीको अध्यक्षतामा माधव नेपाल समूहले १ सय ९५ सदस्यीय समानान्तर कमिटी घोषणा गर्यो ।  सो कमिटी गठन गर्दा माओवादी नेतृत्वको सरकार जोगाउन ‘फ्लोर क्रस’ गरेर विवादित बनेका कर्णालीका भौतिक पूर्वाधार विकास मन्त्री अम्मरबहादुर थापा सहभागी थिए । तर, सो कमिटी गठन पश्चात संस्थापन पक्षले भने माधव नेपाल पक्षधर नेता कार्यकर्तामाथि कारबाहीको डण्डा चलाएको छ । 
संघीय सांसद समेत रहेका पार्टी अध्यक्ष रवीन्द्रराज शर्माको अध्यक्षतामा बिहीबार बसेको  २७ औँ सचिवालय बैठकले माधव नेपाल समूहका चार जना प्रदेश सदस्यलाई कारबाहीका लागि सिफारिस गर्नुका साथै जिल्लाका विभिन्न

पालिकाका १५ जना नेपाल पक्षकै जनप्रतिनिधि र अन्य विभिन्न तल्लो तहका संगठनमा रहेका कार्यकर्ताहरूलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । 
बैठकले माधव समूहका टेकबहादुर खाँड, बरुनाथ योगी,  सावित्री मल्ल र मयाराम अधिकारीलाई आवश्यक कारबाहीका लागि कर्णाली प्रदेश कमिटीमा सिफारिस गरिएको अध्यक्ष रवीन्द्रराज शर्माले जानकारी दिए । मल्ल नारायण नगरपालिकाका उपप्रमुख समेत हुन् । 

यस्तै महाबु गाउँपालिकाका अध्यक्ष जंगबहादुर शाही, सोही पालिकाकी  उपाध्यक्ष प्रेमकुमारी बुढा, चामुण्डा विन्द्रासैनी नगरपालिकाका उपप्रमुख ताराकुमारी शाही (खत्री) माथि पनि कारबाही सिफारिस भएको छ ।  
कारबाही सिफारिस हुनेमा अध्यक्ष/मेयर, उपाध्यक्ष/उपमेयर भन्दा वडाअध्यक्षको सँख्या बढी रहेको छ । स्पष्टीकरण सोधिएका वडा अध्यक्षमा नारायण नगरपालिका–१ का वडाध्यक्ष तीर्थ नारायण श्रेष्ठ, नौमूले गाउँपालिका–४ का वडाध्यक्ष गज बहादुर ढेंगा, भगवतीमाई गाउँपालिका–२ का वडाध्यक्ष कर्णबहादुर शाही, भगवतीमाई गाउँपालिका–४ का वडाध्यक्ष कृष्णबहादुर थापा, आठबीस नगरपालिका–५ का वडाध्यक्ष कर्ण आले, डुंगेश्वर गाउँपालिका–२ का वडाध्यक्ष राजु केसी रहेका छन् ।  

यस्तै  नौमूले गाउँपालिका गाउँ सभा सदस्य दीपक हमाल, गुराँस गाउँपालिका गाउँ सभा सदस्य पशुपती शर्मा, नारायण नगरपालिका नगर सभा सदस्य हर्कबहादुर नेपाली, नमराज शाही र रमेश केसीलाई पनि  स्पष्टीकरण सोधिएको छ ।

यस्तै नेकपा एमाले जिल्ला कमिटी दैलेखका उपसचिव तिलक प्रसाद रिजाल, सचिवालय सदस्य मानबहादुर खड्का, जिल्ला कमिटी सदस्य भीमबहादुर गुरुङ, गुराँस गाउँ कमिटि सदस्य भुपेन्द्र खड्का र नेता गोकर्ण माझी, राष्ट्रिय युवा संघका उपेन्द्र शाही, अनेरास्वियू दैलेखका अध्यक्ष हेमन्त दसौदी, अनेरास्वियू केन्द्रीय लेखा आयोगका सदस्य भुपेन्द्र शाही, राष्ट्रिय युवा संघका सदस्य अशोक थापा, टोपबहादुर थापा र धीरज कार्कीलाई स्पष्टीकरण सोधिएको  छ। 

के–हुन्छ कारबाही ?  
शर्माले रातोपाटीसँग कुरा गर्दै भने ,‘औपचारिक रुपमा सबै जनालाई चिठी पठाइएको छ । अबको एकदुई दिन भित्र पाउनुहुन्छ होला । चिठी प्राप्त गरेको एकदुई दिन भित्र के प्रतिकृया आउँछ हेरौँ ।’ 
कारबाही चाँही कस्तो हुन्छ भन्ने प्रश्नमा उनले भने ,‘ अब उहाँहरु पार्टीको पक्षमा दृढतापूर्वक उभिएको खण्डमा केही कारबाही नै हुँदैन नै । उहाँहरुको जवाफ के आउँछ । त्यसपछि पार्टीले ‘एक्सन’ लिन्छ । हामीले सबैलाई तपाईहरु पार्टीको नीति, नेतृत्व र विधि अनुसार पार्टीको पोजिसनमा उभिनुहुन्छ या के गर्नुहुन्छ भनेर पत्र पठाएका छौँ,’ उनले भने । 

यता चामुण्डा बिन्द्रासैनी नगरपालिकाकी उपप्रमुख ताराकुमारी शाही (खत्री)ले पार्टी विपरित कुनै पनि गतिविधि नगरेको दावी गरिन् । महाबु गाउँपालिकाका उपाध्यक्ष प्रेमकुमारी बुढाले भने हाल सम्म आफूकहाँ चिठी नआएको र पार्टी अध्यक्षले गरेको निर्णयबारे जानकारी पनि नभएको बताइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप