बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकाको सपना उडायो सबै हुरीले भनेजस्तै भयो : यम बराल

‘अहिलेका गीतसङ्गीत हावाहुरीजस्तै हुन्, कसैले सम्झना गर्दैन’
शुक्रबार, १७ वैशाख २०७८, १६ : ४८
शुक्रबार, १७ वैशाख २०७८

यम बराल एक चर्चित गायक हुन् । उनले ‘बादलुको घुम्टोले इलाम बजार छोपिँदा’, ‘निष्ठुरीले छाडेर गइहाली’ लगायत थुप्रै चर्चित गीत नेपाली साङ्गीतिक क्षेत्रमा दिएका छन् । आधुनिक र पाश्र्व गायनमा चर्चित गायक बराल केही पहिले अमेरिका बसाइपछि फर्किएका छन् ।

धेरैलाई थाहा नहुन पनि सक्छ, बराल गायनका साथै सङ्गीत पनि गर्छन् । उनले भर्खरै आफ्नै स्वर तथा सङ्गीत र उज्ज्वल भट्टराईको शब्दमा ‘अझै ओर ओर आऊ, प्रिय टाढा नजाऊ’ गीत सार्वजनिक गरेका छन् ।  जुन गीत विस्तारै चर्चाको शिखर चढ्दैछ ।

पछिल्लो समय गीतसङ्गीतमा अश्लीलता भित्रिएकोमा चिन्तित रहेका गायक बरालसँग गरिएको गीतसङ्गीतको विषयको छोटो कुराकानी :

पछिल्लो समय केमा व्यस्त हुनुहुन्छ ?

–आफ्नै सङ्गीतमा एउटा गीत भर्खर सार्वजनिक भयो । अहिलेको परिस्थितिमा पनि नेपाली गीतसङ्गीतको विकास र गतिशीलताका लागि केही न केही प्रयास गरिरहेको छु । साङ्गीतिक दुनियाँमै व्यस्त छु ।

सङ्गीतसमेत गर्न थाल्नुभएको हो र ?

–सङ्गीत त म पहिले पनि गर्थें । सङ्गीतकारै भएर काम गरेको र चर्चामा आएको थिइनँ । परी आएको खन्डमा, साथीभाइले हौसला दिएर गर्दिनुस् भनेर विश्वास गरेको अवस्थामा गर्छु ।

अमेरिका पुग्नुभएको थियो । छिट्टै फर्किनुभयो त ?

–जीवनमा केही अमिलोपन भोगेको छु  । त्यो विदेश बस्दा पनि हो । एक किसिमले भन्ने हो भने विदेशमा मेरो मन कहिल्यै खुसी भएन । करिब एक वर्ष अमेरिका बसेँ । सो समय पनि गायन बाहेकको केही काम गरिनँ । अहिलेसम्म हातले माइक मात्र समातेको छु । अन्य केही गरेको छैन ।

अमेरिका बस्दा कता–कता देशप्रतिको मायाले पोल्ने गथ्र्यो । त्यहाँ रहँदा मेरो झुटो मुस्कान हुन्थ्यो । त्यही जीवनको अबको समय स्वदेशमै केही गरेर बिताउँछु भनेर डिसिजन गरेको थिएँ । नेपाली सङ्गीतिक क्षेत्रमा मेरो यत्रो वर्षको योगदान रहेको छ । त्यो पीआर फेरि पुनर्ताजगी गरेर गीतसङ्गीतमा कोसेढुङ्गा साबित गर्छु भनेर फर्किएको हुँ । अहिले आफ्नै देशको धुलोमाटोमा रुमल्लिएर काम गरिरहेको छु ।

धेरै कलाकारले अहिले पनि अमेरिकाको सपना पालेका छन्, तपाईंले भने त्यहाँ भविष्य देख्नुभएन ?

–अमेरिका सपना सबैको हुन सक्छ र मेरो पनि थियो । त्यो सपना उडायो सबै हुरीले भनेजस्तो भयो । अमेरिका सपना देख्नु ठीक हो । त्यो पुग्नु नपुग्नु अर्काे कुरा छ । मैले पनि अमेरिकाको विषयमा विभिन्न सपना देखेको थिएँ । त्यो पूरा भएन ।

अहिले अमेरिकामा पनि धेरै कलाकार छन् । त्यहाँ बस्नु उहाँहरुको आ–आफ्नै समस्या होला । जहाँ बसे पनि कलाकारिता गर्न सकिन्छ । आफ्नो माटोमा बसेर काम गर्नु भनेको सबैभन्दा राम्रो हो ।

एक समय तपाईंका निकै राम्रा गीत आएका थिए । अहिले सुन्न नपाएको धेरै भयो त ?

–पहिलेझैँ कालजयी गीतहरु बनाउन, गाउन त मनलाग्छ । तर बजारको अवस्था राम्रो छैन । अहिले सङ्गीत बहकिएको, बाटा परिवर्तन र अपट्र्याकमा हिँडेको जस्तो लागेको छ । त्यो चिन्ताको विषय हो । म एउटा मूलधारको गायक हुँ । मलाई राम्रा राम्रा गीतसङ्गीत सिर्जना गरेर पस्किन मनलाग्छ । त्यसका लागि रेकर्डदेखि भिडियो निर्माणसम्म धेरै लगानी पनि छन् । अहिलेको अवस्था निकै चुनौतीपूर्ण छ । यो अवस्थामा गीतसङ्गीत सिर्जना गरेर जोखिम मोल्न सकिन्न । यो अवस्थाको नियन्त्रण कहाँबाट हुने हो, जिम्मेवारी कसको हो । म सबैलाई नेपाली सङ्गीत बचाउन आग्रह गर्छु । एउटा मूलधारको सङ्गीत पनि सङ्गीत हो । हिजोका अम्बर गुरुङ, गोपाल योञ्जन जस्ता सङ्गीतकारहरुले उब्जाउनु भएको सङ्गीत पनि अहिले मर्न दिनु हँुदैन । यो बचाउनु हाम्रो दायित्व हो ।

गीतसङ्गीतको व्यावसायिक बजार गिर्दाे छ । तर, सर्जकहरु भने धेरै खर्च गरिरहेका छन् ?

–मेरा लागि सङ्गीत एउटा महत्त्वपूर्ण पाटो हो । बजारको कुरा गर्ने हो भने पछिल्लो समय सङ्गीतमा होडबाजी चलिरहेको छ । त्यसले लगानी बढेको हो । अहिले राम्रा नराम्रा दुवै खालका सङ्गीत भित्रिरहेका छन् । यो अवस्थामा नेपालीपन भएका सङ्गीतहरु नै बाँच्ने गर्छ । अहिलेसङ्गीत पार्टीमा नाच्नुपर्ने, मेलामहोत्सवमा नचाउनुपर्ने भएको कारणले चुनौतीपूर्ण भएर गएको छ ।

गीत सङ्गीतमा चर्चा भाइरलको छ । त्यसले तपाईं जस्ता स्रष्टालाई ओझेल पारेको हो ?

–समयअनुसार चल्नुपर्छ । भाइरल भएर आफ्नो ओज घटाउन मलाई प्रिय लाग्दैन । म कर्म गर्छु । कर्मको फल ढिलोछिटो अवश्य मिल्छ । राम्रो काम गरेर, दर्शक स्रोताले सिर्जना सुनेर भाइरल भएको राम्रो लाग्छ । विभिन्न हतकण्डा अपनाएर चर्चाको मात्र भाइरलको केही काम छैन ।

पछिल्लो समय बजारमा विभिन्न भेराइटीका गीतसङ्गीत भित्रिएका छन्, ती गीतसङ्गीत तपाईंलाई कस्तो लाग्छ ?

–त्यो समयको माग र आकर्षण पनि हो । अहिलेको समय आफूलाई पनि चलाउने हो भने मैले पनि यो समयसम्म भिज्नुपर्छ । राम्रो गीतसङ्गीत के र कस्तो भन्ने व्याख्या गर्न नसकिने अवस्था आयो । त्यसलाई सकारात्मक हिसाबले, चुनौतीका रूपमा लिएको छु । एउटा कुरो के भने सबैले सङ्गीत बचाउन लाग्नु भने पर्छ ।

अचेल गीतसङ्गीतमा अश्लील र दुई अर्थी शब्दले प्रथामिकता पाएजस्तो लाग्दैन र ?

–गीतसङ्गीतमा देखिएको यो एउटा नयाँ पाटो हो । यसमा पनि रमाउने वर्ग छन् । ती वर्गले यस्तै गीतसङ्गीत मन पराउँछन् । उहाँहरु सुन्नुहुन्छ । मेरा आफ्नै किसिमका फ्यान छन् । मैले त्यस्ता गीतहरू गाउन मिल्दैन । एक किसिमले भन्ने हो भने यो हावाहुरी जस्तै हो । केही समयपछि रोकिन सक्छ । कसैले सम्झन पनि चाहँदैन । हामीले काम गर्दा लामो समय चल्ने गर्नुपर्छ ।

फिल्मी, आधुनिकलगायत सबै प्रकारको गीत गाउनुभएको छ । आफू चाहिँ कस्ता गीतमा आनन्द महसुस गर्नुहुन्छ ?

–आधुनिक र पाश्र्व गायनमा म निकै आनन्दित हुन्छु । अहिलेसम्म धेरै फिल्मका गीत गाए । तुलसी घिमिरे दाइको फिल्मको गीत गाउने मेरो एउटा रहर छ । त्यो पुगेको छैन ।

बजारमा कस्ता गीतका खडेरी छ ?

–अहिले बजारमा अभाव भनेकै राम्रा गीतसङ्गीत, गायन र सिर्जनाको हो । त्यो अभाव परिपूर्ति गर्ने प्रयास भने मैले गरिरहेको छु ।

विदेशी बजारमा कस्ता गीतले प्रथामिकता पाउँछन् ?

विदेशी बजारमा धेरै गीतसङ्गीत पुग्छन् । तर त्यहाँ रुचाइने भनेको सेन्टिमेन्टल आधुनिक त्यो पनि नेपालीमाटो सुहाउँदो नै हो ।

पहिलेको लकडाउनले कस्तो असर गरेको थियो ?

–पहिलो लकडाउनले सबै क्षेत्रलाई असर गरेको छ । यो समय म, जेम्स प्रधानलगायत मिलेर समाजमा जति पनि टेन्सन छ, त्योबाट कसरी बच्ने भनेर चेतनाको गीत बनायौँ । सीधै भन्नुपर्दा त्यो समय मैले सामाजिक उत्तरदायित्व पूरा गरेँ ।

अहिले फेरि ‘लकडाउन’ गर्नुपर्ने परिस्थिति आएको छ, यो समय कसरी बिताउनुहुन्छ ?

नेपाल सरकारबाट जे निर्णय भएको छ, त्योअनुसारको पालना संयमित भएर गर्नुपर्छ । दोस्रो लहरको यो कोरोना एकदमै कठिन छ । यसका लागि सरकारले तोकेको नियम पालना म पनि गर्छु र सबैलाई गर्न अनुरोध गर्छु । म आफ्नो, परिवारको, समाजको र राष्ट्रका लागि पनि यो नियमको पालना गर्छु ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप