शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘सर्वदलीय संयन्त्र’ बारे छलफल गर्न सकिन्छ : मन्त्री ज्ञवाली

‘अहिले बैठक बस्न कठिन छ, आ–आफ्नो ठाउँबाट जुटौँ’
शुक्रबार, १७ वैशाख २०७८, २१ : ५०
शुक्रबार, १७ वैशाख २०७८

काठमाडौं । नेकपा माओवादी केन्द्रले कोरोना महामारीविरुद्ध लड्न सर्वदलीय राजनीतिक संयन्त्र बनाउनुपर्ने माग अगाडि सारे पनि सरकारले यसबारे औपचारिक धारणा सार्वजनिक गरेको छैन । तर, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले महामारी साझा लडाइँ भएको भन्दै यसबारे सोच्न सकिने बताएका छन् ।   

सर्वदलीय संयन्त्र बनाउने माग भइरहेको छ, यसबारे सरकारको धारणा के छ ? रातोपाटीको प्रश्नमा मन्त्री ज्ञवालीले भने, ‘आवश्यकता पुष्टि हुँदा त्यसमा छलफल गर्न सकिन्छ । किनभने, यो साझा लडाइँ हो । किनभने, सबै राजनीतिक दललाई यसमा लाग्न हामीले आह्वान पनि गरेका छौं ।’

तर, अहिलेको अवस्थामा छलफल र बैठकहरु गर्न कठिन हुने भएकाले सरकारले यसबारे नसोचेको मन्त्री ज्ञवालीले बताए । उनले भने, ‘त्यस्तो संयन्त्र बनाउन अहिले बैठकहरू बस्न र भेटघाट गर्न पनि कठिन छ । त्यसकारण सरकारले जो जहाँ छौं, त्यहीँबाट राजनीतिक दल र सामाजिक संस्थाहरुले पनि आ–आफ्ना संयन्त्रहरु परिचालित गर्नुस् भनेका हाैँ । अहिले नै छुट्टै संयन्त्र बनाउने निष्कर्षमा सरकार पुगिसकेको छैन । तर, आवश्यक परामर्श भने गर्छौं ।’

सरकारको नेतृत्व गर्ने पार्टी एमालेले कोरोना नियन्त्रणमा कसरी लाग्ने सोचेको छ त ? यसबारे रातोपाटीले एमाले प्रवक्ता एवं परराष्ट्रमन्त्री ज्ञवाली गरेको संक्षिप्त कुराकानी यहाँ प्रस्तुत गरिएको छ–  

सत्तारुढ नेकपा एमालेले पार्टीको हैसियतमा कोरोना नियन्त्रणबारे के गर्दैछ ?

हालै सम्पन्न दशौं महाधिवेशन आयोजक कमिटीको बैठकबाट विशेष निर्देशन जारी गरेको छ । त्यसमा हाम्रो पार्टीको मातहतका सबै पार्टी कमिटी र जनसंगठनहरू, जनप्रतिनिधिहरु र कार्यकर्ता समेतलाई सरकारले जारी गरेका स्वास्थ्य मापदण्डहरुको अनिवार्यरुपमा पालना गर्न भनेका छाैं ।

दोस्रो, आफू सुरक्षित रहेर जनचेतना अभिवृद्धिमा लाग्न निर्देशन दिएका छौं । त्यसमा खासगरी ग्रामीण क्षेत्रमा बाहिरबाट आउनुभएका मानिसलाई क्वारेन्टिनको अनिवार्य व्यवस्था गर्न, क्वोरिन्टनमा बसेको सुनिश्चित गर्न, स्वास्थ्य समस्या देखाप-यो भने स्वास्थ्य चौकीमा पु¥याउन स्वयंसेवकका रुपमा खट्न र देशव्यापीरुपमा स्वयंसेवीको रुपमा खट्ने विशेष निर्णय नै गरेका छौ । सोहीअनुसार निर्देशन दिएकाले साथीहरु लाग्नु पनि भएको छ ।

पार्टीको यो निर्णय र निर्देशन कार्यान्वयन पनि भएको छ कि ?

यो निर्णय कार्यान्वयनमा गइसकेको छ । तल–तलसम्मका पार्टी कमिटीका साथीहरु यो निषेधाज्ञाको पालना गराउन, मास्क अनिवार्य लगाउन, दुरी कायम गर्न  खटिसकेका समाचारहरु आइसकेका छन् ।

तपाई त सत्तारुढ दलको प्रवक्ताका साथै सरकारको मन्त्री पनि हुनुहुन्छ । सरकारले झण्डै २० जिल्लामा निषेधाज्ञा आदेश जारी गरिसकेको छ । तर, मानिसहरुले उपचार गर्न अस्पताल, बेड पाउन नसकेको भनेर समाचारहरु आइरहेका छन् । त्यस्तै कन्ट्रयाक्ट ट्रेसिङको काम पनि नभएको भन्ने गुनासा छन् । सरकार के गर्दैछ ?

हामीले गत वर्षबाटै यो कामलाई निरन्तरता दिएका छाैं । पछिल्लो समय जुन अनुपातमा संक्रमण बढ्यो, यसले हाम्रो तयारी र संक्रमण दरको बीचमा ग्यापचाहिँ देखिएको छ ।

गत बर्ष हामीलाई अलि अगाडि लकडाउन भएकाले केही अनुकुलता थियो । लकडाउनको २ महिनापछि मात्रै अस्पताल ल्याउनुपर्ने बिरामीहरु देखिएका थिए । त्यतिबेलासम्म ननकोभिड बिरामीहरु अस्पतालमा खालीजस्तै भएका थिए ।

अहिले त्यसमा अलि जटिलता छ । किनभने, अस्ति भर्खरसम्म नर्मललै अवस्था थियो । त्यसैले, अरु बिरामीहरु अस्पतालमा धेरै हुनुहुन्छ । यसले गर्दा बेड, अक्सिजन अभाव देखिएको र चाप पनि छ । तर, पनि हामी अक्सिजन लगायतका क्रिटिकल केयरमा प्रयोग हुने औषधिका लागि विभिन्न मित्रराष्ट्रहरूसँग कुराकानी गरिरहेका छाैँ ।

अहिलेको स्थिति हेर्दा भयावह स्थिति हुने देखिन्छ । यस्तो अवस्थामा सरकार एक्लैले गरेर केही हुँदैन भन्ने प्रष्टै छ । सर्वदलीय संयन्त्रको माग पनि उठेको छ । सरकारले सर्वदलीय राजनीतिक संयन्त्र गठन गर्ने कुनै तयारी गरेको छैन ?

आवश्यकता पुष्टि हुँदा त्यसमा छलफल गर्न सकिन्छ । किनभने, यो साझा लडाइ हो । किनभने, सबै राजनीतिक दललाई यसमा लाग्न हामीले आह्वान पनि गरेका छौं । तर, त्यस्तो संयन्त्र बनाउन पनि अहिले बैठकहरू बस्न र भेटघाट गर्न पनि कठिन छ । त्यसकारण सरकारले जो जहाँ छौं, त्यहीँबाट राजनीतिक दल र सामाजिक संस्थाहरुले पनि आ–आफ्ना संयन्त्रहरु परिचालित गर्नुस् भनेका हाैँ । त्यसमा सरकारले गर्नुपर्ने आवश्यक समन्वय र सहजीकरण गर्छ, गरि नै रहेको छ । त्यसैले, अहिले नै छुट्टै संयन्त्र बनाउने निष्कर्षमा सरकार पुगिसकेको छैन । तर, आवश्यक परामर्श भने गर्छौं ।

स्थिति विकराल बन्दै गएको छ । कन्ट्याक्ट​ ट्रेसिङ छैन, सीमा नाका खुल्लै छन् । बरु, सरकार निषेधाज्ञा गरेर जिम्मेवारी पूरा भयो भनेर बसेजस्तो देखिएको छ । यसरी कोरोनाविरुद्धको युद्ध जित्न सकिन्छ भन्ने ठान्नुभएको छ ?

तपाईको भनाइ आंशिक मात्रै सत्य हो । कन्ट्याक्ट ट्रेसिङ भएको छैन भन्ने होइन, भइरहेको छ र टेस्टिङ पनि भइरहेको छ । हाम्रो पूरा क्षमता दैनिक २० हजार हो, त्यसमा १३/१४ हजार भइरहेको छ ।

सीमाको कुरामा हामीले आफ्ना नागरिकहरुलाई भारतबाट नआऊ भन्न सक्दैनौं । भन्नु पनि हुँदैन । बरु तोकिएका सीमा नाकाहरूबाट आउनुस् भनेर आग्रह गरेका छाैँ ।

ती सीमामा नै स्वास्थ्य परीक्षण गरेर यदि सुरक्षित भए होम क्वारेन्टिनमा बस्ने र लक्षण देखिए सरकारले त्यहीँबाट अस्पताल पठाउँछ । त्यसो गर्दा नै सुरक्षित हुन्छ । तर, नाकाहरुमा परीक्षण गर्नुपर्छ भनेर मानिसहरु छलेर आउने गरेको पाइन्छ । त्यसैले यसमा नागरिकको सहयोग जरुरी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप