शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

महामारी बढेका १९ जिल्लामा निषेधाज्ञा जारी

शुक्रबार, १७ वैशाख २०७८, २२ : १०
शुक्रबार, १७ वैशाख २०७८

काठमाडौं । कोरोना माहामारी बढेका १९ जिल्लामा पूर्ण निषेधाज्ञा जारी गरिएको छ । मन्त्रिपरिषद्को निर्णयका आधारमा संक्रामक रोग ऐन–२०२० को प्रयोग गरेर प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा जारी गरेका हुन् ।
बाँकेमा वैशाख १३ बाट निषेधाज्ञा जारी गरिएको छ । सुर्खेतमा १४ गतेबाट अर्को आदेश नभएसम्मको लागि निषेधाज्ञा लागू भएको छ ।

वैशाख १६ बाट काठमाडौं, भक्तपुर, ललितपुर, कैलाली, पर्सा, कञ्चनपुर, चितवन र रुपन्देहीमा जिल्लाभर निषेधाज्ञा लागू गरिएको छ । कास्कीमा १५ गतेबाट शुरु भएको निषेधाज्ञा जारी छ । शुक्रवारबाट दाङ र पाल्पामा जिल्लाभर लागु हुनेगरी निषेधाज्ञा जारी गरिएको छ ।

झापा, सल्यान, रुकुम पश्चिम र डडेलधुराका प्रमुख जिल्ला अधिकारीले वैशाख १९ बाट लागू हुनेगरी निषेधाज्ञा घोषणा गरेका छन् । वैशाख १७ मा रातको १२ बजेबाट लागू हुनेगरी सुनसरी जिल्लाभर निषेधाज्ञा लागू गर्ने निर्णय गरिएको छ । जाजरकोटमा १८ गतेबाट लागू हुनेगरी निषेधाज्ञा घोषणा भएको छ ।

बागलुङ, कालिकोट, दार्चुला र बर्दियामा स्थान तोकेर निषेधाज्ञा लागू गरिएको छ । वैशाख ७ बाट बागलुङको बागलुङ नगरपालिका वडा नम्बर १२, १३, र १४ स्थित साविक अमलाचौर, पैयुपाटा र नारायणस्थान गाविसमा निषेधाज्ञा घोषणा गरिएको छ ।

कालिकोटको खाँडाचक्र नगरपालिका–११ स्थित रेङगिलमा वैशाख १० बाट निषेधाज्ञा जारी छ । बर्दियाको गुलरिया नगरपालिका, बाँसगढी नगरपालिका, बारबर्दिया नगरपालिका, मधुवन नगरपालिका र ठाकुरबाबा नगरपालिकाका विभिन्न ठाउँमा वैशाख १३ बाट निषेधाज्ञा जारी छ । बर्दियाको भुरीगाउँ,  राजापुर र बढैयाताल गाउँपालिकामा पनि निषेधाज्ञा जारी छ । दार्चुलाको मार्मा गाउँपालिका र व्यास गाउँपालिकाको विभिन्न भागमा वैशाख १६ बाट निषेधाज्ञा लागू गरिएको गृह मन्त्रालयले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप