शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

निषेधाज्ञाको समयमा हेर्नुहोस् यी १२ फिल्म

शनिबार, १८ वैशाख २०७८, १२ : ४९
शनिबार, १८ वैशाख २०७८

कोरोनाको दोस्रो लहरका कारण उपत्यकालगायत देशका दुई दर्जन हाराहारीका जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । जसका कारण सर्वसाधारण जनता घरभित्र सीमित हुन बाध्य छन् ।

घरमै सीमित भएर बस्नुपर्दा मनोविद्, चिकित्सक तथा विद्वानहरूले पुस्तक पढ्न, फिल्म हर्न र विभिन्न मनोरञ्जनात्मक सामग्री अपनाउन सल्लाह दिने गर्छन् । मनोरञ्जन र टाइमपासका लागि सबैभन्दा उपयुक्त विकल्पहरुमध्ये एक फिल्म पनि हो । फिल्म त हेर्ने तर कस्तो ? धेरैको सोच यही हुन सक्छ । यो समयमा विभिन्न दृष्टिबाट उपयुक्त ठानिएका १२ फिल्मको चर्चा यहाँ गर्न खोजिएको छ । तीमध्ये अधिकांश युट्युबमै उपलब्ध रहेका छन् भने केही विभिन्न इन्टरनेट प्लेटफर्ममा हेर्न सकिन्छ ।

पशुपतिप्रसाद

दीपेन्द्र के खनाल निर्देशित पशुपतिप्रसाद व्यावसायिक र सफल फिल्म हो । समीक्षक तथा दर्शक दुवैले मनपराएको यो फिल्म गाउँबाट सहर पसेर पैसा कमाउने एक युवाको जीवन सङ्घर्षको कथामा केन्द्रित रहेको छ । फिल्मको मुख्य पात्रमा अभिनेता खगेन्द्र लामिछाने छन् । जसको अभिनय सबैले रुचाएका थिए । पशुपतिनाथ मन्दिर परिवेशमा खिचिएको र त्यहाँको लास पोल्ने, खोलामा पैसा र सुन खोज्नेदेखि जोगी र वृद्धवृद्धासम्मको कथा फिल्मले उठाएको छ । फिल्ममा हनुमानजी र भस्मे डन पात्र पनि छन् । भस्मे डनका रूपमा विपिन कार्कीलाई देख्न सकिन्छ ।

बलिदान

विसं २०४६ को आन्दोलन नेपालको राजनीतिमा विशेष महत्त्व राख्छ । तीस वर्ष लामो पञ्चायती व्यवस्था परिवर्तनका लागि हजारौँ नेपालीले यो आन्दोलनमा बलिदान दिएका थिए । देश र प्रजातन्त्रका लागि आफ्नो प्राण दाउमा राख्नेहरुको कथा हो फिल्म बलिदान

तुलसी घिमिरेको निर्देशन, मोदनाथ प्रश्रितको कथा रहेको फिल्ममा राल्फाली रामेशको सङ्गीतमा राजनीतिक चेतनाले भरिएका गीतहरू राखिएको थियो । नेपाली फिल्मको इतिहासमा बलिदान जस्ता फिल्म बन्न अब मुस्किल भएको धेरैको भनाइ छ । फिल्ममा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, अञ्जना श्रेष्ठ, नीर शाहलगायतको अभिनय रहेको छ ।

लाइफ इज ब्युटिफुल

बाबु र छोरा एउटा नाजी क्याम्पभित्र थुनिएको कथामा वाचन गर्ने यो इटालीको फिल्म हो । फिल्ममा नाजी क्याम्पभित्रको त्रासदी वातावरणबाट आफ्नो सानो छोरालाई मनोवैज्ञानिक रूपमा जोगाउन एक बुबाले गर्ने सङ्घर्ष र उनलाई हसाउन गर्ने व्यवहार कथा बुनिएको छ । एक किसिमले हेर्ने हो भने फिल्म रमाइलो छ । समाजका शक्तिशालीले अरूमाथि दमन गर्ने कुरा जहिले पनि खतरनाक हुन्छ । त्यही पेरिफेरिको कथाभन्दा पनि हो, लाइफ इज ब्युटिफुल । एकदमै पीडादायक फिल्मले शासकले तहसनहस गर्दैमा जीवन तहसनहस हुँदैन । कहीँ न कहीँबाट जीवन उदाएर आउँछ । जीवन एकदमै सुन्दर छ भन्ने सन्देश दिन खोजेको छ ।

द लन्चबक्स

रितेस बत्रा निर्देशित सन् २०१३ को द लन्चबक्सलाई ओस्कारका लागि भारतको प्रतिनिधित्व गर्न सक्ने फिल्मका रूपमा हेरिएको थियो । तर गुजराती फिल्म द गुड रोडलाई सो समय ओस्कार पठाइयो ।

थुप्रै अवार्ड कार्यक्रममा मनोनीत र पुरस्कृत यस फिल्मको सबैभन्दा ठूलो उपलब्धि भनेको बेलायतको ओस्कार अर्थात् बाफ्टा अवार्डमा विदेशी भाषाको उत्कृष्ट फिल्म विधामा मनोनित हुनु रह्यो । यसलाई अभिनेता इरफान खानको सम्झना योग्य फिल्म मानिन्छ । फिल्मबाट जीवन उपयोगी धेरै कुरा सिक्न सकिन्छ ।

द पियानिस्ट

राम्रो कथा बोकेको फिल्म हो द पियानिस्ट । यसलाई रोमन पोलस्कीले निर्देशन गरेका हुन् । यो फिल्मले हिटलरको नरहसंहार कालखण्डको कथा भनेको छ ।

यो पोल्यान्डमा भएको दुईवटा घटनामा आधारित छ । यसले एउटा पियानो बजाउने मानिसले पियानोकै कारण सोच्न पनि नसक्ने वातावरणमा बाँच्नका लागि गरेको सङ्घर्षको कथा भन्छ । फिल्मबाट सङ्घर्ष, अकल्पनीय दुःख लगायतका उतारचढाव बुझ्न सकिन्छ ।

पिएटा

दक्षिण कोरियाली निर्देशक किम कि दुकको सन् २०१३ को पिएटा अन्तर्राष्ट्रिय क्षेत्रमा तहल्का मच्चाउन सफल फिल्म हो । यसले ६९औँ भेनिस फिल्म फेस्टिभलमा उत्कृष्ट अवार्ड गोल्डेन लायन जितेको थियो । संसारका उत्कृष्ट तीन महोत्सव भेनिस, कान्स र बर्लिनमध्ये कुनै एकमा मुख्य अवार्ड जित्ने पहिलो कोरियाली फिल्म हो यो ।

नुमाफुङ

नेपाली समाज र संस्कृतिमा आधारित कथा समावेश गरी बनाइएको उत्कृष्ट फिल्ममध्ये एक हो नुमाफुङ ।

नवीन सुब्बाको निर्देशन रहेको फिल्म लिम्बू समुदायमा प्रचलित छोरी दिँदा कुटुम्बसँग नगद, सुन आदि लिने चलन सुनौलीरूपौली प्रथा र त्यसले निम्त्याउने अप्ठ्यारो कथा बनाइएको छ । फिल्मले विभिन्न अन्तर्राष्ट्रिय महोत्सवमा सहभागी भएर प्रशंसा र पुरस्कारसमेत जित्न सफल भएको छ ।

अनुपमा सुब्बा, निवाहाङमा लिम्बु, प्रेम सुब्बा, अलोक नेम्बाङलगायतको फिल्ममा अभिनय रहेको छ ।

ग्राभिटी

सन् २०१३ मा रिलिज भएको ग्राभिटीले ८६औँ ओस्कार समारोहमा उत्कृष्ट फिल्म र निर्देशनसहित ७ वटा अवार्ड जितेको थियो । अल्फोन्सो कुरानद्वारा निर्देशित फिल्मले अन्तरिक्ष यात्रीहरुको सङ्घर्षलाई उजागर गर्छ । फिल्मको छायाङ्कन पक्ष अब्बल छ । यो फिल्म दर्शक, फिल्म मेकर सबैका लागि उपयुक्त फिल्म मानिन्छ । यसबाट धेरै कुरा सिक्न सकिन्छ ।

बाबेल

हेर्नेपर्नेमध्येको एक महत्त्वपूर्ण फिल्म हो बाबेल । एकअर्कालाई बुझ्न एकअर्काको कुरा सुन भनेर फिल्मले भन्छ । हाम्रो समाज माइग्रेडेट समाज हो । एक ठाउँको मानिस अर्काे ठाउँमा गएर बस्ने क्रम निरन्तर चलिरहेको हुन्छ । यसले गर्दा हामीलाई एक अर्काको भाषा बुझ्दैनौँ, संस्कृति बुझ्दैनौँ । नबुझे पनि कमसेकम सुन र त्यो सुनाइले उसको अनुहारमा देखिएको पीडालाई अनुभूति गर भन्ने बुझाउने फिल्म होबाबेल

फिल्म सुन्दर छ । फिल्ममा तीन देशका परिवारको सङ्घर्ष कथामा छ । ती मानिसको घटना, परिघटना एकअर्काेसँग बाँधिएको देखाइएको छ । यसले जीवन जहाँ भए पनि कतै न कतै कोही न कोहीको जीवन गाँसिएको महसुस गराउँछ । फिल्म एलेजान्द्रो गोन्जालेज इनारितुले निर्देशन गरेका हुन् ।  दक्षिण अमेरिकी क्षेत्रको फिल्महरूको कथा भन्ने शैलीको अनुभव गर्नका लागि यो फिल्म राम्रो छ ।

साँघुरो

साँघुरोलाई नेपाली फिल्मको दायरा फराकिलो बनाउने फिल्मका रूपमा पनि हेर्न गरिन्छ । यौन मनोविज्ञानमा आधारित फिल्मले एक सुकुम्बासी बस्तीको गरिब दम्पत्तीको कथा देखाउन खोजेको छ ।

शुशांक मैनाली, दिया मास्के, अरुणा कार्की र दयाहाङ राईको अभिनय रहेको यस फिल्ममा सुकुम्बासी बस्तीको एउटा छाप्रोभित्र दुःखसुख जिन्दगी कटाइरहेका आमा र छोरामा बुहारी थपिएपछिको कथा छ । बिहेपछि शारीरिक सम्बन्ध राख्न परिस्थिति अनुकूल नहुँदा एक जोडीको सङ्घर्ष फिल्मले नजिकबाट देखाउने प्रयास गरेको छ । सानो कथा सानै परिवेश, मानवीय कुण्ठा र मनोविज्ञानको सूक्ष्म चित्रण  गरेको जोयस पाण्डे निर्देशित फिल्म विनोद पौडेलले लेखेका हुन् ।

लुट

नेपाली फिल्म इतिहासमा लुटको फरक महत्त्व रहेको छ । सङ्कटकाल लाग्ने अवस्थामा रहेको फिल्म उद्योगलाई व्यावसायिक धारमा उभ्याउन सफल लुट माधव वाग्लेले निर्माण गरेका हुन् । यो फिल्मलाई नेपाली फिल्मको धार परिवर्तन गर्ने सूत्रधारका रूपमा पनि लिइन्छ । सौगात मल्ल, दयाहाङ राई, कर्मा, ऋचा शर्मालगायत कलाकारको अभिनय रहेको लुटले युवापुस्ताको नयाँ सोचको प्रतिनिधित्व गरेको थियो ।

निश्चल बस्नेतको निर्देशन रहेको यो फिल्ममा बेरोजगार सहरी युवा र पैसा कमाउने दबाबमा परेर बैङ्क लुट्ने मास्टर प्लान पूरा गर्ने प्रयास र उनीहरूले अपनाउने आपराधिक गतिविधिको कथा भन्छ । कथाभन्दा प्रस्तुतिका कारण रुचाइएको फिल्ममा काठमाडौँका गल्लीदेखि भट्टीसम्मका दृश्य समेटिएको छ । लुटलाई धेरैले सशक्त फिल्मका रूपमा समेत हेरेका छन् ।

झोला

सय वर्ष पहिलेको नेपाली समाजमा रहेको सती प्रथाको विषय उठान गरेको फिल्म हो झोला । यसको कथाले सबैलाई रुवाउन सामथ्र्य राख्छ । २०७० सालमा रिलिज भएको यो फिल्म यादव भट्टराईले निर्देशन गरेका हुन् । देश विदेशका विभिन्न फिल्म फेस्टिबलमा पुरस्कृतसमेत भएको यो फिल्म नेपालबाट अस्कर अवार्डका लागि पनि पठाइएको थियो । फिल्मकी अभिनेत्री गरिमा पन्तले यही फिल्मबाट सार्क फिल्म फेस्टिबलमा उत्कृष्ट अभिनेत्रीको अवार्ड हात पारेकी थिइन् ।

यो फिल्ममा गरिमा पन्तसँगै देशभक्त खनाल, दीपक क्षेत्री, सुजल नेपाल, लक्ष्मी गिरी लगायतको अभिनय रहेको छ । राज तिम्सिना, मालती शाह, सुशील शाह, रामगोपाल श्रेष्ठको लगानी रहेको फिल्म कृष्ण धरावासीको कथामा आधारित भएर निर्माण भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप