बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सरकारलाई डा. महेश मास्केको सुझाव : मेडिकल कलेज र निजी अस्पताललाई ‘कोभिड अस्पताल’ मा रुपान्तरण गरौँ

नयाँ भेरियन्टलाई परास्त गर्न तदारुकताका साथ परीक्षण र कन्ट्याक्ट ट्रेसिङमा जोड
शनिबार, १८ वैशाख २०७८, २० : २१
शनिबार, १८ वैशाख २०७८

 स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ (कोरोनाभाइरस)का बिरामीलाई बेड उपलब्ध गराउन नसक्ने भन्दै हात उठाइरहेका बेला बरिष्ठ जनस्वास्थ्यविद् डा. महेश मास्केले सरकारलाई विभिन्न पाँच बुँदामा सुझाव दिएका छन् ।

डा. मास्केले काठमाडौं उपत्यकालगायत देशका धेरै वटा मेडिकल कलेज र निजी अस्पतालहरुलाई दुई महिनाका लागि कोभिड डेडिकेटेड अस्पतालमा परिवर्तन गर्न सरकारलाई सुझाएका छन् ।

रातोपाटीमार्फत सरकारलाई सुझाव दिँदै डा. मास्केले भने, ‘धेरै मेडिकल कलेज र निजी अस्पतालहरूलाई अस्थायी रुपमा दुई महिनाका लागि कोभिड डेडिकेटेड अस्पतालमा परिवर्तन गर्नुहोस् ।’

सरकारले प्राइभेट अस्पतालहरुमा कोभिड युनिट मात्रै सञ्चालन गरेर नपुग्ने डा. मास्के बताउँछन् । रातोपाटीसँग कुरा गर्दै डा. मास्केले भने, ‘सरकारले प्राइभेट हस्पिटलहरूमा कोभिड युनिट सञ्चालन गर्ने भनेको छ, त्यसले मात्र पुग्दैन । प्राइभेट अस्पताल र खाली अवस्थामा रहेका मेडिकल कलेजहरुलाई पूरै कोभिड हस्पिटलमा रुपान्तरण गर्नुपर्छ ।’

डा. मास्के अगाडि भन्छन्, ‘जिल्लाहरुमा त्यसो गर्न थालिसके तर, झन बढी जोखिम रहेको काठमाडौं उपत्यकामा सरकारले किन यस्तो निर्णय गर्न सकिरहेको छैन, मैले बुझ्न सकेको छैन ।’

 


डा. मास्केका ५ सुझाव उनकै शब्दमा–     

१. धेरैभन्दा धेरै मेडिकल कलेजहरू र निजी अस्पतालहरूलाई कोभिड डेडिकेटेड अस्पतालमा रुपान्तरण गरौँ ।  अस्थायी रूपमा दुई महिनाका लागि यसो गर्न सकिन्छ, ताकि यस संकटको घडीमा पर्याप्त अक्सिजन सपोर्टसहितका बेडहरुको व्यवस्थापन गर्न सकियोस् । यसो गर्दा बिरामीहरुले अस्पतालमा भर्ना नपाएर अक्सिजन एवं डेक्सामेथासन जस्ता साधारण औषधिको अभावमा उनीहरुको स्वास्थ्य अवस्था जटिल पनि हुँदैन र धेरै आइसियु बेडको आवश्यकता पर्दैन ।

२. स्थानीय तहमा वडाका पदाधिकारीहरूलाई यातायात सुविधासम्पन्न बनाई नजिकैका कोभिड अस्पतालमा सहजै पहुँचको व्यवस्था मिलाउँ । यसो गर्दा अस्पतालमा पु-याउनुपर्नेखालका बिरामीहरुलाई वडाहरुले समयमै सेवा दिन सक्छन् ।

३. प्रत्येक वडामा होम आइसोलेसन र संस्थागत आइसोलेसन पर्याप्त संख्यामा स्थापना गरी चिकित्सक एवं सम्बन्धित निकायको प्रत्यक्ष एवं फोन कलको माध्यमबाट निरन्तर सुपरिवेक्षण गरिनुपर्छ ।

४. नेपाल प्रवेश गर्ने सबै मानिसलाई १४ दिनसम्म क्वारेन्टिनमा राखेर कोरोनाको कुनै लक्षण देखिएमा परीक्षण गरिनुपर्छ ।

५. कोरोनाको बेलायत एवं भारतीय भेरियन्टलाई परास्त गर्न तदारुकताका साथ परीक्षण र कन्ट्याक्ट ट्रेसिङ गरिनुपर्छ ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप