शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कुशललाई आयोजकले छक्का नहान् भनेपछि...

शनिबार, १८ वैशाख २०७८, १७ : ५४
शनिबार, १८ वैशाख २०७८

 ‘यसरी खेल्न लेखेको रहेछ र पो मलाई डिस्टर्ब गर्दोरहेछ !’ शनिबार नेदरल्यान्डस विरुद्ध कुशल भुर्तेलले ७७ रन बनाएपछि रोशन शर्माले भने । कुशलले प्रहार गरेका हरेक चौका–छक्कामा रमाउँदै भिडियो खिच्न व्यस्त थिए शर्मा ।

‘उसमा क्रिकेटको भोक भाञ्जाले नै जन्माइदिनुभएको हो,’ कुशलका बुबा दीपक भुर्तेलले रातोपाटीसँग भने ।

त्रिदेशीय टी–२० अन्तर्गत आफ्नो डेब्युसहित पाँच खेलमा प्रहार गरेका चारवटा अर्धशतकले कुशल रनको कति भोको छन् भन्ने पुष्टि गर्छ ।

भारतबाट पढेर आएका शर्मा केही दिन मामाघर बसेका थिए । उनी नियमित क्रिकेट हेर्थे, मध्यरातसम्म टीभी खुल्लै भएपछि ८ कक्षामा पढ्ने कुशलको निद्रा बिग्रियो र शर्माले पनि आरामले खेल हेर्न पाएनन् । क्रिकेटका हरेक नियमबारे उनी दाइसँग सोधिरहन्थे ।

क्रिकेट बुझाउनकै लागि रोशनले ब्याट बोकेर कुशललाई खाली चौरमा दौडाउन थाले । यतिले नपुगेर एकपटक राष्ट्रिय टिमका पूर्वकप्तान शक्ति गौचनले सञ्चालन गरेको एकेडेमीमा पनि कुशल पुगेका थिए । तर, पहिलो दिनमै बल नाकमा लागेर रगत बग्यो । त्यसपछि दोहो¥याएर एकेडेमी गएनन् ।

छोराले क्रिकेटमा लागेर पढाइ बिगार्छ भन्ने चिन्ता आमा दुर्गादेवीको थियो । यति नै बेला दक्षिण कोरियाबाट दीपक घर फर्किए ।

प्याब्सनले आयोजना गरेको स्कुल स्तरीय प्रतियोगितामा छोराले खेलेको हेर्न उनी पनि पुगेका थिए, कुशलले त्यस खेलमा ३५ रन हाने । कुनै समय आफू पनि क्रिकेट खेल्ने गरेकाले छोरा प्रतिभाशाली छ भनेर बुझ्न समय लागेन ।

बुटवलमा नुसी (एनयुसीआई) नामक कम्युटर इन्स्टिच्युट खोलेर कम्प्युटर, लोक सेवा तालिम र ट्युसन पढाउने काम दीपकले थाले । यस इन्स्टिच्युटले स्कुलका विद्यार्थीहरुलाई समावेश गरेर नुसी कप आयोजना गर्न थाल्यो ।

 तिलोत्तमा ज्योतिनगर–८ स्थित जनकल्याण क्लबको ग्राउन्डमा आयोजित १५ ओभरको यही प्रतियोगितामा अरनिको स्कुलबाट सहभागी कुशलले न्यु इन्भाइरोमेन्ट स्कुलविरुद्ध ओपनिङमा आएर १ सय १८ रन हाने ।

कुशलले छक्का हान्दा कहिले बल घरको छतमा पुग्यो, कहिले नालीमा त कहिले कुलामा । एक्स्ट्रा बल नै सकिन लागेपछि बाबुकै नेतृत्वमा रहेको आयोजक कमिटीले चेतावनी दिनुप¥यो, ‘फेरि यति टाढासम्म बल हानिस् भने तेरो पैसा काटिदिन्छौँ ।’

९ कक्षा पढ्दा कुशल एसीसी यू–१६ इलिट कपका लागि छनोट भइसकेका थिए । मलेसियामा २०१२ मा भएको यस प्रतियोगिताको पहिलो खेलमै कुवेतविरुद्ध कुशलले ३५ रन बनाए । नेपालले ७८ रनले खेल जित्यो ।

तर, प्रशिक्षणका क्रममा डोरीमा अल्झिएर कुशल घाइते भए । ‘यतिबेला दुई महिनाभन्दा लामो समयसम्म काठमाडौँमै उसको उपचार चलेको थियो । हात चल्ने अवस्थामै नभएकाले क्रिकेटमा निरन्तरता दिन सक्दैन कि भन्ने डर लाग्यो,’ दीपकले भने ।

ठीक हुनासाथ कुशलले प्रशिक्षण थाले । तिलोत्तमा नगरमा खाली चौर भेट्ने बित्तिकै ब्याट बोकेर कुशल पुगिहाल्थे । यू–१६ टोलीमा छनोट भएपछि उनी स्थानीय स्तरमा पनि चिनिन थालेका थिए ।

सन् २०१४ मा धनगढीमा नेपाल प्रिमियर लिग आयोजना हुने भएपछि शरद् भेस्वकारको नेतृत्वमा रहेको पञ्चकन्या  तेज टोलीले कुशललाई बोलायो । तर, दुःखको कुरा धनगढी जाँदा कक्षा ११ को बोर्ड परीक्षा छाड्नुपर्ने थियो । छोराले सपना पछ्याउनुपर्छ भन्ने बाबुको अड्डी र पढाइ बिगार्न हुँदैन भन्ने आमाको चाहनामध्ये कुन रोज्ने ? अग्निपरीक्षा कुशलले दिनुप¥यो ।

भोलिपल्ट उनी सामान प्याक गरेर सरासर धनगढी हिँडे । ‘छोरालाई फाइनल परीक्षा छाडेर जा भन्ने म पनि त्यस्तै,’ दीपक सम्झन्छन्, ‘आमालाई त पढाइ बिगार्न हुँदैन भन्ने भइ नै हाल्छ । अहिले पनि हामीबीच छोराको भविष्यलाई लिएर ठाकठुक चलिरहन्छ ।’

तर, परीक्षा छाडेर धनगढी गएपनि कुशल मैदानमा उत्रन पाएनन्, उनी रिजर्भमै बसे । ‘गेम खेल्नुमात्रै ठूलो होइन । रिजर्भमा बसेर पनि धेरै सिकिन्छ । विनोद दास, शरद् भेस्वाकर, करण केसी दाईलगायत सिनियर खेलाडीहरुसँग अभ्यास गर्नु, उहाँहरुले खेलेको नजिकबाट नियाल्नु नै मेरा लागि ठूलो सिकाई र उपलब्धि थियो,’ कुशल भन्छन्, ‘देशकै ठूला स्टारहरुले खेल्ने यस प्रतियोगिताको उपाधि नै हामीले जित्यौं । त्यो उमेरमा त्योभन्दा ठूलो खुसी अरु के हुनसक्थ्यों र ?’

अर्को वर्ष, एकैपटक ११ र १२ कक्षाको परीक्षा र फस्र्ट डिभिजनमा पास गरे ।

२०१६ मा यू–१९ विश्वकप पनि खेले । यस प्रतियोगिताको सुरुवाती खेलमा न्युजिल्यान्डविरुद्ध नेपालले ३२ रनको जित हासिल गर्दा उनको प्रदर्शन उल्लेखनीय थियो । आठौँ नम्बरमा ब्याटिङ गर्न आएका कुशलले २३ बलमा ५ चौकाको मद्दतले अविजीत ३५ रन बनाएपछि धर्मराएको नेपाली इनिङ्ग्स उकासिएको थियो ।

तर यो प्रतियोगितापछि उनले राष्ट्रिय टिमबाट डेब्यु गर्न लामो प्रतीक्षा गर्नुप¥यो । जबकि यस खेलमा सहभागी धेरै खेलाडी राष्ट्रिय टिममा परिसकेका थिए । धेरै पटक राष्ट्रिय टोलीको अन्तिम १८ मा छनोट भएर रिजर्भमा बस्नुपर्दा उनी निराश भइसकेका थिए ।

‘एकपटक बहिनीसँग पनि अब क्रिकेट लामो समय खेल्दिनँ होला भनेछ । मेरा लागि यो ठूलो धक्का थियो,’ दीपकले भने, ‘बाराक ओबामाले आठ वर्षसम्म राष्ट्रपति चलाएर ५४ वर्षको उमेरमा ह्वाइटहाउसबाट अवकाश लिए । त्यही पदमा पुग्दा डोनाल्ड ट्रम्प ७४ वर्षको भइसकेका थिए । त्यसैले समय सबैको आउँछ, धैर्यता राख्नुपर्छ भनेर सम्झाएको थिए । त्यसको केही समयपछि इमर्जिङ कप र साफ च्याम्पियनसिप टोलीमा प¥यो ।’

दीपकको सिद्धान्त– जीवनमा धैर्यता राख्नुपर्छ र मिहिनत गर्नु भन्ने हो । अहिले नेपाल पुलिसमा आबद्ध कुशलले त्यही सिकेका छन् । टोलीमा परेका बेला होस् वा अन्य समय, बिहानै उठेर रनिङ गर्ने, दिउँसोभरी क्रिकेट अभ्यास गर्छन् र साँझ समयमै सुत्ने बानी कहिल्यै हटेको छैन ।

‘क्लबमा आफ्नै नियमअनुसार हुन्छ । घर आएका बेला ऊ ४ बजे नै उठ्छ । त्यसपछि रनिङ गर्ने, जिम जाने, अभ्यास गर्ने र साँझ समयमै सुत्ने गर्छ,’ दीपकले भने, ‘छोराको सफलतामा को खुसी हुँदैन ।

अहिले म मात्रै नभएर उसकी आमा र उसलाई सहयोग गर्ने सबैजना खुसी भएका छौँ । तर, एकपटक राम्रो गरियो भनेर मात्र पुग्दैन । मिहेनत जीवनभर जारी राख्नुपर्छ ।’ 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अन्वेषण अधिकारी
अन्वेषण अधिकारी
लेखकबाट थप