शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कर्णाली प्रदेश अस्पताल : अक्सिजन सिलिन्डर खोसाखोस गर्दै बिरामीका आफन्त (भिडियो)

चिकित्सक भन्छन्–अवस्था कठिन भइसक्यो
आइतबार, १९ वैशाख २०७८


सुर्खेत । शनिबार साँझ कर्णाली प्रदेश अस्पतालको एउटा भिडियो सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक भयो । उक्त, भिडियोमा बिरामीहरूका आफन्तले सिलिन्डर तानातान गरिएको देख्न सकिन्छ । यसबाटै सहज अनुमान गर्न सकिन्छ, कर्णालीमा अक्सिजनको चरम अभाव भइसकेको छ ।

‘यहाँ अक्सिजनको निकै अभाव छ । बेला–बेला आपूर्ति भइरहेको सिलिन्डर हामीले आफ्नो बिरामी बचाउनका लागि खोसाखोस गरेका हौँ,’ एकजना कुरुवाले रातोपाटीलाई भने, ‘एकातिर बेड पाउनै मुस्किल छ । अर्कातिर बिरामीलाई आवश्यक औषधि लगायत खानेपानी, शौचालयको समेत निकै समस्या भइरहेको छ ।’ अहिले बिरामीले अक्सिजन नै नपाएर मर्छ कि भन्ने अर्को चिन्ता थपिएको उनले बताए ।

कर्णालीमा सिलिन्डर सहज रुपमा आपूर्ति हुने ठाउँ छैन । अक्सिजनका लागि कर्णालीले छिमेकी लुम्बिनी प्रदेशको नेपालगञ्जको मुख ताक्नुपर्ने बाध्यता छ । यसअघि, प्रदेश सरकारले दैनिक १ सय ५० सिलिन्डर आपूर्तिको व्यवस्था मिलाएको जानकारी दिएको थियो । यद्यपि, पछिल्ला दिनहरुमा दैनिक सयौँको हाराहारीमा कोरोना संक्रमित थपिँदा सो सङ्ख्या अपुग भएको छ ।

प्रदेश सरकारका अनुसार प्रदेशभर ४ सय ठुला अक्सिजन सिलिन्डर रहेको दावी गरेको थियो । संघीय सरकारको मापदण्ड बमोजिम अस्पतालहरुमा सिलिन्डर आपूर्तिको व्यबस्था मिलाइएको भनिएपनि प्रदेश अस्पतालमै चरम अभाव हुने गरको छ । यसतर्फ भने सरकारले ध्यान दिन नसकेको चिकित्सकहरुको आरोप छ ।

अस्पतालका कोरोना फोकल पर्सन केएन् पौडेल भन्छन्, ‘हामीलाई दैनिक डेढ सय देखि २ सय सम्म चाहिने हो । तर, हामी कहाँ १ सय सिलिन्डर मात्र दैनिक नेपालगञ्जदेखि आउने गरेको छ ।’ 

उनका अनुसार बिरामीको चाप एकदमै बढेको हुनाले निकै समस्या भएको छ । उनले भने,‘ अवस्था कठिन छ । प्रदेश अस्पतालमा हाल ५० जनाभन्दा बढी बिरामीहरु हुनुहुन्छ । वहाँहरुलाई अक्सिजन दिइरहनुपर्ने अवस्था छ । समयमा अक्सिजन नआउँदा तानातान हुने अवस्था आएको हो ।’ अब थप बिरामी भर्ना लिन नसक्ने अवस्था आएको उनको भनाइ छ ।

पौडेलका अनुसार ‘कोभिड विशेष अस्पताल’ लाई उत्तरतर्फको पुरानो भवनमा सारिएको छ । पौडेलले भने, ‘१० जना गम्भीर बिरामी बाहेक अक्सिजन प्रयोग गरिरहेका अन्य बिरामीहरुलाई सार्ने काम भएको छ ।’ सो भवनमा सय जना कोरोनाका बिरामीको उपचार गर्न सकिने उनले बताए । 

कर्णाली प्रदेश सरकारले विकास बजेटबाट रकमान्तर गरेर प्रदेश अस्पताललाई २२ करोड रूपैयाँ पठाएको छ । सोही बजेटबाट संक्रमितको उपचारका लागि बेड थप्न लागिएको अस्पतालले बताएको छ । अस्पतालले कोभिड संक्रमितको उपचार गर्न एक सय बेड व्यवस्थापन गरिँदै छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया