मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

सडकमा प्रहरीलाई धर्मसङ्कट : ‘पीसीआर टेस्ट’ गर्न हिँडेको भन्छन्, समाउने कि छोड्ने ? (भिडियो)

आइतबार, १९ वैशाख २०७८

चेक पोइन्ट एक : गौशाला

आइतबार दिउँसो नेपाल  प्रहरी, सशस्त्र प्रहरी र ट्राफिक प्रहरी संयुक्त रूपमा गौशाला चोकमा सडकमा गुडेका सवारी जाँच गरिरहका थिए । सडकमा बढी मात्रामा निजी कार, ट्याक्सी र मोटरसाइकल गुडिरहेका थिए ।  यसरी सडकमा गुड्ने मोटर साइकल, निजी कार र ट्याक्सी चालकहरूले भन्थे– ‘एयरपोर्टमा आफन्त लिन हिँडेको । काठमाडौँ बाहिर जानका लागि एयरपोर्ट हिँडेको । एयरपोर्टबाट घर फर्किएको ।’

सडकमा सवारी ‘चेकपोस्ट’मा खटिएका प्रहरीका अनुसार अधिकांशले कि एयरपोर्ट हिँडेको, कि एयरपोर्टबाट घर फर्किएको बहाना बनाउने गरेका छन् । कतिपयको टिकट देखाउने गरे पनि अधिकांशले बिलौना गरेपछि छोड्नुपर्ने अवस्था रहेको बताउँछन् । एक प्रहरीले भने– ‘यहाँबाट एयरपोर्ट नजिक भएकाले धेरैले त्यसलाई बहाना बनाउन पाएका छन् । अहिले एयरपोर्ट खुला भएकाले धेरैजसो ट्याक्सी ड्राइभरले पनि एयरपोर्ट जान लागेको कि एयरपोर्टबाट फर्किएको भनेर बहाना बनाउने गरेका छन् ।’

केही मोटरसाइकल,  ट्याक्सी प्रहरीले सडक किनारमा रोकेर राखेको थियो ।

चेक पोइन्ट २ : ग्वार्को

ललितपुरको ग्वार्को चोकमा रहेको प्रहरी चेक पोइन्टमा रहेका प्रहरीका अनुसार धेरैजसो सवारीले कुनै न कुनै बहाना बनाएर हिँड्ने गरेका छन् । आफन्त बिरामी भएर भेट्न हिँडेको, उपचारका लागि अस्पताल हिँडेको, अत्यावश्यक काम परेकाले अलि अगाडिसम्म जान लागेको भनेर बिलौना गर्ने गरेका छन् । धेरैजसोले काममा हिँडेको भन्दै निजी कार्यालयको परिचयपत्र पनि देखाउने गरेको बताए । 

चेक पोइन्ट ३ : कोटेश्वर

आइतबार दिउँसो काठमाडौँ, भक्तपुर र ललितपुर प्रवेश गर्ने कोटेश्वर चोकमा पनि नेपाल प्रहरी, ट्राफिक प्रहरीले संयुक्त रूपमा निषेधाज्ञामा सवारी जाँच गरिरहेका थिए । सवारी जाँचमा खटिएका प्रहरीका अनुसार सडकमा निस्किएका  मोटरसाइकल,  ट्याक्सी, निजी कारका चालकहरूले कुनै न कुनै बहाना बनाउने गरेका छन् । कतिपयले बिरामी भएर अस्पताल जाने गरेका छन् भने कतिपयले कोरोनाको आशङ्कामा पीसीआर परीक्षण गर्न हिँडेको बताउने गरेका छन् । यस्तो अवस्थामा उनीहरूलाई छोड्ने कि समाउने, अप्ठ्यारो अवस्था सिर्जना हुने सडकमा खटिएका प्रहरी बताउँछन् । कोटेश्वर सडकमा खटिएका एक प्रहरीले भने– ‘अनेकथरी बहाना बनाएर हिँड्ने गरेका छन् । कोही बिरामी भएर अस्पताल हिँडेको  भन्छन् । कोही  कोरोनाको शङ्का लागेर पीसीआर परीक्षण गराउन हिँडेको भन्छन् । अनावश्यक रूपमा बाहिर हिँड्नेलाई हामीले समातेर दिनभरी सडक किनारामा राखिदिने गरेका छौँ  । पीसीआर जाँच गर्न भनेर हिँडेकालाई छोड्ने कि समातेर राख्ने हामीलाई अप्ठ्यारो छ ।’

उनले धेरैजसो खाद्यसामग्री बोकेका र पीसीआर परीक्षणका लागि भन्दै सवारी गुडाउनेहरू रहेको उनले बताए ।

सडकमा ५ हजार २ सय प्रहरी परिचालन

गत वैशाख १६ गतेदेखि सरकारले काठमाडौँ उपत्यकाका ३ जिल्लामा कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि २ साता लामो निषेधाज्ञा जारी गरेको छ । आइतबारदेखि निषेधाज्ञामा कडाइ गर्ने बताइए पनि सडकमा बाक्लो सङ्ख्यामा सवारी गुडेका छन्  ।

निषेधाज्ञा लागू गर्न काठमाडौँ उपत्यकामा ५ हजार २ सय प्रहरी परिचालन गरिएको छ । उपत्यकाभरी १ सय ५१ वटा होल्डिङ सेन्टर र स्पेसल चेक पोइन्ट ५६ स्थानमा कोन राखेर चेकजाँच भइरहेको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता एसपी सुशील सिंह राठौरले रातोपाटीलाई जानकारी दिए । 

यस्तै वृत्त र प्रभागका इन्चार्जहरूले आआफ्नो क्षेत्रमा पिकेट ड्युटी, मोबाइल र सीआरभी परिचालन गरेर आवागमनलाई निगरानी गरिरहेको उनले बताए ।

सहरका विभिन्न स्थानमा ट्राफिक र प्रहरीको संयुक्त र कत्तिपय ठाउँमा छुट्ट्रै गरी विशेष चेक पोइन्ट बनाइएको छ ।

आइतबार बिहान १ हजार १ सय ६२ मानिस तथा ४ सय ३८ सवारी होल्ड गरिएको राठौरले जानकारी दिए ।

निषेधाज्ञाको पहिलो दिन १६ गते २ हजार ५ सय ३८ मान्छे र २ हजार ३९ सवारी साधन समातिएको थियो ।  दोस्रो दिन १७ गते ४ हजार २ सय १९ मानिस र २ हजार २ सय ७८ सवारी साधानलाई होल्ड गरेर छाडिएको थियो । 

यस्तै तेस्रो दिन शनिबार बिदाको दिन भएकाले कम सङ्ख्यामा ३ हजार ७ सय २४ मानिस र १६ सय ७७  सवारी होल्ड गरेर छाडिएको प्रवक्ता राठौरले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया