नेपाल सुपर लिग : ललितपुर र पोखराबीचको खेल गोलरहित बराबरी

नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज भएको खेलमा ललितपुर सिटी एफसी र पोखरा थन्डर्सबीचको खेल गोलरहित बराबरीमा सकिएको छ । खेल बराबरीमा सकिएपछि दुवै टोलीले एक एक अङ्क बाँडेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सम्पन्न खेलमा दुवै टोलीबाट गोल हुन सकेन । मध्यान्तर अघिको खेलमा पोखराले आक्रामक खेल खेलेको थियो । मध्यान्तरपछिको खेलमा ललितपुर पोखरामाथि हावी भएको थियो । दुवै टोली गोल गर्नबाट भने चुके । खेलको आठौँ मिनेटमा पोखराका कप्तान नवयुग श्रेष्ठले गोल गर्ने प्रयास गरेका थिए । उनको प्रहार गोलपोस्ट नजिकैबाट बाहिरिन पुग्यो ।
यस्तै खेलको १४औँ मिनेटमा पोखराका मौसा अब्बाले गरेको प्रहार ललितपुरका गोलकिपर अर्पण कार्कीले रोके । खेलको २०औँ मिनेटमा पोखराका नवयुग श्रेष्ठले अर्को गोल गर्ने अवसर गुमाए । खेलको ३९औँ मिनेटमा पोखराका नितिन थापाको प्रहार गोलकिपर कार्कीले विफल पारेका थिए भने ४२औँ मिनेटमा पोखराका मोउसाले गरेको प्रहार गोलपोष्टबाट बाहिरिएको थियो ।
मध्यान्तरपछिको खेलमा पनि दुवै टोलीले गोलको प्रयास गरेका थिए । खेलको ५१औँ मिनेटमा ललितपुरका अञ्जन विष्टको गोल गर्ने प्रयासलाई विपक्षी खेलाडीले विफल पारे। यसैगरी खेलको ८१औँ मिनेटमा पोखराका मोउसाले गरेको गोलको प्रयास असफल भयो । खेलको ८६ औँ मिनेटमा ललितपुरका कप्तान अञ्जन विष्टले डिबक्स भित्रबाट गोलको प्रयास गरे । उक्त बल गोलमा भने परिणत हुन सकेन । बराबरी खेलेपछि पोखराको चार खेलमा पाँच अङ्क भएको छ । पोखरा लिगको तेस्रो स्थानमा छ ।
यस्तै ललितपुर चार खेलमा तीन अङ्क जोडेर छैटौँ स्थानमा छ । लिगमा हालसम्मको खेलको परिणामअनुसार धनगढी एफसी चार खेलमा सात अङ्कका साथ शीर्ष स्थानमा छ । बुटवल छ अङ्कका साथ दोस्रो, विराटनगर पाँच अङ्कसहित तेस्रो, काठमाडौँ रेजर्स चार अङ्कसहित पाँचौँ तथा चितवन दुई अङ्कका साथ लिगको पुछारमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गठबन्धनलाई पराजित गर्नुपर्छ, २०८४ मा एमालेको एकल बहुमतको सरकार बनाउनुपर्छ : केपी ओली
-
जीवास्म इन्धनबारे ओपेकको अडान जारी, वार्ता सकारात्मक टुङ्गोमा पुग्नेमा चीन आशावादी
-
गाजामा भएको हताहतका लागि अमेरिका नै जिम्मेवार हुनुपर्छ : अब्बास
-
पहिलेको तुलनामा सफा देखियो पशुपति क्षेत्र
-
एनसेल सेयर बिक्री प्रकरणको निष्पक्ष छानबिन गर्न माग
-
आयात प्रतिस्थापन गर्न उत्पादनमा जोड दिनुपर्छ : मुख्यमन्त्री शर्मा