बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

वैशाखमा गर्ने भनिएको कर्णालीकाे लगानी सम्मेलन स्थगित

सोमबार, २० वैशाख २०७८, २० : ४३
सोमबार, २० वैशाख २०७८


सुर्खेत । कर्णाली प्रदेश सरकारले गर्ने भनिएको लगानी सम्मेलन स्थगित भएको छ । कोरोना भाइरस (कोभिड–१९) लाई मध्यनजर गर्दै सम्मेलन स्थगित गरिएको हो । कर्णालीमा लगानीकर्ता आकर्षित गर्ने उद्देश्यका साथ प्रदेश योजना आयोगले  यही वैशाखमा लगानी सम्मेलन गर्ने गरी तयारी थालेको थियो ।

कर्णालीमा पछिल्लो समय कोरोना संक्रमितको ग्राफ ह्वात्तै बढेको छ भने मृत्युदर पनि बढिरहेको अबस्था छ । यो अवस्थामा लगानी सम्मेलन गर्न कठिन हुने आयोगको भनाइ छ ।

आयोगका सदस्य योगेन्द्र शाही चालु आर्थिक वर्षमा लगानी सम्मेलन गर्न नसकिने बताउँछन् । चालु आर्थिक वर्षमा नहुने निश्चित जस्तै भैसकेको छ,’ उनले भने, ‘हामीले मिति र स्थान निर्धारण नगरेकाले ठ्याक्कै स्थगित नै त भन्नु भएन् । कोरोनाका कारण केही समय रोकिने चाहिँ निश्चित भएको छ ।’

प्रदेश सरकारले पटक–पटक कर्णालीको विकास र आर्थिक समृद्धिका सहयोग गर्नका लागि लगार्नकर्ताहरुलाई आग्रह गरिरहेको थियो । कर्णालीमा  भित्र्याउनका लागि गत आर्थिक बर्षदेखि नै लगानी सम्मेलन गर्ने योजना बनाएको थियो । यद्यपि हालसम्म पनि सम्मेलन आयोजना गर्न सकेको छैन ।

गत पुस महिनामा बसेको योजना आयोगको बैठकले यही वैशाखमा सम्मेलन गर्ने निर्णय गर्दै त्यसको संयोजन गर्ने जिम्मेवारी आयोगका सदस्य योगेन्द्र शाहीलाई नै दिएको थियो । तर, यो पटक सम्मेलन नहुने भएको हो ।

‘जेठसम्ममा भएपनि गर्नुपर्छ कि भन्ने थियो,’ सदस्य शाहीले भने, ‘कोभिडको संक्रमण बढिरहेको छ यस्तो अवस्थामा केही समस्य रोक्नुपर्छ कि भन्नेमा पुगेका छौँ।’

उनका अनुसार लगानीका लागि परियोजना बैङ्कको ड्राफ्ट तयारीको काम भने अन्तिम चरणमा पुगेको छ । यसबीचमा बाँकी तयारीका कामहरु पूरा गर्ने र स्थिति सामान्य भएमा आउँदो आर्थिक बर्षको साउन–भदौ महिनामा लगानी सम्मेलन गर्ने मनस्थितिमा आफूहरु रहेको शाहीले बताए । 

‘परियोजना बैंकको ड्राफ्ट तयारीको काम लगभग तयार भैसकेको छ’ शाहीले भने  ‘बाँकी रहेका तयारीहरु यसबीचमा सक्छौँ । स्थिति सामान्य भए साउन भदौसम्ममा सम्मेलन गर्नेकी भन्ने छ ।’

यसबीचमा प्रदेश सरकार परिवर्तनको संघर्ष भएपछि लगानी सम्मेलन पनि केही प्रभावित भएको थियो । बैशाख पहिलो साता सम्म आयोग प्रदेशको राजनीतिक घटनाक्रमका कारण प्रभावित भएको बताउँदै आएको थियो ।

आयोगको अध्यक्ष स्वयम् मुख्यमन्त्री भएकाले प्रदेश सरकार परिवर्तनका लागि भएको संघर्षले सम्मेलनको अन्यौलता छाएको थियो । प्रदेशसभाबाट विश्वासको मत लिइ मुख्यमन्त्रीमा महेन्द्रबहादुर शाहीले नै निरन्तरता पाएपछि भने उनले नै अगाडि सारेको लगानी सम्मेलनको योजना कार्यान्वयन हुने विश्वास गरिएको थियो ।

लगानी सम्मेलन गर्न नसकेपनि भर्चुअल माध्यमबाट ‘प्रि–सम्मेलन’ गरिने सदस्य शाहीले जानकारी दिए । उनका अनुसार प्रि–सम्मेलनमा लगानीकर्ता, सरोकारवालाहरूलाई सहभागी बनाइ परियोजनाहरुको बारेमा जानकारी गराइनेछ भने सम्झौता भने सम्मेलनमै हुनेछ । विकासका हिसाबले पछाडी परेको कर्णालीलाई लगानीका लागि भने ‘भर्जिन ल्याण्ड’ का रुपमा परिभाषित गरिन्छ । कर्णालीमा लगानी गर्नेलाई प्रदेश सरकारले कर छुट दिने बताउँदै आएको भएपनि ठूला लगानीकर्ता भने हालसम्म आकर्षित हुन सकेका छैनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप