बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौंका एसएसपी भन्छन्–निषेधाज्ञामा थप कडाइ गर्छौं

‘अब बिना काम बाटोमा हिँड्नेलाई होल्ड हैन, कारवाही हुन्छ’
सोमबार, २० वैशाख २०७८, २१ : ४२
सोमबार, २० वैशाख २०७८

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी भएको आज पाँचौ दिन भएको छ । निषेधाज्ञाको बीचमा पनि सडकमा सवारी र पैदल हिँड्नेहरू बाक्लै देखिएका छन् । निषेधाज्ञाको आदेश पालना गराउने मुख्य निकाय प्रहरी हो । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख अशोक सिंहले रातोपाटीसँग कुरा गर्दै निषेधाज्ञालाई ‘थप कडा बनाउने’ बताएका छन् । विमानस्थल बन्द गर्ने निर्णय भएको अवस्थामा अब निषेधाज्ञाको आदेशलाई कसरी कार्यान्वयन गरिन्छ भनेर काठमाडौं प्रहरी प्रमुख सिंहसँग रातोपाटीले गरेको संक्षिप्त कुराकानी :

निषेधाज्ञाबीच पनि सडकमा बाक्लै भीड देखिन्छ । प्रहरीले निषेधाज्ञालाई कार्यान्वयन गर्न नसकेको हो ?

स्थानीय प्रशासनले निर्णय गरेका बुँदा अनुसारको आदेश हामीले पूर्णरुपमा कार्यान्वयन गरेका छौँ । खासगरी अत्यावश्यक सामग्री ढुवानी गर्ने सवारी साधनहरुलाई मुख्य नाकामा आवतजावत गर्न रोकेका छैनौँ । उपत्यका प्रवेश गर्न खोज्ने निजी र सार्वजनिक सवारीलाई नाकाबाट आउन दिएका छैनौँ । सरकारी कार्यालय र विमानस्थल पनि खुला भएको अवस्था छ । करिब ५० प्रतिशत सवारी साधान विमानस्थल आवतजावतको कारणले बढेको देखिन्छ ।

बैङ्क र वित्तीय संस्था खुलेको अवस्था छ । विहान १० बजेसम्म र साँझ ५ बजेबाट किनमेलका लागी किराना पसल र डिपोर्टमेन्टल स्टोर खुलेको छ । त्यसले गर्दा पनि मुभमेन्ट बढेको जस्तो देखिएको छ ।

विवाह र व्रतबन्धमा १५ जना आवतजावत गर्न नपाउने आदेश छ । संस्कृति र परम्परालाई सम्मान गरेर सो मापदण्ड तोकिएको अवस्था छ । यस्ता विभिन्न मापदण्ड बनाएर सहजता गर्न खोजिएको हुनाले पनि मुभमेन्ट देखिएको हो ।

दिउँसोको सयममा पूर्ण रुपमा आवागमन बन्द छ । साँझ र विहान मुभमेन्ट भएको हो । गत हप्ताको निर्णयमा परिमार्जन गरेर अब कडाइका साथ अगाडी बढने भन्ने छलफल भएको छ । हामी त्यही हिसाबले कार्यान्वयन गर्छौँ ।

जनतालाई सहज हुनेगरी निषेधाज्ञा जारी भएको छ । पूर्णभन्दा पनि यो ‘सेमी’ निषेधाज्ञा जारी गरिएको हो । अब, मन्त्रिपरिषद्को निर्णय अनुसार निषेधाज्ञालाई थप कडाइ गर्छौँ ।

नाकामा कतिको चाप छ, कसरी व्यवस्थापन गर्नुहुन्छ ?

अत्यावश्यक सामग्री ढुवानी गर्ने सवारी साधनबाहेक अरु सवारीलाई हामीले नाकाबाट इन्ट्री गराएका छैनौँ । नाकामा एक्जिट हुने गाडीहरुलाई समय मिलाएर पठाउँछौं । तर, सकेसम्म त्यसलाई पनि डिस्करेज गरेका छौं । उपचारका लागि अस्पताल जानुपर्ने बिरामी र मृत्यु कर्ममा जानेहरूका लागि मानवताका हिसावले सहजीकरण गरेका छौं ।

विभिन्न समस्याहरु छन्, प्रहरीले फिल्डमा ति समस्या बुझेर कसरी व्यवस्थापन गर्न सकिन्छ भनेर सक्रिय हिसाबले लागेको अवस्था छ । अहिले गाडीको मुभमेन्ट देखिएको छ तर, पूर्णरुपमा कडाइका साथ जाने कुरामा छलफल भएको छ । विमानस्थल बन्द गर्ने निर्णय भैसकेको अवस्थामा अब अनावश्यक आवातजावत ठप्प बनाउँछौं ।

मान्छेहरु बाहिर निस्किरहेका छन्, पाँचौ दिन हुँदा पनि होल्ड बाहेक अरु कारवाही किन गरिएन ?

वहाँहरुलाई होल्डिङ जोन बनाएर काउन्सिलिङ गरेर पठाएको अवस्था थियो । अब कारवाहीको रसिद पनि सबै युनिटलाई पठाएको अवस्था छ, अब कारवाही हुन्छ । सचेत गराउँदा पनि निषेधाज्ञा उल्लंघन गरेर घर बाहिर निस्कनेलाई संक्रामक रोग ऐन–०२० अनुसार कारवाही गर्छौं । सडकमा आउँदा समस्या लिएर आएका हुन्छन् ।  बहानाबाजी गर्ने पनि नहोला भन्न सकिन्न । जनता आफैं जिम्मेवार र सजग हुन जरुरी छ । ‘हाम्रो कारणले संक्रमण बढ्न सक्छ’ भनेर सर्वसाधारणले पनि सोच्न जरुरी छ ।

अहिलेको निषेधाज्ञा कार्यान्वयन गराउन काठमाडौँमा कत्ति प्रहरी खटिएका छन् ?

काठमाडौं जिल्लामा तीन सिफ्टमा करिब ४५ सयको हाराहारीमा प्रहरी जनशक्ति परिचालन गरेका छौं ।

प्रहरी आफैं संक्रमित भइरहेका छन् । कतिको समस्या छ आदेश कार्यान्वयन गर्न ?

प्रहरी कर्मचारीमा संक्रमण बढेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको मातहतमा अहिलेसम्म २३ जनामा संक्रमण देखिएको छ । संक्रमितलाई हामीले आइसोलेट गरेर उपचार गराइरहेका छौं । अहिले नै त्यस्तो समस्या छैन । हामीले कोभिड–१९ को प्रोटोकल फलो गरेर आफु सुरक्षित भएर सेवा प्रवाह गर्न हाम्रो जनशक्तिलाई परिचालन गरेको अवस्था छ । 

गतवर्ष मास्क, सेनिटाइजर लुकाउनेमाथि कारवाही भएको थियो, यसपटक कारवाही गरिएको देखिएन् । कालोबजारी नभएको हो कि तपाईंहरुले थाहा नपाएको ?

हाम्रो सम्पूर्ण टिम परिचालन भएको छ । इन्टेलिजेन्स डेभलप गरिरहेका छौँ । मनिटरिङ पनि गर्दै छौं । मास्क र सेनिटाइजरबाहेक उपभोग्य सामग्री कसैले कालोबजारी गर्ने र होल्ड गरेर कृत्रिम अभाव सिर्जना गर्नेलाई निगरानीमा राखेका छौँ ।

त्यस्तो भेटिएमा नियन्त्रणमा लिएर आवश्यक कारवाही गर्छौँ । जिल्ला प्रशासन अन्तर्गतको अनुगमन समितिले अनुगमन गरिरहेको अवस्था छ । पुराना कालोबजारीमा संलग्नहरूलाई पनि निगरानीमा राखेका छौँ । कालोबजारी हुनसक्ने ठाउँ र गर्ने मान्छेहरु हाम्रो निगरानीमा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप