शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

निषेधाज्ञामा कसरी सञ्चालन भइरहेका छन् उद्योग ? (भिडियाे)

'सहकर्मी नै सङ्क्रमित भएपछि अत्तालिएका छौँ'
मङ्गलबार, २१ वैशाख २०७८, ११ : ५१
मङ्गलबार, २१ वैशाख २०७८

काठमाडौँ । यतिबेला मुलुक कोभिड–१९ को दोस्रो लहरको तीव्र सङ्क्रमणबाट जर्जर अवस्थामा छ । यस्तो अवस्थामा अहिले सरकारले रक्षात्मक रणनीतिका रूपमा निषेधाज्ञा गरेको छ । यद्यपि सङ्क्रमण भने अझै  रोकिएको छैन । निषेधाज्ञाको असर यतिखेर मुलुकको अर्थतन्त्र, बजार, उद्योग, कलकारखानामा परेको छ । निषेधाज्ञाकै कारण यी क्षेत्रले अहिले सहज तरिकाले सञ्चालन हुन सकेका छैनन् भने बजारको अभावले व्यवसाय चौपट भएको छ । निषेधाज्ञाकै कारण करिब ५० प्रतिशत उद्योग बन्द भइसकेका उद्योगीहरुको भनाइ छ ।

त्यसो त सरकारले सामान्य उत्पादनबाहेक अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योगहरुलाई निषेधाज्ञामा समेत निर्वाध सञ्चालन गर्न दिने भनेको छ  । तर ती उद्योगहरु पनि निषेधाज्ञाको तीव्र चपेटामा परेका छन् ।

निषेधाज्ञाकै बीच सञ्चालित यी उद्योगहरूले अहिले कसरी काम गर्दै छन् ? कर्मचारी व्यवस्थापन कसरी गर्दैछन् अनि उत्पादन र बजारको अवस्था के छ ? यिनै प्रश्नमा केन्द्रित भएर राजधानीभित्रै पाटन औद्योगिक क्षेत्रमा सञ्चालित अत्यावश्यक उत्पादनको क्षेत्र एक डेरी उद्योगको स्थलगत रिपोर्टिङ गरेका छौँ । पाटन औद्योगिक क्षेत्रभित्र सञ्चालित संयुक्त डेरी एन्ड फुडस् प्रालिका सञ्चालक तथा निर्देशक कुलप्रसाद घिमिरेसँग कुराकानी गरेका छौँः

निषेधाज्ञाकै बीच काम कसरी भइरहेको छ ? स्वास्थ्य सुरक्षाको सावधानी र कर्मचारी व्यवस्थापन कसरी गर्दै हुनुहुन्छ ?

कोभिड–१९ को दोस्रो लहरको समय भएकाले स्वास्थ्य सुरक्षाका अधिकतम विधि अपनाएर डेरी उद्योग सञ्चालन गरिरहेका छौँ । कर्मचारी व्यवस्थापनदेखि उत्पादन र बजारीकरणमा समेत संयमित तरिकाले अघि बढिरहेका छौँ । उद्योगमा कार्यरत कर्मचारीका लागि मास्क, स्यानिटाइजर, पीपीई अनिवार्य गरिएको छ । बाहिरबाट आएका जोकोहीलाई सीधै उद्योगमा प्रवेशमा रोक लगाइएको छ ।

डेरी अत्यावश्यक उत्पादनको क्षेत्रभित्र पर्ने उद्योग भएकाले सबै कर्मचारीलाई बिदा दिन वा कटौती गर्न सकिएको छैन । तर हामीले अधिकतम ३० प्रतिशत कर्मचारीलाई बिदा दिएर ७० प्रतिशत कर्मचारीलाई नियमित काममा लगाएका छौँ । यो बिदा बेतलबी भने होइन, रोटेसनमा काम गर्ने गरी ७०/३० को व्यवस्था गरेका हौँ ।  

डेरी उद्योग पनि निषेधाज्ञाको प्रभावबाट अछुतो छैन । हामी निकै प्रभावित भएका छौँ । कर्मचारी व्यवस्थापनको चुनौतीसँगै हामीलाई अहिले कृषकहरूको दूध सङ्कलन, उत्पादन र बजारीकरणमा समस्या परेको छ । निषेधाज्ञाकै कारण अहिले दुग्धजन्य वस्तुको बजार खपत झण्डै ६० प्रतिशतले घटिसकेको अवस्था छ । अझ यस्तै अवस्था कति दिनसम्म जान्छ भन्ने हो । यसरी नै मुलुक लामो समयसम्म निषेधाज्ञामा गयो भने हामी पनि डुब्ने प्रायः निश्चित छ ।

‘सहकर्मीलाई नै कोरोना लगेपछि निकै अत्तालिएको छु’

सुरुसुरुमा कोभिड–सोभिड केही होइन भन्ने लागेको थियो । गत वर्ष त्यति लामो समय लकडाउन हुँदा पनि कहिल्यै काम रोकिनँ । साथीहरुले अब उद्योग बन्द गरौँ भने तर मैले नै आत्तिएर हुँदैन, उद्योग त निर्वाध सञ्चालन गर्नैपर्छ भनेर चलाएको थिएँ । तर अहिले मेरै सातो गएको छ ।

अस्ति भर्खर ललितपुर चापागाउँको नवप्रवाह डेरीका प्रबन्धक (सञ्चालक) कमलराज हुमागाईं कोरोनाका कारण बित्नु भयो । यसले त मेरो होस् हवासै उडाएको छ । भनौँ, आफ्नै सहकर्मीलाई कोरोनाले लगेपछि निकै अताल्लिएको छु ।

‘डेरी उद्योग क्षेत्रका मजदुरलाई किन भ्याक्सिन दिँदैन सरकार ?’

यो राज्यले आर्मी, प्रहरी पत्रकार सबैलाई कोभिड विरुद्धको भ्याक्सिन लगाइदियो । विभिन्न क्षेत्रका कर्मचारीले भ्याक्सिनको सुविधा पाए । तर हामी डेरी क्षेत्रमा काम गर्नेहरु भने अहिलेसम्म प्राथमिकतामा पर्न सकेनौँ । राज्यले यो क्षेत्रलाई पनि प्राथमिकताका आधारमा भ्याक्सिनको सुविधा दिनु पर्दैन ?

धेरै जोडबल गर्दा यो क्षेत्रलाई पनि कोभिड विरुद्धको भ्याक्सिन दिने त भनियो तर अस्ति हामी घण्टौँघण्टासम्म लाइनमा बस्दासमेत पाएनौँ । कहिले भ्याक्सिन सकियो रे, कहिले कार्ड सकियो रे । लामो लाइनले गर्दा हामी भ्याक्सिन पाएनौँ । सहज रूपमा कोभिडको सुई मात्र पाएको भए पनि हाम्रो आत्मबल बढ्थ्यो कि भन्ने लागिरहेको छ । प्राथमिकताका आधारमा सरकारले यो क्षेत्रलाई पनि भ्याक्सिन उपलब्ध गराओस् भन्ने चाहन्छु ।

विस्तृतमा भिडियो रिपोर्टमार्फत...

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप