ad
केन्द्रीय संस्करण
महामारीको मारमा उद्योग प्रतिष्ठान

सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योगले उत्पादन कटौती गर्दै

कोरोना महामारीका कारण १० हजारभन्दा बढी बेरोजगार

person explore access_timeबैशाख २१, २०७८ chat_bubble_outline0

विराटनगर । कोरोना महामारीको कारण सुनसरी–मोरङ औद्योगिक करिडोरमा सञ्चालित ठुला उद्योग मारमा परेका छन् । ती उद्योगले मजदुर कटौती गरी दुई सिफ्टमा उद्योग चलाउन थालेका छन् ।

औद्योगिक करिडोरमा रहेका खाद्यान्न र स्वास्थ्य सामाग्री उत्पादन गरिरहेका बाहेकका उद्योगले आफ्ना उत्पादनसँगै कार्यरत मजदुर पनि एकसाथ कटौती गर्न थालेका हुन् ।

महामारी रोकथाम र नियन्त्रण गर्ने स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञापछि करिडोरमा ठुला उद्योगमा कार्यरत करिब एक तिहाइ अर्थात् करिब १० हजार मजदुरको रोजगारी गुमेको छ । कोशी राजमार्ग आसपासको क्षेत्रमा रहेको औद्योगिक कोरिडोर क्षेत्र सुनसरी र मोरङ जिल्लामा पर्दछ । त्यहाँका दुवै स्थानीय प्रशासनले जिल्लामा निषेधाज्ञा जारी गरेका छन् ।

कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनले गरेको निषेधाज्ञासँगै एकपछि अर्को उद्योगले उत्पादन कटौतीसँगै मजदुर कटौती थालेका हुन् । उद्योग आंशिक क्षमतामा सञ्चालन गर्ने शिलशिलाका कारण ठूलो संख्यामा मजदुरले रोजगारी गुमाउने अवस्था आएको हो ।

यही बीचमा धेरै उद्योगमा कार्यरत मजदुर कोराना संक्रमित बनेका छन् ।

कोरोना महामारी फैलनुअघि उक्त करिडोरमा ५० हजार मजदुर कार्यरत थिए । अहिले तीमध्ये १० हजार बेरोजगार भएका छन् । १४ हजारले आंशिक रोजगारी पाएका छन् भने २१ हजार मजदुरले पूर्णकालिन रोजगारी पाइरहेका छन् ।

मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाका अनुसार ठूला उद्योगले कोरोनाको दोश्रो कहर सुरु भएसँगै निषेधाज्ञा लगायतका कारण ३० प्रतिशतसम्म उत्पादन कटौती गरेका छन् । ती उद्योगको सञ्चालन अवधि तीन सिफ्टबाट दुुई सिफ्टमा झारिएको छ । कतिपय १२ घण्टा सञ्चालन हुँदै आएका उद्योग अहिले ८ घण्टामा झरेको अध्यक्ष मुन्दडाले बताए ।

साना तथा मझौला उद्योगमा उत्पादन घटेपछि त्यसमा काम गरिरहेका ३० प्रतिशत अदक्ष कामदार पूर्ण बेरोजगार बनेका हुन् ।

सुनसरी–मोरङ औद्योगिक करिडोर भित्रका सबैभन्दा बढी मजदुर कार्यरत अरिहन्त मिल्टफाइवर्स र रघुपति जुट मिलका सञ्चालक राजकुमार गोल्छाले तीन सिफ्ट चलिरहेका दुुवै उद्योग अहिले दुई सिफ्टमा मात्र चलिहरेको बताए । एक सिफ्ट बन्द हुँदा ३० प्रतिशत मजदुर काम विहीन बनेका छन् । ‘मुख्यतः हाम्रो बजार भारत हो,’ गोल्छाले भने, ‘भारत अहिले पुर्ण लकडाउनमा छ ।’ यस्तो अवस्थामा उत्पादन कटौतीको विकल्प नभएको उनले बताए । उत्पादन कटौती भएसँगै मजदुर संख्यामा स्वाभाविक रुपमा कटौती हुने उनले बताए ।

गोल्छाले उद्योगले उत्पादन गर्ने सनपाटको मालबस्तु ९५ प्रतिशत भारतको बजार खपत हुँदै आएको बताए । तर भारत पुरै लकडाउन भएकाले उत्पादित ठुलो परिमाणको मालबस्तु गौदाममा थन्किएको उनको भनाइ छ ।

अरिहन्त मल्टिफाइवर्समा ४ हजार ५ सय मजदुर र रघुपति जुटमिलमा २ हजार ५ सय मजदुर कार्यरत रहेकोमा कोभिड १९ को महामारीको दोश्रो कहर सुरु भएयता दुई हजार एक सयले रोजगारी गुमाइसकेका छन् । जसमा भारतीय मजदुर पनि छन् ।

इटहरीको खनारमा रहेको रिलायन्स स्पेनिङ मिल्समा चार हजार मजदुर कार्यरत छन् । रिलायन्सका प्रशासन प्रमुख महेश पोखरेलका अनुसार उद्योगले ३० प्रतिशत उत्पादन कटौती गरेको छ । उनका अनुसार स्थायी मजदुरलाई उद्योगले कामको दिन घटाएर आलोपालो काम दिइरहेको छ । सञ्चालनमा रहेका उद्योगमा सरकारको स्वास्थ्य प्रोटोकललाई कडाईका साथ लागु गरिएको प्रमुख पोखरेलले बताए ।

करिडोरमा रहेका जुट, धागो, चाउचाउ, तेल, चामल, दुध, साबुन, कुकिज, दाना उत्पादन गर्ने उद्योग हाल सञ्चालनमा छन् । सञ्चालित उद्योगहरूले ६० देखि ७० प्रतिशतमात्र उत्पादन गरिरहेका छन् । पछिल्लो समय कोरोना महामारीका बीचमा स्वास्थ्य सामग्री उत्पादन गर्ने केही उद्योग भने थपिएका छन् ।

प्रदेशकै ठुलो करिडोर

चालीसको दशक(०४१–४९)सम्म सुनसरी–मोरङ औद्योगिक क्षेत्रमा उद्योगहरू गुल्जार थिए भने रोजगारीको अवसर प्रशस्त थियो ।

उद्योगबाट उत्पादित वस्तुमध्ये ५० प्रतिशतभन्दा बढी निर्यात हुन्थ्यो । तर, ५० को दशकसँगै उद्योगहरू बन्द हुने क्रम सुरू भयो । खासगरी सशस्त्र माओवादी द्वन्द्व र बीचमा भएका लोडसेडिङका कारण धेरै उद्योग बन्द हुन पुगेको उद्योगीहरू बताउँछन् ।

प्रजातन्त्रको उदयसँगै तीन दशकको अवधिमा यो क्षेत्रका नयाँ लगानीका उद्योगहरू खुल्ने भन्दा पनि बन्द हुने क्रम बढेको छ । पूर्वी नेपालमै ठुलो क्षेत्रफलमा फैलिएको सुनसरी–मोरङ औद्योगिक क्षेत्रमा मुलुकमा प्रजातन्त्रको उदयसँगै तीन दशकको अवधिमा सञ्चालन भएका १ सय ७ वटा ठूला उद्योग बन्द भएका छन् ।

२०४६ सालसम्म यस औद्योगिक करिडोर क्षेत्रमा निर्यातमुखी ठूला उद्योगको संख्या १ सय ५० वटा रहेकोमा अहिले जम्मा ४३ वटामात्रै छन् । ३० वर्षको अवधिमा करिडोरमा निर्यातमूखी ठूलासहित १ सय ७ वटा उद्योग बन्द भएको उद्योग संगठन मोरङका पुर्वअध्यक्ष भीम घिमिरेले जानकारी दिए ।

वैदेशिक लगानी रहेको वंशल नेपाल, क्रिस्टेन, लिगश नेपाल र सूर्य नेपालजस्ता नाम चलेका एक दर्जन उद्योग गणतन्त्रको उदयसँगै बन्द भएका छन् । बन्द  भएका ती एउटै उद्योगमा १ अर्ब रुपैयाँभन्दा बढी लगानी थियो ।

उद्योग विभागको तथ्याङ्कअनुसार सुनसरी–मोरङ औद्योगिक करिडोर लगायत आसपासका क्षेत्रमा अहिले साना ठूला गरी ६६५ उद्योग सञ्चालनमा छन् । जसमध्ये ठूला र मझौला गरी १५० र बाँकी साना उद्योगमात्र सञ्चालनमा छन् । करिडोर क्षेत्रमा सञ्चालनमा रहेको उद्योगहरूमध्ये १९ प्रतिशतले मात्र अहिले उत्पादित मालबस्तु विदेशसम्म निर्यात गर्ने गरेका छन् ।

उद्योग संगठन मोरङका अध्यक्षका अनुसार मुख्यतः४० बढी निर्यातमुखी उद्योगहरू र अन्य जुट उद्योग,गार्मेन्ट, कपुर, वनस्पति घ्यु, मैनबत्ती उत्पादन गर्ने ठूला क्षमताका उद्योगसमेत अब बन्द हुने भएका छन् । यसअघि बन्द भएका उद्योगहरूमा मात्रै कम्तीमा २३ अर्ब रुपैयाँ लगानी भएको थियो ।

अशोक टेक्सटायल, प्रभात टेक्सटायल लगायत आधा दर्जनभन्दा बढी टेक्सटायल उद्योगहरू बन्द भइसकेका छन् । मोरङ–सुनसरीमा मात्र ११ वटा ठूला जुट उद्योगहरू सञ्चालनमा थिए । तर अहिले चार वटामात्र सञ्चालनमा छन् । अरु बन्द भइसकेको उद्योगी राजकुमार गोल्छाले बताए ।

त्यसैगरी हेटौंडा र स्वदेशी आइरनजस्ता फलाम उद्योग, कर्कट पाता र पाइप उद्योगहरू पनि बन्द भइसकेका छन् । करोडौंको लगानी गरी दुहवीमा स्थापना भएको वंशल इण्डष्ट्रिज नामको पाइप उद्योग सञ्चालन नै हुन नसकेर बन्द भएको छ । अम्बे, साङ्ग्रिला इन्टरनेशनल, अमी, जेडी, इजी वेयर, फेसन फेब्रिकजस्ता तयारी पोशाकका ठूला उद्योग र दर्जनौं साना उद्योगहरू यस बीचमा बन्द भएका हुन् । विदेशी लगानीका बंशल नेपाल, क्रिस्टेन लगायत करिब एक दर्जन उद्योग बन्द भएका छन् । बंशल, क्रिस्टेनले कर्कट पाता र जिआइपी पाइप उत्पादन गरी भारत लगायतका मुलुकमा निर्यात गर्ने गरेको थियो ।

उद्योगी–व्यवसायीका अनुसार राजनीतिक अस्थिरतासँगै त्यसैको प्रभावस्वरुप बन्द–हड्ताल, श्रमिक आन्दोलन, विद्युत् अभाव, यातायात अवरोधसँगै सरकारी नीतिका कारण यी उद्योग सदाका लागि बन्द हुन पुगेका हुन् । ठूला स्वदेशी लगानीका पशुपति सावुन,अन्नपूर्ण सप, नेशनल पाइप लगायतका दर्जन बढी नाम चलेका उद्योगहरू पनि यही अवधिमा बन्द भएका छन् ।

३० वर्षयता यो करिडोरमा भएका ठूलो उद्योग त बन्द भए नै, नयाँ ठूला उद्योग समेत सञ्चालनमा आउन सकेका छैनन् । ठूला उद्योग सञ्चालन गर्न खर्च पनि ठूलो हुने र लगानी सुरक्षा समेत नहुने हुँदा नयाँ उद्योग सञ्चालनमा नआएको उद्योग संगठन मोरङका पूर्वअध्यक्ष घिमिरेले बताए । उनले कोरानाको महामारीले उद्योग थपिने क्रमको ढोका बन्द गरिदिएको बताए ।

‘वर्तमान अवस्थामा सरकारको आर्थिक नीति उद्योगलाई दोहन गर्नतर्फ मात्र केन्द्रित देखिन्छ,’ पूर्व अध्यक्ष घिमिरेले भने, ‘उद्योगको संरक्षण नहुने, संघीयताको नाममा विभिन्न खालको करको चपेटामा पार्नेजस्ता काम भएका छन्, यस्तो अवस्थामा नयाँ लगानीमा उद्योग खोल्ने कुरा त कल्पना पनि गर्न सकिन्न, जेनतेन सञ्चालनमा रहेका उद्योगहरू पनि महामारीले समस्याग्रस्त छन् ।’

पछिल्लो समय कोरोनाको महामारी सुरू भएपछि खुलेका उद्योग जोगाउन पनि गाह्रो भएको उनले बताए ।

रोजगारी गुम्दै

उद्योग विभागका अनुसार सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योगमा अहिले पाँच अर्ब रुपैयाँ लगानी भएको छ । तर, पछिल्ला तीन दशकमा ठूला लगानीका सहित १ सय बढी उद्योग बन्द भएपछि ती उद्योगमा कार्यरत ३० हजार मजदुरले रोजगारी गुमाइसकेका छन् ।

उद्योग संगठन मोरङका अनुसार सुनसरी–मोरङ औद्योगिक करिडोर क्षेत्रमा सञ्चालन भएका उद्योगमा अहिले ५० हजार मजदुरले रोजगारी पाएका छन् । दुई वर्ष अघि सो औद्योगिक क्षेत्रमा ८० हजार मजदुर कार्यरत थिए । बिचमा विभिन्न कारणले उद्योगहरू बन्द भएयता करिडोरबाट ३० हजार मजदुरले रोजगारी गुमाएका हुन् ।

हाल मोरङ–सुनसरी औद्योगिक करिडोरका उद्योगले जुट, चाउचाउ, बिस्कुट, तेल, मैदा, रिफाइनरी तेल, छाला, जुत्ता, चप्पल, धागो, साबुन, वायर, रड, स्टील, कर्कट पाता, प्लाष्टिकका सामान, सिमेन्ट, दाना, बिजुलीको तार, जीआइ पाइप, चामललगायत वस्तु उत्पादन गर्दै आएका छन् ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.