केन्द्रीय संस्करण

नेतन्याहुलाई बहुमत सिद्ध गर्न मङ्गलबार मध्यरातसम्मको समयसीमा

person explore access_timeबैशाख २१, २०७८ chat_bubble_outline0

जेरुसेलम । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुमाथि नयाँ गठबन्धन सरकार निर्माणका लागि मङ्गलबार मध्यरातको समयसीमा तोकिएसँगै इजरायलको राजनीतिमा तिब्र सरगर्मी शुरु भएको छ ।  प्रधानमन्त्री नेतन्याहुले बहुमत जुटाउन नसके १२ वर्षयता पहिलो पटक नेतन्याहुको दल लिकुड पार्टी सत्ता बाहिर पुग्नेछ । 

गत मार्च २३ यता प्रधानमन्त्री नेतन्याहुले संसदमा बहुमत हासिल गर्न सङ्घर्ष गरिरहेका छन् । दुई वर्षको अन्तरालमा चौथो पटक सम्पन्न संसदको चुनावबाट पनि कुनै पनि पार्टीलाई बहुमत प्राप्त भएको छैन । 

प्रधानमन्त्री नेतन्याहु नयाँ सरकार गठन गरी संसदमा बहुमत सिद्ध गर्न इजरायली राष्ट्रपतिले चार हप्ताको समयावधि तोकेका थिए । प्रधानमन्त्री नेतन्याहुले त्यसपछि आफ्ना विपक्षी र साना इस्लामिक अरब पार्टीसँग शृंखलाबद्ध छलफल गरे पनि कुनै सहमति जुट्न सकेको छैन ।

राष्ट्रपतिले प्रधानमन्त्री नेतन्याहुलाई दिएको समयसीमा आज मध्यराति समाप्त हुँदैछ । प्रधानमन्त्रीले बहुमत सिद्ध गर्न नसके राष्ट्रपति रुभेन रिभलिनले नयाँ कदम चाल्नुपर्नेछ ।  यद्यपि बहुमत सिद्ध गर्न नसके पनि नेतन्याहुको प्रधानमन्त्री पद गइहाल्ने छैन । राष्ट्रपति रिभलिनले नेतन्याहुलाई अरु दुई साताको समय दिन सक्नेछन् । अथवा, राष्ट्रपतिले विपक्षीलाई सरकार बनाउन आमन्त्रण गर्न सक्नेछन् र कुनै गठबन्धनमा सहमति नजुटे उनले संसदलाई नै निर्णय गर्न पठाउनेछन् ।

राष्ट्रपतिले संसदलाई नै नयाँ प्रधानमन्त्री छनौटका लागि जिम्मा दिएको अवस्थामा संसदले नयाँ प्रधानमन्त्री चुन्नेछ । यदि सबै विकल्पहरु असफल भए फेरि संसदको चुनाव हुनेछ । गत मार्च २३ मा सम्पन्न चुनावमा नेतन्याहुको लिकुड पार्टी संसदमा सबैभन्दा बढी स्थान जितेर पहिलो दल बनेको थियो । लिकुड पार्टीले १२० सदस्यीय संसदमा ३० स्थान जितेको थियो । तर सरकार गठन गर्न कम्तीमा ६१ स्थान आवश्यक पर्दछ । –एपी

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.