शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भिटामिन ‘डी’को जथाभावी प्रयोग, पत्थरीदेखि मिर्गौला ड्यामेज गराउने चिकित्सकको चेतावनी

बुधबार, २२ वैशाख २०७८, १३ : ४८
बुधबार, २२ वैशाख २०७८

काठमाडौं उपत्यकाका अधिकांश औषधि पसलहरुमा अहिले सबैभन्दा बढी बिक्री हुने औषधि भनेको भिटामिन सी र भिटामिन डी हो । कोरोनासँग लड्न प्रतिरक्षा प्रणाली (इम्युन सिस्टम) बलियो बनाउने भन्दै अहिले भिटामिन सी र भिटामिन डीको अत्यधिक बिक्री, वितरण र प्रयोग भइरहेको छ ।

तर, चिकित्सकको सल्लाहबिना जथाभावी भिटामिन डीको प्रयोग गर्दा यसले हड्डी दुखाउनेदेखि मिर्गौला ड्यामेज गर्नेसम्मको असर गर्ने चिकित्सकले चेतावनी दिएका छन् ।

भिटामिन सी र भिटामिन डी दुबैले इम्युनिटी बढाउने भए पनि शरीरमा यसको मात्रा बढी भएको अवस्थामा यसले झनै घातक असर गर्ने चिकित्सकले चेतावनी दिएका छन् । शरीरमा भिटामिन सीको मात्रा बढी हुँदा दिसा–पसिाबबाट बाहिर जाने भएकाले केही असर नगर्ने तर भिटामिन डीको मात्रा बढी भएमा शरीरमा नै बसिरहने भएकाले यसले मिर्गौला बिगार्नेदेखि हड्डी दुखाउनेसम्म असर गर्ने चिकित्सकको भनाइ छ ।

वीर अस्पतालका जनरल फिजिसियन प्राध्यापक डाक्टर विधाननिधि पौडेल शरीरमा भिटामिन डीको मात्रा बढी भएमा रगतमा क्याल्सियमको मात्रा बढ्न गई वाकवाकी लाग्ने, वान्ता हुने, कमजोर महसुश हुने र बारम्बार पिसाब लाग्ने हुन सक्छ । शरीरमा भिटामिन डीको मात्रा बढी भएको अवस्थामा हड्डी तथा जोर्नी दुख्ने, मिर्गौलामा पत्थरी हुने र मिर्गौला नै ड्यामेज पार्नेसम्मको समस्या हुन सक्छ ।

पौडेलका अनुसार अहिले धेरै मानिसहरुमा भिटामिन डीको कमी देखिएको भए पनि जथाभावी भिटामिन डीको बढी प्रयोग भने हानिकारक हुन सक्ने छ । पहिले रगत जाँच गरेर भिटामिनडी को मात्रा कति छ, हेर्ने र मात्रा कम भएको अवस्थामा मात्रै  चिकित्सकको सल्लाहअनुसार भिटामिन डी ट्याब्लेट खान मिल्ने उनी बताउँछन् ।

पाटन अस्पतालका वरिष्ठ चिकित्सक अर्जुन कार्की पनि शरीरमा भिटामिन डीको मात्रा बढी हुँदा यसले गम्भीर स्वास्थ्य समस्या ल्याउनसक्ने चेतावनी दिन्छन् । आवश्यकभन्दा बढी मात्रामा भिटामिन डी खाएमा त्यो विष समान हुने कार्कीको भनाइ छ । उनी भन्छन्, ‘शरीरमा भिटामिन डीको कमी छ भने त जाँच गरेर चिकित्सकको सल्लाहअनुसार खानु बेस नै हुन्छ । तर, इम्युनिटी पावर बढाउने भन्दै जथाभावी यसको प्रयोग गरे किड्नी ड्यामेज पनि गरिदिन सक्छ । शरीरलाई चाहिनेभन्दा बढी भिटामिन डी खाएमा त्यो टक्सिन बन्छ र टक्सिन भनेको विषजस्तो नै हो । त्यसकारण भिटामिन डी आफूखुशी खानुहुँदैन ।’

कार्कीका अनुसार अहिले नेपालमा धेरैलाई भिटामिन डीको कमी देखिएको भए पनि आफूखुशी मेडिकलबाट किनेर खानु गलत हो । रगत जाँच गरेर भिटामिन डी कमी देखिएको अवस्थामा भने ३ महिना, ६ महिना वा ९ महिनासम्म खानका लागि दिन सकिन्छ ।

तर, कमीको अवस्था हेरेर कति खाने भनेर चिकित्सकको सल्लाह (प्रेस्किप्सन) मा मात्रै खानुपर्ने कार्की बताउँछन् । जथाभावी खाएमा यसले हाइपर क्याल्सिेमिया गराउने र हाइपर क्याल्सेमियाले हड्डीमा समस्या ल्याउने तथा मिर्गौला लगायतका भागमा पत्थरी बनाउने कार्कीको चेतावनी छ ।

सामान्यता घामबाट पनि भिटामिन डी पाउने भएकाले घाममा हिँडिरहने वा काम गर्ने व्यक्तिहरुले घिटामिन डी खानु नपर्ने कार्की बताउँछन् । तर, कोठाभित्रै बसेर काम गर्ने वा घरभित्रै बसिरहने र खानपानमा ध्यान नदिनेहरुलाई भने भिटामिन डीको कमी हुन सक्ने उनी बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप