बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कोरोना संक्रमित शवको चाप बढेपछि पशुपतिमा थप १० वटा चिता निर्माण सुरु

बुधबार, २२ वैशाख २०७८, १८ : ४६
बुधबार, २२ वैशाख २०७८

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएकाहरुको शवको चाप बढेपछि पशुपति क्षेत्र विकास कोषले थप १० वटा चिता निर्माण थालेको छ । आज बिहानदेखि थप चिता निर्माण सुरु गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । बागमती खोलाको किनारमा बनाउन लागिएको चिता ३ दिनभित्र सक्ने विद्युतीय शवदाह गृहका प्रमुख सुवास कार्कीले रातोपाटीलाई जानकारी दिए । 

उनले भने– ‘कोभिडबाट मृत्यु भएकाहरुको शब बढेपछि आजदेखि १० वटा चिता निर्माण थालिएको छ । ३ दिनभित्र निर्माण पुरा गरिसक्छौँ ।’ कोरोना संक्रमण रहुञ्जेल सम्मका लागि अस्थाई प्रकृतिको चिता थप गरिएको उनले बताए । शब जलाउने मेसिनले नधानेपछि खोला किनारमा चिता थप गरेर दाह संस्कार सुरु गरिएको हो ।  

मंगलबार मात्र कोरोना संक्रमित ५५ जनाको शव जलाएको उनले बताए ।  कार्कीले भने–‘विद्युतीय शवदाह गृह अगाडि नेपाली सेनाले ल्याएको ५५ वटा शव हामीले हिजो व्यवस्थापन ग¥यौँ । यी शव खोलाको किनारमा र विद्युतीय शवदाह गृहमा जलाइएको हो ।’ 

यो आर्यघाटतिर जलाइएको शब बाहेकको आंकडा हो । मेसिनमा दैनिक २० देखि २५ वटा शब जलाउन सकिन्छ । मंगलबार मेसिन र चितामा बराबरी संख्यामा शव जलाइएको हो । 

तीन–चार घण्टा सुत्छन् शव जलाउने कर्मचारी 

कोरोना संक्रमित शवको संख्या बढेपछि विद्युतीय शवदाह गृहमा १० जना कर्मचारी थप गरिएको छ । आर्यघाटमा काम गदै आएका उनीहरुलाई कोरोना संक्रमितको शव जलाउने काममा खटाइएको हो ।  विद्युतीय शवदाह गृहका प्रमुख कार्कीले भने– ‘म विहान ५ बजे घाटमा पुगेको थिएँ, बल्ल दिउँसो ३ बजे खाना खाएँ । अरु कर्मचारीको अवस्था पनि यस्तै छ ।’

अहिले कोरोनाबाट संक्रमितको शव जलाउने काममा २४ जना कर्मचारी खटिएका छन् ।  उनले भने– ‘मेरो अहिले कामको चाप धेरै बढेको छ । बिहानै गएर चिता ब्यवस्थापन गर्नुपर्छ । रातीको १२ देखि १ बजेसम्म बस्नुपर्छ । बिहान ४ बजे उठेर फेरि व्यवस्थापनका लागि जुट्नुपर्छ । केही दिनदेखि दिनको तीन चार घण्टा पनि राम्रोसँग सुत्न पाएको छैन ।’

शव व्यवस्थापनका लागि कर्मचारीहरुले विहान ५ बजेदेखि दाउराको चिता बनाउन सुरु गर्ने गरेका छन् । सेनाले शब ल्याएपछि चितामा राखेर जलाउने काम सुरु गर्छन् । प्रत्येक बिहान २० वटा हाराहारी दाउराको चिता बनाउन थालिने उनले बताए । कोरोना संक्रमित शव दाहको कुनै शुल्क लिइएको छैन् । अहिलेसम्म शव दाहका लागि चाहिने सबै सामग्री पशुपति क्षेत्र विकास कोषले जुटाइरहेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप