शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कर्णालीमा २२ दिनमा ३४ संक्रमितको मृत्यु

सबै जिल्लामा निषेधाज्ञा तर बढेन परीक्षणको दायरा
बुधबार, २२ वैशाख २०७८, २० : ३५
बुधबार, २२ वैशाख २०७८

सुर्खेत । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण तीव्र गतिका बढेसँगै सुर्खेतमा बैशाख १४ गते देखि निषेधाज्ञा लागु गरियो । यस्तै कर्णालीमा अन्य जिल्लाहरूले पनि कोरोना संक्रमित र मृत्युदर बढेसँगै धमाधम निषेधाज्ञा लागू गरिएको छ । हाल प्रदेशका सबै जिल्लामा निषेधाज्ञा लागु भइसकेको अवस्था छ ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि भनेर निषेधाज्ञा गरिएपनि कर्णालीमा कोरोना संक्रमितको ‘ग्राफ’ भने दिनदिनै उकालो लाग्दो छ ।  पछिल्ला दिनहरुमा कोरोना परिक्षण गरिएका मध्ये ७० प्रतिशतमा कोरोना संक्रमण देखिने गरेको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ । निर्देशनालयका सूचना अधिकारी नोदनारायण चौधरीका अनुसार पछिल्लो २४ घण्टामा मात्र ४ सय ५७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । जसमध्ये सुर्खेत कोरोना संक्रमितको ‘इपिसेन्टर’ जस्तै बनेको छ । पछिल्लो २४ घण्टामा सुर्खेतमा २ सय ९२ जना नयाँ संक्रमित थपिएका छन् भने सक्रिय संक्रमितको संख्या सुर्खेतमा १ हजार पाँच सय ५१ रहेको छ । त्यसपछि धेरै संक्रमित भेटिएका जिल्लामा दैलेख, सल्यान रहेका छन् । कोरोना संक्रमितको ग्राफ उकालो लाग्दा भने निको हुनेको संख्या न्युन मात्रामा रहेको छ । पछिल्लो २४ घण्टामा जम्मा १९ जना मात्र डिस्चार्ज भएको छन् । वैशाखयता प्रदेशभर सक्रिय संक्रमितको संख्या २ हजार ७ सय ८५ जना रहेको छ ।

चौधरीका अनुसार कोरोना संक्रमित देखिनेमा ३० प्रतिशत महिला र ७० प्रतिशत पुरुष रहेका छन् । उनले भने, ‘१–१० वर्ष उमेर समुहका ४ प्रतिशत, ११– २० वर्ष उमेर समुहका  १४ प्रतिशत, २१–३० वर्ष उमेर समुहका ३६ प्रतिशत ३१ –४० बर्ष उमेर समुहका २५ प्रतिशत, ४१–५० वर्ष उमेर समुहका १२ प्रतिशत, ५१–६० बर्ष उमेर समुहका ६ प्रतिशत  रहेका छन् भने सो भन्दा माथि उमेर समुहका ३ प्रतिशतमा कोरोना संक्रमण देखिएको छ ।

निर्देशनालयका अनुसार अधिकांश संक्रमितहरु होमआइसोलेनमा रहेका छन् भने जटिल लक्षण भएका बिरामी मात्र अस्पतालमा छन् ।

वैशाखयता ३४ जनाको मृत्यु

चौधरीले दोस्रो लहर सुरु भएसँगै वैशाखयता ३४ जनाको कारोनाबाट मृत्यु भएको बताए ।  जसमध्ये सबैभन्दा धेरै सुर्खेतमा १८ जना रहेका छन् ।  यस्तै दैलेखका ३, सल्यानमका ७, रुकुमपश्चिमका ३, कालिकोटका १, र जम्लाका १ जनाको मृत्यु भएको  छ । पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु भएको छ ।   

बढेन परीक्षणको दायरा

संक्रमणको दर तीव्र गतिमा बढिरहेको भएपनि कोरोना परीक्षणको दायरा भने प्रदेशका कम रहेको छ ।  कतिपय लक्षण देखिएका कोरोनाका आशंकितहरूले समेत परीक्षण गर्न पाइरहेका छैनन् । पहिलो लहरमामा कर्णालीका चारवटा ल्याबबाट  आरटी–पीसिआर परीक्षण गरिएको थियो । ‘सो समयमा दैनिक ८ सय बराबर पीसीआर परिक्षण गरिन्थ्यो,’ निर्देशनालयका निर्देशक रविन खड्काले भने, ‘कोभिड सेलाएपछि सुर्खेत र रुकुमा रहेको ल्याब बन्द गरिएको थियो ।’ 

अहिले रुकुम चौरजहारी बाहेक अन्य तीन ल्याबबाट मात्र परिक्षण हुने गरेको छ । खड्काका अनुसार चौरजहारीको ल्याबबाट बिहीबारदेखि आरटी–पीसीआर परिक्षण सेवा शुरु गरिने छ । सुर्खेत, दैलेख, जुम्ला, रुकुम बाहेक अन्य जिल्लामा भने एन्टिजेन विधिबाट परिक्षण हुने गरेको उनले बताए  ।

उनका अनुसार सुर्खेतमा रहेको प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा दैनिक ३ सयको हाराहारीमा आरटी–पीसीआर परिक्षण हुने गरेको छ । यस्तै दैलेख अस्पतालमा ५० र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा एबरेजमा सयको हाराहारीमा आरटी–पीसीआर परिक्षण हुने गरेको छ । कुनै कन्फर्म गर्नुपर्ने भएपछि अन्य जिल्लाबाट पनि स्वाव ल्याएर आउने गरेको उनले बताए ।

जिल्ला तथा पालिकाहरूमा एन्टिजेन परीक्षणका लागि किट पठाइएको र लक्षण देखिएकाहरूको परीक्षण गर्ने काम भइरहेको उनले बताए । लक्षण देखिएका र क्लोज कन्ट्याक्टमा रहेकाहरूको परीक्षणमा जोड दिइएको छ । खड्काले संक्रमित बढेसँगै परिक्षणको दायरा बढाउने कार्य भइरहेको पनि बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप