शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चरीकोटमा अत्याधुनिक पिसिआर प्रयोगशाला शुरु

बुधबार, २२ वैशाख २०७८, २० : ४७
बुधबार, २२ वैशाख २०७८

चरिकोट । दोलखा जिल्लामा पहिलो पटक कोरोना भाइरसको परीक्षण गर्न पिसिआर परीक्षणका लागि प्रयोगशाला शुरु भएको छ । दोलखा, भीमेश्वर नगरपालिकास्थित चरीकोट अस्पतालमा आज प्रयोगशालाको उद्घाटन गरेर परीक्षण शुरु गरिएको हो । प्रयोगशाला २४ घण्टा चलाउँदा ५०० सम्म स्वाब परीक्षण गर्ने क्षमता छ ।

दक्ष जनशक्तिसमेत लगेर प्रयोगशालाको उद्घाटन गरिएको वाग्मती प्रदेश, जनस्वास्थ्य प्रयोगशाला धुलिखेलका प्रमुख डा नारायणबहादुर कार्कीले जानकारी दिए । सो प्रयोगशालामा दोलखा नजीकका रामेछाप, सिन्धुपाल्चोक र सिन्धुलीबाट पनि स्वाब संकलन गरेर ल्याउन सकिने बताइएको छ ।

चरीकोटमा प्रयोगशाला शुरु गरिएसँगै वाग्मतीअन्तर्गतका प्रयोगशालाको संख्या ६ पुगेको छ । यसअघि काभ्रेपलाञ्चोक, नुवाकोट, भक्तपुर, मकवानपुर र  सिन्धुलीमा प्रयोगशाला सञ्चालनमा छन् । प्रयोगशाला निर्देशक डा कार्कीका अनुसार त्यहाँ प्रयुक्त यन्त्र अहिलेसम्म बनेका मध्ये राम्रो मानिएको छ । यहाँ राखिएको यन्त्रमा पिसिआर मात्रै नभई अरु विभिन्न रोगको पनि परीक्षण गर्न सकिने डा कार्कीको भनाइ थियो । प्रयोगशालामा माइक्रोबाइलोजिष्टसहितको जनशक्ति अहिले भए पनि नपुग्ने भएकाले प्रदेश सरकारसँग माग गरिएको डा कार्कीले बताए ।

थप जनशक्ति प्रदेश सरकारले पठाउने
वाग्मती प्रदेश, सामाजिक विकासमन्त्री सरस्वती बस्नेतले कोरोना संक्रमण बढ्दै गएकाले दोलखासहित आसपासका जिल्लाको पिसिआर परीक्षणका लागि सहज हुने भएकाले प्रयोगशाला सञ्चालनमा ल्याइएको बताइन् ।
मन्त्रालयले केन्द्रीय जनस्वास्थ्य प्रयोगशालासँग समन्वय गरेर तत्कालै प्रयोगशाला सञ्चालनमा ल्याएको जनाउँदै उनले अहिले न्यूनतम जनशक्ति भए पनि थप प्रदेश सरकारले पठाएर प्रयोगशालालाई पूर्ण क्षमतामा सञ्चालन गरिने बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप