बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कर्णाली प्रदेश अस्पतालमा तत्कालका लागि अक्सिजन अभाव टर्‍यो

बुधबार, २२ वैशाख २०७८, २२ : १९
बुधबार, २२ वैशाख २०७८

 केहीदिन अघिसम्म कर्णाली प्रदेश अस्पताल कालागाउँमा अक्सिजनको चरम अभाव थियो । जसका कारण आफ्ना बिरामीलाई बचाउनका लागि आफन्तले नेपालगञ्जदेखि आएको अक्सिजन सिलिण्डर खोसाखोस गर्नुपर्ने अवस्था थियो ।

तर, प्रदेश अस्पतालमा अब भने अक्सिजन उत्पादन सुरु गरिएको छ । केहीदिन अघि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अग्रसरतामा अस्पतालमा थन्किएको अक्सिजन प्लान्ट सञ्चालनमा ल्याईएसँगै अक्सिजन उत्पादन सुरु गरिएको हो ।

अहिले प्लान्टबाट अक्सिजन उत्पादन सुरु भएपछि कोरोना संक्रमितको उपचारमा केही राहत मिलेको अस्पतालका कोरोना फोकल पर्सन डा. केएन पौडेल बताउँछन् ।

पौडेलले अक्सिजनको अभावमा मरिन्छ कि भन्ने डर, चिन्ता नलिन सबैलाई आग्रह गरेका छन् । उनले भने, ‘हाललाई कोरोना संक्रमितको उपचारमा केही सहज भएको छ ।’ 

नयाँ अक्सिजन प्लान्टबाट दैनिक एकसय सिलिन्डर उत्पादन हुन्छ भने पुरानो प्लान्टले दैनिक पाँचदेखि दश वटा सिलिन्डरसम्म अक्सिजन उत्पादन गर्छ ।

‘तत्कालका लागि पर्याप्त अक्सिजन छ,’ डा. पौडेलले भने, ‘अक्सिजन पाइँदैन कि भनेर नआत्तिन सबैलाई म आग्रह गर्दछु ।’

दुई प्लान्टबाट अक्सिजन उत्पादन र दैनिक एक सयवटा अक्सिजन सिलिण्डर नेपालगञ्जदेखि नियमित आयात हुने गर्दा उपचारमा सहजता भएको बताए ।

उनले भने, ‘अहिले अक्सिजन चाहिने बिरामी भनेको कुल संक्रमितको ४ प्रतिशतलाई मात्र हो । बाँकी ९६ प्रतिशतलाई सामान्य लक्षणमात्र देखिएको पाइएको छ ।’

डा. पौडेलले कोराना संक्रमण हुँदैमा हत्तोत्साहित नहुन पनि सर्वसाधारणलाई आग्रह गरेका छन् ।

संक्रमित बढे उत्पादित अक्सिजनले पुग्दैन 

अस्पतालमै अक्सिजन उत्पादन हुन थालेपछि तत्कालका लागि अभाव त टरे पनि संक्रमण बढ्दै गएमा भने चुनौती थपिने देखिन्छ । किनकी उत्पादित अक्सिजनले ५०÷६० जना संक्रमितलाई मात्र पुग्छ । पछिल्लो समय दिन प्रतिदिन कोरोना संक्रमितको संख्या निकै बढेको छ ।

डा. पौडेलले भने, ‘वीरेन्द्रनगरमा कोरोना संक्रमित प्रतिदिन बढिरहेको छ, संक्रमित दर अनुसार अझै दैनिक एक सय सिलिण्डर नेपालगञ्जबाट आपूर्ति गर्नुपर्छ । बढ्दो संक्रमणको दर र अन्य बिरामीको उपचारका लागि नेपालगञ्जबाट अक्सिजन आपूर्ति कायमै रहने सम्भावना देखिन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप