शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भारतबाट आउनेलाई राख्न पर्यटन मन्त्रालयले तोक्यो आठ होटल

बुधबार, २२ वैशाख २०७८, २२ : २६
बुधबार, २२ वैशाख २०७८

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भारतबाट नेपाल आउने यात्रुलाई क्वारेन्टिनमा राख्नका लागि आठ होटललाई सूचीकृत गरेको छ । नेपाल भारतबीच कायम सुविधाअन्तर्गत भारतबाट हवाई उडानमार्फत आउने यात्रुलाई १० दिन अनिवार्य क्वारेन्टिनमा राख्नका लागि होटल सूचीकृत गरिएको हो ।

मन्त्रालयले क्वारेन्टिनका लागि आज जारी गरेको होटलमा गोदावरीको भ्यू भृकुटी, गुहेश्वरीस्थित माधव होटेल, एयरर्पोटस्थित एयरर्पोट होटेल, गौशालाको अमादब्लम होटेल, रिडर्स इन र आनन्द आश्रम तथा जगातीस्थित फार्म हाउस रिर्सोट र ए–वान रिर्सोट रहेका छन् । यी होटलमा १० देखि ९१ कोठा उपलब्ध छन् । उल्लेखित होटलको विवरण नेपाल पर्यटन बोर्डले आवश्यकताअनुसार समयसमयमा अधावधिक गरी सरोकारवालालाई सूचित गर्ने मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ । 
    
सूचीकृत होटलले यात्रुलाई विमानस्थलदेखि होटलसम्म यात्रुलाई ल्याउनुका साथै खाना तथा बसोबासको व्यवस्था मिलाइएको छ । मूल्य अभिवृद्धि कर र सेवा शुल्कसहित बढीमा प्रतिव्यक्ति रु तीन हजारसम्म मात्र शूल्क लिनसक्ने गरी होटल दर कायम गरिएको छ । नेपाल वायुसेवा निगम र एयर इण्डियाको समन्वयमा नेपाल पर्यटन बोर्डले यात्रुको विवरण लिने र यात्रुको क्वारेन्टिन व्यवस्थापनमा सहयोग गर्ने गरी जिम्मेवारी तोकिएको पनि सूचनामा उल्लेख छ । यात्रु अनिवार्य १० दिन क्वारेन्टिन बस्नु पर्नेछ । त्यसरी नबसेको पाइएमा होटलले प्रहरीलाई खबर गर्नुपर्नेछ ।
     
मन्त्रिपरिषद्को वैशाख १९ गते भएको बैठकले नेपाल र भारतबीच एयर बबल प्रणाली अनुसार सातामा बढीमा दुई उडान हुने र यसरी आउने यात्रुले यात्रुले १० दिन क्वारेन्टिनमा बस्नु पर्ने निर्णय गरेको थियो । स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी पर्यटन मन्त्रालयले सूचीकृत गरेका होटलमा १० दिन अनिवार्य क्वारेन्टिनमा बस्ने व्यवस्था मिलाउने निर्णय गरेको थियो । 
    
पर्यटन मन्त्रालय, पर्यटन बोर्ड र नेपाल प्रहरीको संयुक्त टोलीले होटेल क्वारेन्टिनमा बसे नबसेको दैनिक अनुगमन गरी कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रमा दैनिक प्रतिवेदन पेश गर्नुपर्नेछ । होटेल क्वारेन्टिनमा बस्नुपर्ने यात्रुले स्वास्थ्य मापदण्ड पालना नगरेको र क्वारेन्टिनमा नबसेको पाइएमा सङ्क्रामक रोग ऐन, २०२० बमोजिम मुकरर अधिकारीसमक्ष कारबाहीका लागि लेखि पठाउनुपर्ने छ ।
    
कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले वैशाख २३ गते रातिदेखि अन्तरराष्ट्रिय उडान स्थगन गर्ने निर्णय गरेको छ । कोभिड महामारीको जोखिम नियन्त्रणका लागि सरकारले गत वैशाख १६ देखि काठमाडौँ उपत्यकासहित देशका विभिन्न जिल्लामा निषेधाज्ञा लागू गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप