शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

उद्योगीका दुःख : उत्पादनमा ७५ प्रतिशत कटौती, सामग्री पठाउन उस्तै समस्या

बिहीबार, २३ वैशाख २०७८, १३ : ३८
बिहीबार, २३ वैशाख २०७८

बुटवल । बुटवल औद्योगिक क्षेत्रमा रहेको एभरेष्ट एब्रोसिट एण्ड एलाईट उद्योग प्रालिमा जम्मा ९० जना मजदूर रहेकोमा सञ्चालक गणेशप्रसाद अधिकारीले अहिले २२ जनालाई उद्योगभित्रै खानेबस्ने व्यवस्थासहित काम लगाएका छन् । प्लास्टिकको डोरी उत्पादन गर्ने उक्त उद्योगमा अहिले २० प्रतिशतमात्र उत्पादन हुँदै आएको छ ।

औद्योगिक क्षेत्रमा रहेको मेटल काष्ट प्रालिले ढलको ढक्कन, पुल, हाइड्रोपावर आदिका लागि चाहिले ठुला फलामका सामग्रीहरु उत्पादन गर्दै आएको छ । सो उद्योगले कोरोनाका कारण मजदूरको संख्या र सामग्री उत्पादनमा भारी कटौती गरेको छ । ८० जना मजदूर कार्यरत उद्योगमा अहिले २० जनाले मात्र रोजगारी पाएका छन् । ठाउँ ठाउँमा निषेधाज्ञा लागेको र अत्यावश्यक वस्तुको मात्र ओसारपसारमा अनुमति भएकाले उत्पादन कटौती गर्नु परेको उद्योगका सञ्चालक निश्चल खनालले बताए ।

उत्पादन कटौतीसँगै अधिकांश मजदूरलाई बाध्य भएर घर पठाउनुपर्ने अवस्था आएको उनले रातोपाटीलाई बताए ।

कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनले गरेको निषेधाज्ञासँगै एकपछि अर्को उद्योगले उत्पादन कटौतीसँगै मजदूरको संख्यामा पनि कटौती थालेका हुन् ।

दुई सिफ्टमा चल्ने ठुला उद्योगहरु अहिले ५/६ घण्टामात्र सञ्चालन हुन थालेको बुटवल औद्योगिक क्षेत्र उद्योग संघका सल्लाहकार खेम श्रीसले बताए । उनले मजदूर र उद्योगीलाई आउन जान समस्या भएपछि केही ठुला उद्योग बन्दसमेत भएको बताए ।

उत्पादन भएको बस्तु बजारमा पठाउन समस्या भएपछि उत्पादन कटौती गर्नुको विकल्प नरहेको उद्योगीहरु बताउँछन् ।

बुटवल औद्योगिक क्षेत्रका उद्योगहरुमा भारत, मलेसिया, दुबईबाट कच्चा पदार्थ आयात हुन्छ । लकडाउनका कारण कच्चा पदार्थ आयातसमेत रोकिएको छ भने उत्पादित वस्तुलाई बजारसम्म लैजानसमेत समस्या भएको छ ।

रोजगारी गुम्दै

बुटवल औद्योगिक क्षेत्रमा ३ हजार मजदूरले प्रत्यक्ष रोजगारी पाएका थिए । तर कोभिड–१९ महामारीको दोश्रो लहर सुरु भएयता ७ सयदेखि ८ सयसम्मले मात्र काम गरिरहेको सल्लाहकार श्रीसको भनाइ छ ।

औद्योगिक क्षेत्रमा भारतीय श्रमिक पनि काम गर्दछन् । केही उद्योगको प्राविधिक क्षेत्रमा भारतीय नागरिकले काम गर्दै आएका छन् । कोरोनाको पहिलो लहरकै समयमा भारत गएका ४ सयभन्दा धेरै मजदूर फर्किएका छैनन् । दोस्रो लहरमा पनि केही भारतीय मजदूर आफ्नो घर फर्किएका छन् । नेपाली मजदूरहरु निषेधाज्ञा अन्त्यसँगै काममा फर्कनसक्ने अवस्था रहे पनि भारतीय मजदूरहरु, खासगरी प्राविधिक जनशक्ति फर्कने टुंगो नहुँदा यी उद्योग संकटमा पर्दै गएका छन् ।

लकडाउन भएकाले उत्पादित ठुलो परिमाणको मालवस्तु गोदाममै थन्किएको छ । उत्पादन कटौती भएपछि स्वाभाविक रुपमा मजदूरको रोजगारी पनि गुम्छ ।

उद्योगमा उत्पादन घटेपछि त्यसमा काम गरिरहेका ३० प्रतिशत अदक्ष कामदार पूर्ण बेरोजगार बनेका छन् भने केही दक्ष कामदार पनि बेरोजगार भएका छन् ।

बुटवल औद्योगिक क्षेत्रमा हाल सञ्चालनमा रहेका उद्योगले स्थायी मजदूरलाई कामको दिन घटाएर आलोपालो काम दिइरहेको छ । सञ्चालनमा रहेका उद्योगमा सरकारले तोकेको स्वास्थ्य प्रोटोकललाई कडाईका साथ लागू गरिएको छ ।

उद्योगी रामप्रसाद खनालका अनुसार मजदूरहरुलाई भित्रै खानेबस्ने व्यवस्था गरिएको छ । ग्राहकहरू आएमा गेट बाहिरबाटै कुराकानी गर्ने, आपसमा पनि सामाजिक दुरी कायम गर्ने, मास्क, सेनिटाईजर अनिवार्य प्रयोग गर्ने गरिएको छ ।

मजदूर र उद्योगी दुवै सतर्क रहेर काम गरेको बुटवल औद्योगिक क्षेत्र उद्योग संघका पूर्वअध्यक्ष गणेशप्रसाद अधिकारीले बताए । उनले भने, ‘जीवन रहे सवै हुन्छ, हामीले स्वास्थ्यको विषयमा गम्भीर बनेर काम गरेका छौं । स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्ण रुपमा पालना गरेका छौं ।’

उद्योग संरक्षणको नीति ल्याउन माग

उद्योगीहरुले उद्योग संरक्षणको नीति ल्याउन सरकारसँग माग गरेका छन् । बुटवल औद्योगिक क्षेत्र उद्योग संघका पूर्व अध्यक्ष समेत रहेका उद्योगी अधिकारीका ५ वटा उद्योग छन् । उनको औद्योगिक क्षेत्रभित्र ३ वटा र रुपन्देहीका अन्य स्थानमा दुईवटा उद्योग छन् । तीमध्ये एउटा उद्योगमात्र पूर्ण रुपमा सञ्चालनमा रहेको उनी बताउँछन् ।

‘मेरो पाँचवटा मध्ये ग्याँस उद्योग मात्र पूर्ण रुपमा सञ्चालन भइरहेको छ,’ उनले भने, ‘अन्य सबै उद्योगमा २५÷३० प्रतिशतमात्र उत्पादन भइरहेको छ ।’

उद्योग व्यवसायका लागि राम्रो वातावरण बन्दै गएको बेला कोरोनाको कहरले सबै धरासायी बनाएको र उद्योगहरु कसरी टिकाउने भन्ने समस्या देखिएको उनले बताए ।

पहिलो कोरोनाको चरम मारमा परेका उद्योगलाई अब बैंक, विद्युत र करको  समस्या हुने उनको भनाइ छ । उद्योगहरु कहिले पूर्ण क्षमतामा सञ्चालन हुने भन्ने निश्चित नरहेको उल्लेख गर्दै उनले उत्पादित वस्तुलाई बजारमा लैजानका लागि समेत व्यवस्था हुन नसकेको बताए ।

उद्योगमा कच्चा पदार्थ ल्याउन सक्ने अवस्थासमेत नरहेको उनको गुनासो छ । ‘धेरैजसो कच्चा पदार्थ विदेशबाट आउँछ, आवश्यक मात्रामा कच्चा पदार्थ नहुँदा उद्योगको उत्पादनमा कटौती गर्नुपर्छ,’ उनले भने, ‘अर्कोतिर हामीले उत्पादन गरेको सामान निषेधाज्ञाका कारण बजारमा पठाउन नसक्दा कहाँ राख्ने भन्ने समस्या हुन्छ ।’ यसले अन्ततः उद्योगी, मजदूर र राज्यलाई असर पर्ने उनले बताए ।

रुपन्देहीमा सानाठूला गरेर १५ हजार उद्योग छन् । सेवामुलक र उत्पादन दुवै क्षेत्रका उद्योगहरु अहिले चरम मारमा छन् । यस्तो अवस्थामा सरकारले उद्योग संरक्षणको नीति ल्याउनपर्ने उनले बताए ।

उद्योग जोगाउन धौ-धौ

पूर्वपश्चिम राजमार्ग अन्तर्गत बुटवल उपमहानगरपालिका–१० रामनगरमा २०२२ सालमा बुटवल औद्योगिक क्षेत्र स्थापना भएको हो । ७० उद्योग सञ्चालनमा रहेको यहाँ विशेष गरी फलामजन्य निर्माण सामग्रीहरुको बाहुल्यता छ । क्षेत्रमा उत्पादित सामग्रीहरूमा झोलुङ्गे पुल, हाइड्रोपावरका निर्माण सामग्री, विद्युतीय सामग्री, फलामे पोल, केवल, तार, स्वीच बोर्ड, लिष्टी, काष्ट तथा आईरनका सामान प्लास्टीकजन्य सामानहरु, कुर्सी, डस्टवीन, पाईप, पाईप फिटिङ सामग्री, जर्किन, डिब्बा, डोरी, ढलान सिट, झोला, फित्ता, स्टील तथा पित्तलका भाँडा, साबुन तथा कपडा, फाईवर सिट, पेचकिल्ला, सिमेन्टका विद्युत पोल, ह्युम पाईप, मोटरसाईकलका हेल्मेट, लेगार्ड, दुध तथा दुग्धजन्य पदार्थ, मसलासमेत उत्पादन भइरहेको छ ।

यस औद्योगिक क्षेत्रमा २ अर्ब ३१ करोड रुपैयाँ निजी क्षेत्रको लगानी छ । औद्योगिक क्षेत्रले ३ हजार जनालाई प्रत्यक्ष रोजगार प्रदान गरेको छ भने नेपाल सरकारलाई करिब ३५ करोड २० लाख रुपैयाँ राजस्वमा योगदान पु¥याएको अवस्था छ । पछिल्लो समय कोरोनाको महामारी सुरू भएपछि खुलेका उद्योग जोगाउन पनि गाह्रो भएको उद्योगीहरुको गुनासो छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप