शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

उपचुनाव लड्न किन डराए बादल ?

यस्तो छ मतदाताको अंकगणित
बिहीबार, २३ वैशाख २०७८, २१ : ५७
बिहीबार, २३ वैशाख २०७८

माओवादी छाडेर एमालेमा प्रवेश गरेका गृहमन्त्री रामबहादुर थापा बादललाई दुई साताअघि एमालेले राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाउने घोषणा गरेको थियो । तर, विपक्षी मोर्चाबाट संघीयताविद डा. खिमलाल देवकोटाको उम्मेदवारी घोषणा भएको भोलिपल्टै बादल चुनाव लड्न हच्किएका छन् । एमालेले स्थितिको विश्लेषण गरेर मात्रै उम्मेदवार तय गर्ने बताएको छ ।

बादललाई उम्मेदवार बनाउँदै गर्दा वागमती प्रदेशमा एमालेलाई चुनौती दिने भोट विपक्षी गठबन्धनसँग थिएन । यही कारणले बादल चुनाव जितिनेमा ढुक्क थिए । किनभने, राष्ट्रियसभाको चुनावमा मतदान गर्ने वागमतीका ११० प्रदेश सांसदमध्ये एमालेसँग एक्लै ५७ जना थिए । ४८ मतभार भएका ५७ प्रदेश सांसदको यो उपस्थितिले एमालेको जित सुनिश्चित थियो ।

त्यसैगरी, स्थानीय तहका मतदाताहरू (प्रमुख र उपप्रमुख) २३८ जनामध्ये एमालेसँग १३३ जना थिए । यो अवस्थामा काँग्रेस, माओवादी, जसपा, साझा, राप्रपा, नेमकिपा सबै मिल्दा पनि एमालेको एकल बहुमत पुग्ने स्पष्ट थियो । यही गणितलाई हेरेर प्रधानमन्त्री केपी ओलीले बादललाई उम्मेदवार बनाएर राष्ट्रियसभामा ल्याउने सोचेका थिए ।

तर, आइतबार काँग्रेस–माओवादीले यस्तो पात्रलाई बादलको प्रतिद्वन्द्वी रुपमा अगाडि सारिदिए, जसले गर्दा मतदाताको गणित एकाएक उल्टिने देखियो र रामबहादुर थापा बादल अल्पमतमा पर्ने स्थिति बन्यो । यही कारणले गर्दा सोमबार बालुवाटारमा बसेको स्थायी कमिटीको बैठकले एक कदमपछि सर्दै बादलको उम्मेदवारीबारे पुनर्विचार गर्ने निर्णय लियो । बादल आफैं चुनाव नलड्ने भन्दै हच्किएको स्रोत बताउँछ ।

काँग्रेस र माओवादीको बीचमा मात्रै गठबन्धन बनेको भए बागमतीबाट बादललाई चुनाव जित्न कठिन थिएन । तर, डा. खिमलाल देवकोटाको उम्मेदवारीमा काँग्रेस र माओवादीका साथै एमालेको माधव नेपाल पक्षसमेत सहभागी बन्यो । स्वयं उम्मेदवार नै माधव नेपाल पक्षले पायो ।

बादलको प्रतिद्वन्द्वी रुपमा खडा भएका डा. देवकोटा एमाले समर्थित वाम बुद्धिजीवी हुन् । केपी ओली पहिलोपटक प्रधानमन्त्री बनेका बेला तुइन विस्थापनको आइडिया दिने विज्ञका रुपमा रहेका देवकोटा यसअघि वागमती प्रदेशको योजना आयोगमा उपाध्यक्ष रहिसकेका व्यक्ति हुन् ।

देवकोटाको उम्मेदवारी परेपछि एमालेका ५७ प्रदेशसभा सदस्यमध्ये ओलीको पक्षमा ३४ जना र नेपालको पक्षमा २२ जना बाँडिने देखिएको छ । नेपाल समूहमा माओवादीका २३, काँग्रेसका २२  सांसद जोड्दा ६७ हुन जान्छ, जुन ११० सांसदको बहुमत हो । यसमा ८ सिट रहेका साना दलमध्येबाट पनि धेरैले विपक्षी गठबन्धनलाई नै सघाउने देखिन्छ ।

त्यस्तै, मतभार १८ रहने स्थानीय तहका कुल २३८ मतदातामध्ये एमालेसँग एक्लै १३३ जना थिए । तर, डा. देवकोटाको उम्मेदवारीपछि माधव पक्षका करिब ४५ जना देवकोटाको पक्षमा उभिने देखिन्छ । यसो गर्दा बादलको पक्षमा ८८ जना मात्रै रहन्छन् ।

स्थानीय तहका मतदातामध्ये काँग्रेसका ६८, माओवादीका ३३ र माधव पक्षका २४ जना जोड्दा १२५ पुग्छ । यो संख्या भनेको प्रदेशमा जस्तै स्थानीय तहका मतदाता (२३८) को पनि बहुमत नै हो । यसमा साना दलका ३ जना स्थानीय जनप्रतिनिधिलाई जोडिएको छैन, जसले विपक्षीलाई नै सघाउने सम्भावना छ ।

यसरी माधव नेपाल समूहले बादलको विकल्पमा उम्मेदवार खडा गरेपछि आगामी जेठ ६ गते हुने राष्ट्रियसभा सदस्यको उपचुनावमा नेकपा एमालेको ओली पक्षले पराजय व्यहोर्ने निश्चित भएको हो । अब उसले बादलको ठाउँमा कसलाई खडा गर्छ, त्यो शुक्रबार टुंगो लाग्ने छ । किनकि, शुक्रबार उम्मेदवारी दर्ताको दिन हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप