शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

निषेधाज्ञाले घटायो विजुलीको माग, कुलेखानी आयोजना बन्द

शुक्रबार, २४ वैशाख २०७८, १२ : ०४
शुक्रबार, २४ वैशाख २०७८

निषेधाज्ञाका कारण उद्योग व्यवसाय पूर्ण क्षमतामा चल्न नसक्दा विजुलीको माग घटेको छ । यो सँगै भारतबाट हुने आयात समेत कम भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । निषेधाज्ञा अघि (१३ गते) १४ सय ८२ मेगावाट सम्म पिक डिमान्ड रहेकोमा निषेधाज्ञासँगै क्रमशः घट्दै गएको प्राधिकरणका प्रवक्ता मदन तिमल्सिनाले बताएका छन् । अहिले औसतमा १२ सय ५० मेगावाट पिक आवर डिमान्ड रहेको छ ।

बुधबार १२ सय ५८ मेगावाट पिक डिमान्ड थियो भने मंगलबार ११ सय ७८ मेगावाट माग थियो । यस्तै  सोमबार १२ सय २२ मोगावाट माग भएको प्राधिकरणले जनाएको छ । गत वर्ष यही समयमा सरकारले बन्दाबन्दी गर्दा पनि बिजुलीको माग घटेर ८०० मेगावाट हाराहारीमा आएको थियो । त्यसबेला उद्योग धन्दा पूर्ण रुपमा बन्द थिए ।

अहिले देशभरका औद्योगिक क्षेत्र पूर्ण क्षमतामा चल्न नसकेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले जनाएको छ । कच्चा पदार्थको अभाव र कामदार कोभिड संक्रमित भएपछि उद्योगहरु पूर्ण क्षमतामा चल्न नसकेको औद्योगिक क्षेत्र व्यवस्थापनको भनाइ छ । यद्यपि अत्यावश्यक उत्पादन, दुध, ग्यास, पाउरोटी, बिस्कुट, अक्सिजन, पानीको उत्पादन भने घटेको छैन ।

कोरोना माहामारी बढेसँगै निषेधाज्ञा पनि लम्बिदै गएको छ । देशभर अहिले ६१ जिल्लामा निषेधाज्ञा जारी छ । वैशाख १६ गतेदेखि लगाइएको निषेधाज्ञालाई सरकारले निरन्तरता दिइरहेको छ । संक्रमणको आधारमा निषेधाज्ञा हुने जिल्लाहरु पनि थपिदै गएका छन् ।

कुलेखानी आयोजना बन्द

अहिले लोड घटेको बेलामा कुलेखानी जलाशयलाई प्राधिकरणले रिजर्भमा राखेको छ । यसको सतह कम हुँदै गएकाले यसलाई  रिजर्भमा राखिएको प्रधिकरणले जनाएको छ । कुलेखानी जलाशयमा पानीको सतह धेरै तल पुगेपछि आयोजना बन्द गरिएको हो । कुलेखानी पहिलो, दोस्रो र तेस्रोको जडित क्षमता १ सय ६ मेगावाट रहेको छ । पानी सञ्चिति बढाउन कुलेखानी आयोजन बन्द गरिएको प्रवक्ता तिम्सिनाले जानकारी दिए । उनले भने, ‘माग कम भएको बेला यसलाई चलाएका छैनौँ । रिजर्भमा राखेका छौँ । अरु सबै जलविद्युत आयोजनालाई भने पूर्ण क्षमतामा चलाइएको छ ।’

नेपालले सबैभन्दा बढी बिजुली कालिगण्डकी जलविद्युत आयोजनाबाट प्रयोग गर्दै आएको छ । यो १ सय ४४ मेगावाट क्षमताको आयोजना हो । यसले पिक समयमा १ सय ४४ मेगावाटसम्म विजुली उत्पादन गर्छ । केही दिन अघि पानी नपर्दा ४५ मेगावाटसम्म विजुली उत्पादन क्षमता घटेको थियो । तर पछिल्लो केहि दिन यता पानी परेसँगै यसको उत्पादन क्षमता बढेको छ । अहिले औसतमा ८० मेगावाट उत्पादन हुन्छ ।

यो क्यूआरओआर बेस आयोजना हो । कालीगण्डकी, दुइवटा मर्स्याङ्दी र चमेलिया क्यूआरओआर बेस हुन । यिनीहरुले कम लेभल हुदा पनि चाहिएको बेला ६ घण्टासम्म पूर्ण क्षमतामा उत्पादन गर्न सक्छन् । नेपालमा साना ठूला गरेर लगभग सय भन्दा बढी जलविद्युत आयोजना छन् ।

आयात पनि घट्यो

विजुली माग घटेसँगै आयात पनि घटेको छ । सामान्य अवस्थामा साढे ७ सय मेगावाट सम्म भारतबाट आयात हुँदै आएकोमा अहिले ६ सय मेगावाटभन्दा कम बिजुली आयात भएको प्राधिकरणले जनाएको छ । अहिलेको मौसम न ज्यादा गर्मी छ न ज्यादा जाडो नै छ ।  ज्यादा गर्मी हुँदा एसी, फ्यान लगायत शीतलता दिने विद्युतीय साधन कम प्रयोग भएपछि माग बढी हुन्थ्यो । यस्तै जाडोमा न्यानो बनाउन हिटर लगायतका साधन ज्यादा चलाउने हुदा पनि विद्युतको माग ज्यादा हुने गरेको थियो । तर अहिले अनुकुल माैसमका कारण यी दुबै अवस्थाको साधनको प्रयोग नहुँदा पनि विद्युत माग कम भएको तिमल्सिनाको भनाई छ । यता होटल रेष्टुरेन्ट लगायतका आतिथ्य सेवा दिने सेवा उद्योगहरु पनि पूर्ण रुपमा बन्द छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप