शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

आयुर्वेदिक विधिबाट फोक्सोलाई कसरी मजबुत बनाउने ?

शुक्रबार, २४ वैशाख २०७८, १४ : २०
शुक्रबार, २४ वैशाख २०७८


काठमाडौं । कोरोनाभाइरस (कोभिड—१९) संक्रमितमध्ये धेरैजसो होम आइसोलेशनमा छन् । अस्पतालहरुमा अक्सिजन र बेडको अभावबारे जताततै चर्चा चलिरहेको छ । होम आइसोलेशनमा बसेका सामान्य लक्षण देखिएका र लक्षण नदेखिएका संक्रमित मानसिक दबाबमा छन् । कतै अक्सिजन आवश्यक पर्ने त होइन भन्ने चिन्ता स्वाभाविक रुपमा उनीहरुमा देखिन्छ ।

चिकित्सकहरुका अनुसार कोरोना संक्रमितमध्ये सबैलाई अक्सिजन, आइसियू र भेन्टिलेटरको आवश्यकता पर्दैन । कोरोना संक्रमितमध्ये करिब तीन प्रतिशतलाई मात्रै अस्पतालमा भर्ना गर्न जरुरी हुने डा.बासुदेव उपाध्याय बताउँछन् ।

होम आइसोलेशनमा बस्ने संक्रमितको शरीरमा अक्सिजनको अवस्था कस्तो छ भन्नेबारे घरमै बसेर सामान्य तरिकाबाट पनि थाहा पाउन सकिने उनले बताए । घरमा पल्सअक्सिमिटर राखेर नियमित शरीरमा अक्सिजनको मात्रा आफैले नाप्न सकिने उनी बताउँछन् । यद्यपि पल्सअक्सिमिटर नभएको खण्डमा योग अभ्यासबाट पनि शरीरमा अक्सिजनको मात्रा थाहा पाउन सकिने उनको भनाइ छ ।

शरीरमा ९० भन्दा तल अक्सिजनको मात्रा पुग्यो भने स्वास्थ्यमा समस्या सिर्जना हुन सक्छ । कोरोनाभाइरस संक्रमणका कारण फोक्सोमा अक्सिजनको मात्रा कम भएमा फोक्सो खराब हुने त होइन भन्ने चिन्ताले धेरैलाई सताउन सक्छ ।

कोरोना संक्रमणले फोक्सोलाई क्षति पु¥याएको छ कि छैन र कोभिडले प्रभाव पारेको फोक्सोलाई विस्तारै सुधार गर्न परम्परागत योगभित्रको प्राणायामको नियमित अभ्यास लाभदायक हुने महानिर्देशक डा. उपाध्याय बताउँछन् ।

फोक्सोलाई स्वस्थ राख्न डा. उपाध्यायका केही टिप्स

— प्राणायाम गर्दा जसले २० सेकेन्डसम्म सासलाई रोकेर बस्न सकेमा त्यस व्यक्तिको फोक्सोको अवस्था सामान्य छ भनेर बुझिन्छ । होम आइसोलेशनमा बसेका व्यक्तिले प्राणायाम गर्ने र त्यस क्रममा २० सेकेन्डसम्म श्वास रोकेर बस्न सकेमा ती व्यक्तिलाई अक्सिजनको आवश्यकता नपर्न सक्छ ।

— होम आइसोलेशनमा बसेको व्यक्तिले २० सेकेन्डसम्म प्रणायाम गर्दा सास रोक्न सक्दैँन भने आक्सिजनको आवश्यकता छ भन्ने बुझ्नु पर्छ र स्वास्थ्यकर्मीसँग परामर्श लिनुपर्छ ।

— शरीरमा अक्सिजनको मात्रा घटेको छ, तत्काल अक्सिजन लिन सक्ने अस्वस्था छैन वा अस्पताल पुग्न सकिँदैन भने केही समयका लागि बिरामीलाई सिधा घोप्टो परेर सुताउँदा फोक्सोमा जोड पर्छ । त्यसपछि अक्सिजनको मात्रा केही बढ्न सक्छ ।

— अक्सिजन, आइसियू र भेन्टिलेटरमा उपचार गरेर अस्पतालबाट फर्किनेहरुले दिनमा दुई÷दुई घण्टाको अन्तरमा कम्तीमा ५ देखि १० मिनेट प्राणायाम गर्दा झन् राम्रो हुन्छ ।

— प्रणायाम गर्दा सास रोक्ने क्रमलाई २० सेकेण्डदेखि बढाउन कोसिस गर्नुपर्छ । प्राणायाम गर्दा सास रोक्ने क्रममा २० देखि ३० सेकेण्डसम्म रोक्ने प्रयास गर्दा राम्रो हुन्छ । तर, प्रणायाम गर्ने नाममा जबरजस्ती सास रोक्न भने हुँदैन ।

​— अक्सिजन, आइसियू र भेन्टिलेटरमा उपचार गराएर घर फर्किएकाको फोक्सोको अवस्था पूर्ण रुपमा पूर्ववत् अवस्थामा फर्किसकेको हुँदैन । उपचारबाट घरमा फर्किएकाले प्राणायाम गर्दा चाडैँ सुधार आउन सक्छ ।

— अस्पतालकै बेडमा उपचार गराइरहेका बिरामीले समेत प्रणायाम गर्न सकिन्छ ।

— अस्पतालबाट कोभिड निको भएर घर फर्किएकाले पिउने पानीमा १ देखि २ ग्राम दालचिनीको धुलो राखेर पिउनुपर्छ । यदि गाउँघरमा हुनेहरुले दैनिक पिउने २ देखि ३ लिटर पानीमा ५÷६ वटा तुलसीका पात राखेर पिउँदा राम्रो हुन्छ ।

— दैनिक रुपमा बोझो, हर्राे एक ग्राम, गुर्जाे ५ ग्राम नियमित सेवन गरेमा संक्रमितको अवस्थामा सुधार हुन्छ तथा कोभिड हुन नदिनका लागि सहयोग गर्छ ।

— स्वास्थ्य अवस्था सामान्य रहेका व्यक्तिले पनि नियमित रुपमा प्राणायाम गर्नुपर्छ । किनभने फोक्सोको क्षमता अनुसार अक्सिजन लिन प्राणायाम सार्थक हुन्छ ।

वर्तमान समयमा आधुनिक प्रविधि भयो भने सबैले तत्काल मान्ने र विश्वास गर्ने तर परम्परागत प्रविधिलाई विश्वास नगर्ने प्रवृति बढेको डा. उपध्याय बताउँछन् । यस्तै शारीरिक अभ्यासहरू पनि परम्परागत भएमा हत्तपत्त मानिसले वास्ता गर्दैनन् । तर, यही शारीरिक अभ्यास तथा कुनै प्रकारको योगलाई आधुनिक शब्दावली दिएको खण्डमा विश्वास गर्नेको जमात ठूलो भएको उनको गुनासो छ । 

आयुर्वेद शास्त्रमा शरीरलाई चाहिने भिटामिन ‘सी’ अमला, कागती, सुन्तला, अमिला फलबाट पाइन्छ । तर, यस्तै कुनै पब्लिक हेल्थको विज्ञले भिटामिन ‘सी’ खानुपर्छ भनेको खण्डमा भिटामिन ‘सी’ को ट्याब्लेट खान तत्काल तयार हुनेको संख्या धेरै रहेको उनले सुनाए ।

वर्तमान समयमा भारत र चीनमा जडीबुटी जेठी मधुबारे अध्ययन भइरहेको छ । गाउँघरमा जेठी मधु प्रशस्त मात्रामा पाइन्छ । कोरोना संक्रमणले प्रभाव गरेको फोक्सोलाई निको पार्नका लागि यसले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विभिन्न अध्ययनले देखाएको छ । कोभिडबाट हुन सक्ने नोक्सानलाई जेठी मधुले रोक्ने अध्ययनहरुले पुष्टि गरेको उनले बताए ।

‘जेठी मधु खाएपछि कोभिड निको हुन्छ भन्न खोजिएको होइन,’ उनी भन्छन्, ‘अस्पताल जानै पर्दैन भनेको होइन तर, संक्रमणबाट हुने नोक्सानलाई कम गर्छ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप