शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘रअ’ का नेपाल प्रमुख काठमाडौंमा

शुक्रबार, २४ वैशाख २०७८, १९ : २०
शुक्रबार, २४ वैशाख २०७८

काठमाडौं । भारतीय खुफिया एजेन्सी ‘रअ’ का नेपाल प्रमुख राघवप्रसाद भट्नागर काठमाडौं आइपुगेका छन् । शुक्रबार एयर इण्डियाको उडानबाट भट्नागरसहित अर्का एक कर्मचारी काठमाडौं आइपुगेका हुन् । 

नेपालमा राजनीतिक संकट बढ्दै गएपछि ‘रअ’ का नेपाल हेर्ने स्थायी कर्मचारी नेपाल आएको स्रोतको दाबी छ । यद्यपि दूतावासले भने को कर्मचारी नेपाल आएको हो आफूलाई थाहा नभएको बताएको छ । त्रिभुवन विमानस्थल स्रोतका अनुसार कुटनीतिक राहदानी लिएर भारतीय नागरिक राघवप्रसाद भट्नागर नेपाल आएका छन् । तर उनी ‘रअ’ का व्यक्ति हुन् कि होइनन् भन्ने थाहा नभएको तर भीआइपी सुविधा दिइएको स्रोतले बताएको छ ।

दूतावासले ती भीआइपीहरु को–को हुन् थाहा नभएको बताएपनि दूतावासकै गाडीमा राखेर दूतावासका कर्मचारीले उनीहरुलाई लगेका थिए । अभिजित अल्दरको तीन वर्षे कार्यकाल सकिइसकेको छ । नेपालमा राजनीति उथलपुथल भइरहेका कारण उनी दुई महिना बढी यहाँ बसे ।  अब नेपालको स्टेशन भटनागरले सम्हाल्ने छन् । उनले एक हप्तापछि कार्यभार सम्हाल्ने भारतीय दूतावास स्रोतले जनाएको छ । राघव यसअघि भुटानमा थिए ।

बढ्यो चलखेल

नेपालको राजनीतिक अवस्था तरल बन्दै गइरहेका बेला विदेशी चलखेल एकाएक बढेको छ । उच्च सुरक्षा स्रोतले दिएको जानकारीअनुसार दिल्लीमा रहेर नेपाल र भुटान हेर्ने रअका सेकेन्ड म्यान धीरज मुखिया पनि केही दिनदेखि काठमाडौंमा छन् । उनका साथमा टोमर नामका अर्का अधिकारी पनि काठमाडौं आएको बुझिएको छ । मुखिया सिक्किम–दार्जीलिङतिरका भएकाले नेपाली भाषामा सहजै कुरा गर्न सक्छन् ।  

यसैबीच, गौशालामा रहेको एक धर्मशालामा भारतीयहरुको बाक्लो उठबस रहेको र त्यहीँबाट विभिन्न राजनीतिक नेतालाई भेटघाट गर्ने गरिएको उच्च सुरक्षास्रोतले जानकारी दियो ।

सरकारले अन्य देशको हवाई उडान बन्द गरे पनि भारतबाट हुने उडान बन्द नगरेका कारण भारतीय गुप्तचरका अधिकारीहरुलाई काठमाडौं आउन सहज भएको छ ।

नेपालमा केही वर्षयता भारतीय गुप्तचर ‘रअ’ को चलखेल रोकिएको थियो । तर, ०७७ सालको कात्तिकमा  ‘रअ’ का प्रमुख सामन्त गोयलले विशेष विमानबाट काठमाडौं आएर बालुवाटारमा केपी ओलीसँग भेट गरेपछि रअको चलखेल पुनः सुरु भएको हो ।

उच्च स्रोतका अनुसार भारतको गुप्तचर संस्थाले केपी शर्मा ओलीको चहनाअनुरुप देशलाई मध्यावधि चुनावतर्फ धकेल्ने प्रयास गर्दै आएको छ । 

-यसअघि समाचारमा भूलवश गलत फोटो प्रयोग भएकामा क्षमायाचनासहित सच्याइएको छ-सम्पादक

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप