शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश सरकारलाई विपक्षी गठबन्धनको १० बुँदे सुझाव

शुक्रबार, २४ वैशाख २०७८, १९ : ४५
शुक्रबार, २४ वैशाख २०७८

बुटवल । लुम्बिनी प्रदेश सरकारलाई विपक्षी चार दलले कोरोना रोकथाम तथा नियन्त्रणका लागि जिम्मेवार बन्न १० बुँदे लिखित सुझावसहित ध्यानाकर्षण गराएका छन् । नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी नेपालले कोभिड–१९को महामारी नियन्त्रण र व्यवस्थापन गर्न प्रदेश सरकारलाई बुँदागत सुझाव दिएका हुन् ।

प्रदेशमा कोरोना संक्रमितको संख्या दिनानुदिन बढिरहेको अवस्थामा सैनिक र प्रहरी अस्पतालसँगै निजी मेडिकल कलेजलाई कोभिड अस्पतालको रुपमा रुपान्तरण गर्न सुझाव दिएका छन् । ती चारै दलका संसदीय दलका नेताहरुले संयुक्त विज्ञप्ति प्रकाशित गर्दै कोरोना भाइरसको दोस्रो चरणको महामारीको कारण जनजीवन भयावह अवस्थामा पुगेको भन्दै तत्काल व्यवस्था गर्न सक्ने सेवाहरुलाई यथाशीघ्र छिटो प्रवाह गर्न ध्यानाकर्षण गराएका हुन् ।

उनीहरुले मुख्यमन्त्री शंकर पोखरेललाई आइसियु बेड र भेन्टिलेटरसहितको बेड संख्या विस्तार गर्न तथा अक्सिजनको व्यवस्था गर्नुपर्ने समयमा दुई दिनमै ४ जनालाई स्वास्थ्य मन्त्रीमा फेरबदल गरी सपथग्रहण गराई मन्त्री पद बाँड्नमा व्यस्त रहेको आरोप लगाएका छन् ।

नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता तथा पूर्वमन्त्री कुलप्रसाद केसी, नेपाली काँग्रेसका प्रमुख सचेतक फकुरुद्दिन खान, जसपा नेपालका सचेतक पुर्मती ढेंगामगर र राजमोका तारा जिसीद्वारा हस्ताक्षरित संयुक्त विज्ञप्तिमा संक्रमितहरु सामान्य अक्सिजनसमेत नपाएर मर्न बाध्य भएका घटनाहरूले गठबन्धन दललाई गम्भीर बनाएको उल्लेख छ ।

उनीहरुले सबै सरकारी जिल्लास्तरका अस्पताल, नेपालगन्जको प्रहरी र आर्मी अस्पताललाई कोभिड अस्पतालमा रुपान्तरण गरी ८५० एचडियु बेड निर्माण गर्न, बुटवल, नेपालगंज र दाङको भयावह अवस्थालाई मध्यनजर गरी देवदह मेडिकल कलेज वा क्रिमसिन अस्पताल, कोहलपुर मेडिकल कलेजलाई पुर्ण कोभिड अस्पतालको रुपमा रुपान्तरण गरी तत्काल ३५० आईसियु बेड र भेन्टीलेटरको व्यवस्था गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् ।

त्यसैगरी दाङको बेलझुण्डीमा रहेको आयुर्वेद शिक्षण अस्पताललाई पुर्ण कोभिड अस्पतालमा रुपान्तरण गरी १५० बेड विस्तारका साथ ३० बेडको आईसियु निर्माण गर्न, लुम्बिनी प्रदेशमा रहेका सबै अक्सिजन प्लान्टहरुमा विद्युत आपूर्तिसहित मर्मत गरी सञ्चालन गर्न पनि दलहरुले ध्यानाकर्षण गराएका छन् ।

प्रदेशमा रहेका अक्सिजन खपत गर्ने उद्योगहरुको अक्सिजन सिलिन्डर केन्द्रीत गरी अस्पताल प्रयोजनको लागि परिचालन गर्न, गत वर्षको कोभिड व्यवस्थापनको लागि स्वीकृत स्वास्थ्यकर्मीको ५८३ दरबन्दी अपर्याप्त रहेको हुँदा कम्तीमा १२०० स्वास्थ्यकर्मीको दरबन्दीको व्यवस्था तत्काल गर्न पनि दलहरुले प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् । उनीहरुले नेपाल सरकारको छात्रवृत्तिमा पढिरहेका पिजी डाक्टरहरु लगायतका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई कोभिड महामारीमा परिचालन गर्न माग गरेका छन् ।

विगतमा सञ्चालन गरिएका सबै आईसोलेशन अस्पतालहरुलाई न्युनतम अक्सिजनसहितको १५ सय बेड निर्माण गर्न, भारतबाट नेपाल भित्रिने नेपाली नागरिकहरुको व्यवस्थापन गर्न नाकामै चेकजाँचको व्यवस्था र आईसोलेशन सेन्टर स्थापना गरी संक्रमितहरुलाई त्यहीँ उपचारको व्यवस्था गर्न र अस्पतालमा भर्ना भएका कोरोना संक्रमित बिरामीहरुको खानाको व्यवस्था निःशुल्क गर्न समेत दलहरुले माग गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप