बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सगरमाथा आधार शिविरबाट फर्केका १२ जनामा कोरोना सङ्क्रमण

शुक्रबार, २४ वैशाख २०७८, १९ : ५७
शुक्रबार, २४ वैशाख २०७८

काठमाडौं । हिमाली जिल्ला सोलुखुम्बुमा कोरोना सङ्क्रमितको सङ्ख्या २१ पुगेको छ । सगरमाथा आधार शिविरबाट फर्किएका १२ र सोलुदूधकुण्ड नगरपालिकामा थप एक जनामा पोजिटिभ देखिएसँगै सङ्क्रमितको सङ्ख्या २१ पुगेको हो । 

सगरमाथा आधार शिविरबाट फर्केका दुई विदेशीसहित १२ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको खुम्बुपासाङ ल्हामु गाउँपालिकाका स्वास्थ्य संयोजक अर्थिमाया तामाङले जानकारी दिए । उनका अनुसार यही वैशाख १५ र १६ गते एन्टिजेन परीक्षण गर्दा दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । यस्तै बुधबार दुई तथा बिहीबार र आज चार/चार जनामा सङ्क्रमण पुष्टि भएको उनले बताए। 

तीमध्ये कोरोना सङ्क्रमित दुईमा श्वासप्रश्वासमा समस्या देखिएपछि गाउँपालिकाको आइसोलेशन सेन्टरमा राखी उपचार शुरु गरिएको गाउँपालिकाले जनाएको छ । अन्य आठलार्ई होम आइसोलेशनमा राखिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुका अनुसार आजसम्म चार जनालाई थप उपचारका लागि अन्यत्र रिफर गरिएको छ । खुम्बुपासाङ ल्हामु गाउँपालिकाबाट फिलिपिन्स र दुबईका एक÷एक नागरिकलाई थप उपचारका लागि हेलीकोप्टरमार्फत काठमाडौँ पठाइएको गाउँपालिका स्वास्थ्य संयोजक तामाङले जानकारी दिए ।

यस्तै जिल्ला अस्पताल फाप्लुमा परीक्षण गरेकामध्ये एकलाई काठमाडौँ र एकलाई विराटनगर रिफर गरिएको जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुका सूचना अधिकारी रामनारायण शाहले जानकारी दिए । लिखु हाइड्रोपावरमा गरिएको परीक्षणसहितको तथ्याङ्कलाई आधार मान्ने हो भने अहिलेसम्म जिल्लामा ३० जनामा कोरोना सङ्क्रमण भएको छ तर हाइड्रोपावरले गरेको परीक्षणलाई नेपाल सरकारले आधिकारिक मानेको छैन ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप