शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

'निषेधाज्ञा डायरी' : स्क्रिप्ट लेखनमै बित्छ हरिवंशको दिन

शनिबार, २५ वैशाख २०७८, ०९ : २२
शनिबार, २५ वैशाख २०७८

हरिवंश आचार्य वरिष्ठ हास्य कलाकार हुन् । सबैभन्दा बढी सफल हास्य कलाकारका रूपमा उनलाई धेरैले चिन्छन् । कलाकारका अतिरिक्त लेखक, निर्देशक र गायकका रूपमा समेत परिचित आचार्य अधिकांश समय अभिनय, लेखन, निर्देशन र गायनमा बिताउने गर्छन् । सधैँ केही न केही काममा व्यस्त रहने आचार्य कोरोनाका कारण जारी निषेधाज्ञा सर्वसाधारणझैँ घरभित्र थुनिएर बसेका छन् । टीभी हेर्ने, लेख्ने र घरभित्रै एक्सरसाइज गर्ने उनको अहिले दैनिकी भएको छ । सधैँ एक्सन कटमा व्यस्त रहने र देशविदेशका यात्रामा रहने आचार्य यो निषेधाज्ञामा घरभित्रै रहने र लेखनमा सदुपयोग गर्ने बताउँछन् । कलाकार आचार्यका शब्दमा यस्तो छ उनको 'निषेधाज्ञा​ डायरी' :

मर्निङ वाक ४५ मिनेट

कोरोना कहर कम नभएसम्म घरबाहिर निस्किन्नँ । घरकै कम्पाउन्डभित्र मर्निङ वाक गर्छु । सबैलाई यसै गर्न अनुरोध गर्छु । अन्य समयझैँ निषेधाज्ञाका दिनहरू मेरो सामान्य तवरले बित्ने गरेको छ । बिहानै ५ बजे उठ्ने बानी छ । अहिले पनि त्यही समयमा उठ्छु । उठेपछि पहिले ट्वाइलेट जान्छु, मुख धुन्छु र मर्निङ वाकमा निस्कन्छु ।

पहिले मर्निङ वाक घरबाट टाढा टाढासम्म जान्थेँ । अहिले घरकै कम्पाउन्डभित्र हिँड्छु । करिब ४५ मिनेटको मर्निङ वाक गरेर फर्किन्छु । मर्निङ वाकबाट फर्केपछि योगाका केही आसन गर्छु । त्यसपछि कालो चिया पिएर सामाजिक सञ्जालमा रमाउँछु । केही समय सामाजिक सञ्जालमा भुलेपछि समाचार पढ्छु, नुहाउँछु ।

लेखनमा समय बिताउँछु

निषेधाज्ञा अगाडि सामाजिक सन्देशका केही विज्ञापनमा काम गर्दै थिएँ । निषेधाज्ञा नभएको भए यो समय ती काममा व्यस्त रहन्थेँ । अहिले त्यो काम अझै राम्रो बनाउन स्क्रिप्ट निखार्ने काम गरिरहेको छु ।

हाम्रो टिममा टेलिसिरियल बनाउने कि भन्ने कुरो पनि भएको थियो । त्यसका लागि लेखन कार्य गरिरहेको छु । १२, १५ भागका लागि सिनहरुको लेखन सकिएको छ । यो समय बाहिर निस्कन मिल्दैन । लेखन कार्यमै समय बिताउँछु ।

म घरमा भएको समय बिहानको खाना सधैँ दिनको १२ बजे खान्छु । बिहान हल्का नास्ता लिएकाले खाना ढिलो खाने गरेको हो । शरीरका लागि दिउँसो खाजा खाने चलन छैन ।

गत वर्षको लकडाउनमा पुस्तकहरु पनि पढेको थिएँ । अहिले भने पढ्ने पुस्तक भेटाएको छैन । कहिलेकाहीँ सामाजिक सञ्जालमा यो किताब पढ्नै पर्ने रहेछ भनेर आएका हुन्छन्, ती पनि पढ्छु ।

छोरा, बुहारी, श्रीमतीले फिल्म हेर्नसमेत अनुरोध गर्छन् । उनीहरुसँग हिन्दी सिरिज, फिल्मसमेत हेर्ने गरेको छु । रेगुलर आउने सिरिजहरु राम्रो हुने रहेछ । साँझमा म लेखन कार्य गर्न सक्दिनँ । यो समय फिल्म सिरिज हेर्ने काममा बिताउँछु । बेलुका १० बजे त सुतिसक्छु । १० बजे सुत्न पाएँ भने आफूलाई असाध्यै भाग्यमानी ठान्छु ।

अहिलेको कोरोना डरलाग्दो

अघिल्लो वर्षको भन्दा अहिलेको कोरोना डरलाग्दो छ । छिटो र व्यापक सङ्क्रमण भइरहेको छ । पहिलेभन्दा अहिले मानिस बढी सचेत भएजस्तो लाग्छ । कतिपयले पहिलाको  लकडाउन उत्सवका रूपमा पनि लिए । घरमा बसेर विभिन्न परिकार खाँदै नाचगान गरेर बिताए । यो पटक चाहिँ रोग र पीडाका रूपमा लिएको महसुस गरेको छु ।

कोरोनाको पहिलो लहरमा म पनि सङ्क्रमित भएको थिएँ । त्यसैले यो लहरमा पहिलेभन्दा निकै सचेत छु । यसबाट सर्वसाधारणलाई सचेत गर्न आफ्नै खर्चमा अर्काे जुनी खै कुन्नि कसलाई थाहा छ र खै, यो जुनीमा कोरोनाबाट बचौँ है गीतसमेत बनाएको छु । यो गीत स्वास्थ्य मन्त्रालयले पनि प्रयोग गर्ने भनेर लिएको छ । अहिलेको परिस्थितिमा सरकारलाई पनि सहयोग गर्नुपर्छ भनेर यो गीत बनाइएको हो ।

समय सदुपयोग गर्छु

बितेको लकडाउन यसो त्यसो गर्दैमा बित्यो । यो निषेधाज्ञाको समय पूरै सदुपयोग गर्ने पक्षमा छु । कोरोना लाग्ला भनेर एकदमै सचेत छु । मेरो विचारमा कोरोना लाग्नुअगाडि यसबाट डराउनुपर्छ । लागेपछि भने डराउनु हुँदैन । किनभने यसलाई जित्ने सबैभन्दा ठूलो औषधि आत्मबल हो ।

अहिले धेरै समय कोरोनाका विषयमा सोचिरहने कुरा पनि भएन । यसले मानिसलाई डिप्रेसनमा लैजान्छ ।

म सबैलाई जे कुरामा आफ्नो मन बस्छ त्यही कुरा गर्न सुझाउँछु । किनभने आफूलाई केही न केही कुरामा बिजी राख्न सकियो भने कोरोनामा ध्यान जाँदैन । त्यसले समय विताउन सजिलो हुनुको साथै मानसिक समस्या पनि झेल्नुपर्दैन । अहिले सामाजिक सञ्जाल धेरै हेर्नु हानिकारक छ ।

त्यसमा भ्रामक, दुःखका कुरा बढी देख्न सकिन्छ । यसले मानिसलाई झन् त्रास सिर्जना गरेको छ ।

कोरोना सङ्क्रमित भएको, मृत्यु भएको समाचार सामाजिक सञ्जालमा धेरै देख्न सकिन्छ ।

जिन्दगीमा सबै चिज अस्थायी छ । यो लकडाउन वा निषेधाज्ञा र कोरोना पनि अस्थायी हो । जारी निषेधाज्ञा अवधिभर म लेख्ने, पढ्नेलगायत काम गरेर परिवारसँग समय बिताउँछु । कोरोनाको कहर कम नभएसम्म सकभर बाहिर ननिस्किन सबैलाई अनुरोध छ मेरो । कोरोना तरकारी, फलफूल केमा छ भन्नै सकिन्न । निस्कनै परे सतर्कता अपनाएर मास्क, सेनिटाइजरलगायत प्रयोग गर्न अनुरोध गर्छु ।

यो समय जथाभावी थुक्ने, केरा खाएर बाटोमा फाल्ने, सार्वजनिक स्थानमा चुरोट तान्ने र स्कुलको बसबाट विभिन्न फोहोर सडकमा फाल्ने नराम्रो बानी भएका मानिसको चेतना जगाउने खालको सिरियल निर्माणका लागि पनि लेखन कार्य गर्ने सोच छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप