शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

संसदीय दलको बैठकमा देउवा : प्रधानमन्त्री केपी ओलीको बहिर्गमन आजको आवश्यकता

राष्ट्रपतिले २७ गतेपछि पनि ओलीलाई नै प्रधानमन्त्री घोषणा गर्ने आशंका
शनिबार, २५ वैशाख २०७८, १९ : १५
शनिबार, २५ वैशाख २०७८

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री केपी ओली बहिर्गमन आज आवश्यकता भएको बताएका छन् । काँग्रेस संसदीय दलको शनिबार बसको बैठकमा वर्तमान परिस्थितिबारे सांसदलाई बिफ्रिङ गर्दै देउवाले भने, ‘केपी ओलीको बहिर्गमन आजको आवश्यकता हो । विश्वासको मतमा ओलीजीलाई वैशाख २७ गते असफल पारिन्छ ।’

त्यसपछि कसरी कसरी अगाडि बढ्ने भन्नेबारे सुझबुझ तरिकाले उपाय अपनाउनुपर्ने उनको भनाइ थियो । उनले भने, ‘सरकार निर्माणका लागि जसपाको संस्थागत निर्णय आवश्यक छ । उपेन्द्र यादवको निर्णयले मात्र हुँदैन । यसका लागि छलफल भइरहेको छ ।’

प्रधानमन्त्री ओलीविरुद्ध आक्रमक रुपमा प्रस्तुत भएका देउवाले राष्ट्रपतिको भूमिकामाथि पनि प्रश्न उठाएका थिए । ‘राष्ट्रपतिको भूमिका अमुक पार्टीको नेताको जस्तो भयो । उहाँका कारणले संविधानमाथि बारम्बार प्रहार भयो । राष्ट्रपतिले पदीय दायित्व अनुसारको भूमिका खेल्न सक्नुभएन ।’

राष्ट्रपतिका कारण प्रधानमन्त्री जे पनि गर्ने अवस्था आएको देउवाको आरोप थियो ।

‘केपी ओलीले संविधान विधि पद्धति केही नमान्ने भए । संविधानतः नयाँ सरकार निर्माणका लागि राष्ट्रपतिले आह्वान गर्छिन् कि गर्दिनन् शंका छ । संसदको ठूलो पार्टी भनेर ओलीजीलाई नै प्रधानमन्त्री नियुक्त गरिदिइन् भने के गर्ने ?,’ उनको प्रश्न थियो । देउवाले लुम्बिनी प्रदेशमा अल्पमतमा रहेका शंकर पोखरेललार्ई मुख्यमन्त्री नियुक्त गरिएको विषय स्मरण गराएका थिए ।

देउवाले भने, ‘त्यसैलै एकदम सजकतापूर्वक अगाडि बढ्नुपर्छ । मुलुक जटिल स्थितिमा छ । संविधान विधि कानुन केही नमान्ने राष्ट्रपति र प्रधानमन्त्री भएपछि के हुन्छ ? मुलुक दुर्घटनामा जान थाल्यो ।’ बैठकमा १३ जना सांसदले आफ्नो धारणा राखेका थिए । सबै जना सांसदले काँग्रेसको नेतृत्वमा वैकल्पिक सरकार निर्माणमा जोड दिएका थिए ।

केही सांसदले अविश्वासको प्रस्ताव दर्ता गर्नुपर्ने धारणा राखेपनि विश्वासको मत लिन विशेष अधिवेशन बोलाइएकाले अविश्वास प्रस्तावको औचित्य नभएको बैठकले निष्कर्ष निकालेको छ । देउवा नै आक्रमक रुपमा प्रस्तुत भएपछि सांसदहरुले पनि प्रधानमन्त्री ओलीको चर्को आलोचना गरेका थिए । तर विपक्षी दलका शीर्ष नेतालाई छलफलका लागि बोलाएको भन्दै देउवा बैठकको बीचमै बाहिरिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप