मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

होम आइसोलेसनमा नै ज्यान गुमाउँदै संक्रमित

शनिबार, २५ वैशाख २०७८, १९ : ४०
शनिबार, २५ वैशाख २०७८

गुल्मीको सदरमुकाम तम्घासको जिल्ला अस्पतालमै कोरोना संक्रमितको उपचारका लागि जम्मा ५ शैयाको आइसोलेसन छ । अस्पतालका सुपरिटेन्डेन्ट डाक्टर उत्तम पाच्याका अनुसार त्यो पनि सबै प्याक भएपछि थप चार जना संक्रमितलाई इमर्जेन्सी वार्डमा राखिएको छ ।

शनिबार दिउँसो इस्मा गाउँपालिका–५ का ६८ वर्षीय पुरुषलाई जिल्ला अस्पताल ल्याइयो । बेड अभाव भएपछि एम्बुलेन्स मै राखियो । केही समय पछि उनको एम्बुलेन्समै मृत्यु भयो ।

उनी कोरोना संक्रमित​ भएपछि होम आइसोलेसनमा बस्दै आएको थिए । आज बिहान उनको अवस्था गम्भीर भएपछि इस्माको कोभिड–१९ अस्पतालबाट डाक्टर पठाइएको थियो । तर डाक्टरले आफू भन्दा दक्ष डाक्टर कहाँ पुराउनुपर्छ भनेपछि जिल्ला अस्पताल पठाइएको इस्मा गाउँपालिका प्रमुख लक्ष्मण बिष्ट बताउँछन् ।

पालिकाहरुले यतिबेला होम आइसोलेसनमा जोड दिएका छन् । जब संक्रमित मृत्युको मुखमा पुग्छन् तबमात्र अस्पताल ल्याइन्छ । धेरैले बाटोमा बाटैमा नै ज्यान गुमाउने गरेका छन् । चत्रकोट गाउँपालिका–३ का ६४ वर्षीय पुरुषको पनि शनिवार बिहान घरमै ज्यान गयो ।

सत्यवती गाउँपालिका–६ का उमेर नखुलेका एक जना पुरुषको पनि आज बिहान ज्यान गयो । त्यस गाउँपालिकामा यस अघि दुई जना पुरुषको मृत्यु पनि खैरेनीको आइसोलेसनमा ल्याउदै गर्दा बाटैमा मृत्यु भयो । एक जनाको मृत्यु पश्चातको परीक्षणबाट मात्रै संक्रमित थाह भयो ।

स्वास्थ्य कार्यालय गुल्मीले शनिबार बिहान सार्वजनिक गरेको तथ्यांकमा पछिल्लो २४ घन्टामा १६४ जना संक्रमित थपिएका छन्। दोश्रो लहरमा थपिएका कूल संक्रमितको संख्या ५१८ पुगेको छ ।

ती सबै होम आइसोलेसनमा भनिए पनि जिल्ला अस्पतालमा र केही पालिकाको आइसोलेसनमा केही मानिसहरु राखिएको बताइन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप