बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

एनआरएनएले १ सयवटा अक्सिजन कन्सनट्रेटर उपकरण नेपाल पठाउने

आइतबार, २६ वैशाख २०७८, १३ : ००
आइतबार, २६ वैशाख २०७८

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले तत्काल  करिब २ करोड रुपैयाँ  बराबरको स्वास्थ्य सम्बन्धी सामग्री नेपाल पठाउने निर्णय गरेको छ । गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तको अध्यक्षता शुक्रवार बसेको आकस्मिक बैठकले नेपालमा दिनहुँ बढ्दै गैरहेको कोरोना भाइरसविरुद्ध लड्दै गरेका बिरामीहरूका  लागि १ सयवटा अक्सिजन कन्सनट्रेटरहरु  पठाउने निर्णय गरेको हो ।

बैठकमा गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा.संजिव सापकोटाले नेपालमा कोभिड १९ विरुद्ध लड्नको लागि तत्काल अक्सिजन सिलिन्डर लगायतको समस्या रहेको बताउँदै अल्पकालिन तथा दीर्घकालीन योजनासहित  अघि बढ्नुपर्ने सुझाव दिए ।

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष कुमार पन्तले सरकारको तर्फबाट स्वास्थ्य उपचारमा पहल  हुँदाहुँदै पनि कोरोना भाइरस तिब्र रुपमा बढी रहँदा  विरामीहरूले अस्पतालमा बेड समेत नपाउने अवस्था रहेको जानकारी दिए । बैठकमा संघका उपाध्यक्ष डा.बद्री केसीले गैरआवासीय नेपाली संघ नेपालमा अहिले देखिएको विषम परिस्थितिसँग  जुध्नका लागि आवश्यक सहयोग गर्न तयारी अवस्थामा रहेको जानकारी दिए । उनले संघको सकृयतमा टेलिमेडिसिन सञ्चालन भै रहेको र मानसिक स्वास्थ्य सेवा प्रदान गर्न हेल्पडेक्सको आवश्यकता रहेको बताए ।  

बैठकमा संघका कोषाध्यक्ष महेश श्रेष्ठले कोभिड बिरुद्धको अभियानमा नेपाललाई आर्थिक सहायता गर्न  सक्रिय रहन सबै राष्ट्रिय समितिलाई आह्वान गरे  । बैठकमा बोल्दै गैरआवासीय नेपाली संघ अमेरिकाका महासचिव  पशुपति पाण्डेले एनआरएनए अमेरिकाको सकृयतामा १५ हजार डलर खर्चिएर जनकपुरमा आइसोलेसन केन्द्र स्थापना गर्न लागिएको जानकारी दिए ।

बैठकमा गैरआवासीय नेपाली संघ बेलायतकी अध्यक्ष पुनम गुरुङले बेलायत सरकारलाई खोप उपलब्ध गराइदिन आग्रह गरिएको जानकारी दिइन् । उनले नेपाली दूतावास लण्डनको सहकार्यमा नेपालमा खोप पठाउन बेलायत सरकारलाई आग्रह गरिने बताइन् ।

बैठकमा एनआरएनए अष्ट्रेलियाका अध्यक्ष केशव कँडेलले कोरोना भाइरसको  संक्रमणका बिरुद्ध लड्न नेपालमा सहयोग गर्न अष्ट्रेलियावासी नेपाली समुदायको तर्फबाट आर्थिक संकलन भैरहेको जानकारी दिए ।

संघका महासचिव डा.हेम राज शर्माले सञ्चालन गरेको बैठकमा अमेरिका, अष्ट्रेलिया, आयरल्याण्ड, द नेदरल्याण्डस, बेलायत, साउदी अरब, जापान, यूएई, जर्मनी, रुस, कोरिया, क्यानाडा, अष्ट्रिया, कतार, अफ्रिका, चीन, लगायत संघका करिब दुई दर्जन देशका राष्ट्रिय समितिका अध्यक्ष, महासचिव, केन्द्रीय पार्षद, पदाधिकारी तथा  आइसीसी सदस्यहरुको उपस्थिति थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप