बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारी सिफारिस बिना अक्सिजन बेच्न नपाउने स्वास्थ्य मन्त्रालयको निर्णय प्रति अफिनको आपत्ति

आइतबार, २६ वैशाख २०७८, १३ : ३८
आइतबार, २६ वैशाख २०७८

काठमाडौं । स्वास्थ्य मन्त्रालयको एउटा निर्णयका कारण कोभिड संक्रमणसँग लडाई लडिरहेका बिरामीहरुको स्वास्थ्य जोखिममा पर्न सक्ने भन्दै एसोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युट नेपाल(अफिन)ले आपत्ति जनाएको छ । 

स्वास्थ्य मन्त्रालयले एक सूचना जारी गर्दै आफ्नो सिफारिस बिना कुनै पनि सरकारी, सामुदायिक र निजी अस्पतालहरुलाई अक्सिजन सिलिन्डर भरी बिक्री वितरण नगर्न अक्सिजन उत्पादन सम्बन्धी व्यवसाय गर्दै आएका कम्पनीहरुलाई निर्देशन दिएपछि यसले निजी अस्पतालमा उपचाररत बिरामीहरु मर्कामा पर्ने अफिनले जनाएको छ । 

मन्त्रालयको यो निर्णयप्रति आपत्ति जनाउँदै अफिनका महासचिव हेमराज दाहालले कसैको सहयोग, कुनै पनि निकायको अनुदान बिना आफ्नै बलबुताले कोभिड संक्रमितको उपचारको व्यवस्थापन गरिरहेका अस्पतालहरुले स्वास्थ्य मन्त्रालयको पछिल्लो निर्णयका कारण चाहेर पनि बिरामी लिन नसक्ने अवस्था आउनसक्ने तर्फ चिन्ता व्यक्त गरेको छ । 

अहिले काठमाडौंका सबै निजी अस्पतालहरुले कोभिड अस्पतालको रुपमा सेवा रुपान्तरण गरिरहेका छन् । अस्पतालमा भर्ना भएका मध्ये ८० प्रतिशत बढी बिरामीलाई अक्सिजन अनिवार्य भएको पनि अफिनले जनाएको छ । 

‘नागरिकको स्वास्थ्य अधिकारका लागि निजी क्षेत्रले सधैं राज्यसँग हातेमालो गर्दै आएको छ । हामी पनि कोरोना संक्रमितको उपचारमा बलबुताले भ्याएसम्म तल्लीन छौं ।’ अफिनका महासचिव हेमराज दाहालले भने– ‘जिल्लास्थित प्रमुख जिल्ला अधिकारीहरुले निजी क्षेत्रको अस्पतालसँग समन्वय गर्नुपर्यो भनिरहनु भएको छ, त्यो भइरहेको पनि छ । तर केन्द्रले भने यस्तो महामारीको अवस्थामा पनि निजी क्षेत्रलाई निरुत्साहित बनाई गलत निर्णय गरेको छ । यसले निजी अस्पतालमा उपचार गराइरहेका र अक्सिजनको आवश्यकता रहेका बिरामीहरुको स्वास्थ्य जोखिममा पर्नसक्ने देखिएको छ ।’ 

स्वास्थ्य मन्त्रालयको नयाँ निर्देशनपछि अक्सिजन सप्लायर्सहरुले सिफारिस लिएर आउनु भन्दै अक्सिजन रोकिदिएका र त्यसले निजी क्षेत्रमा उपचाररत सयौं बिरामीलाई आवश्यक अक्सिजन नै अभाव हुने हो कि भन्ने चिन्ता बढाइदिएको दाहालले बताए । मन्त्रालयको यस्तो निर्णयबाट विगतमा वार्षिक सम्झौता गरी सम्बन्धित अस्पतालमा नियमित रुपमा आपूर्ति गर्ने प्रतिबद्धता व्यक्त गरेका अक्सिजन कम्पनीहरुलाई मन्त्रालयको पत्र बिना अक्सिजन दिन नसकिने भने आफ्नो उत्तरदायित्त्वबाट पन्छिने मौका पनि मिलेको दाहालको दाबी छ । 

‘यो निर्णयका कारण सबै निजी अस्पतालले अक्सिजन छैन, बिरामी अन्त लानुस् भन्ने अवस्था आयो ।’ निजी अस्पतालको छाता संगठन समेत रहेको अफिनका महासचिव दाहालले भने, ‘सरकारी अस्पतालमा शैया छैन, शैया उपलब्ध हुने निजी अस्पतालमा अक्सिजन छैन, अनि बिरामीको उपचार कसरी गर्ने ? कसरी कोभिड संक्रमितको ज्यान बचाउने ?’

दाहालले स्वास्थ्य मन्त्रालयसँग अफिनको तर्फबाट निर्णयमाथि पुनर्विचारको आग्रह गरेका छन् । उनले कोभिड संक्रमितको व्यवस्थापन, संक्रमण नियन्त्रण र नागरिकको सहज र स्तरीय उपचारका लागि विज्ञसहितको सर्वपक्षीय टिम बनाउन समेत सुझाव दिएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप