शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

काली गण्डकी माथि बन्यो नेपालकै पहिलो स्काई चियर, कफी पिउँदै हिमाल र बन्जीको मज्जा लिन सकिने

आइतबार, २६ वैशाख २०७८, २० : ०७
आइतबार, २६ वैशाख २०७८

कुश्मा । एशिया कै नमुना झोलुङ्गे पुल बनाएर बन्जी र स्वीङ सञ्चालन गर्दै आएको द क्लिफ प्रालिले आफ्नै रिसोर्ट परिसर बागलुङको बलेवामा नेपालकै पहिलो स्काई चियरको निर्माण गरेको छ।

कालीगण्डकी खोँच माथिको स्काई चियरमा बसेर कुश्मा बजार, धौलागिरि हिमाल, बन्जी र स्विङ गरेको लगायतका मनोरम दृश्य हेर्न पाइनेछ। पर्यटकले स्काई चियरमा बसेर कफी पिउन, खाजा खान लगायत फोटो भिडियो खिचाउन सक्नेछन् । 

विद्यमान निषेधाज्ञा पश्चात् सर्वसाधारणका लागि स्काई चियर खुला गरिने द क्लिफले बताएको छ। एक पटकमा दुई जना बस्न मिल्ने स्काई चियर नदीबाट २ सय ५० मिटर अग्लो भएको कम्पनीका अध्यक्ष राजु कार्कीले बताए। 

रिपोर्ट परिसरमै हाई रोप स्टेसनको निर्माण धमाधम भइरहेको छ। स्टिल केवलको सहायतामा हार्नेस लगाएर भिरमा हनि हन्टिङ गर्ने शैलीमा हाइ रोप स्टेसन चढिने कार्कीले बताए। स्टेसन नदीबाट २ सय ५० मिटर अग्लो हुने बताइएको छ। 

साथै रिसोर्टमै भगवान पाइलाको निर्माण भइरहेको छ। जमिनबाट ५ मिटर अग्लो हुने पाइलामा गएर पर्यटकले आसपासका दृश्यावलोकन गर्न सक्छन्। पाइला पनि नदीबाट २ सय ५० मिटरको उचाइमा रहने बताइएको छ। पाइलाको तल सेफ्टीनेट राखेर सुरक्षा सावधानी अपनाइने बताइएको छ।

यस्ता खालका गतिविधिले पर्यटकलाई उचाइको डरसँग सामना गर्न सघाउने बताउँदै कार्की थप्छन्, 'भोलिका दिनमा पनि अन्य साहसिक गतिविधि थप्दै लैजाने योजना रहेको छु ।'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप