शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

देउवालाई नसघाउने महन्थ ठाकुरको निर्णय

सरकार गठनमा संलग्न हुने कार्य जसपाको उद्देश्य विपरीत हो : ठाकुर
मङ्गलबार, २८ वैशाख २०७८, ०९ : ०६
मङ्गलबार, २८ वैशाख २०७८

प्रतिनिधिसभामा तटस्थ बसेका जनता समाजवादी (जसपा) अध्यक्ष महन्थ ठाकुरले नयाँ सरकार गठन प्रक्रियामा शेरबहादुर देउवालाई नसघाउने स्पष्ट पारका छन् । १५ सांसदसहित सरकारको चाबी हातमा लिएर बसेका ठाकुरको यो निर्णयसँगै नयाँ सत्ता समीकरणमा जुटेका काँग्रेस, माओवादी र उपेन्द्र यादव पक्षमा चुनौती थपिएको छ ।

अध्यक्ष ठाकुरले सोमबार राति एक विज्ञप्ति जारी गरेर भनेका छन्, ‘जसपा सत्ताको प्राप्तिभन्दा एजेण्डा सम्बोधनको विषयमा केन्द्रित रहेको र मुद्दा सम्बोधन नै जसपा नेपालको मूल ध्येय रहेको अवस्थामा मुद्दाबाट विचलित भई सरकार निर्माण गर्ने, सरकारमा सहभागी हुने वा कुनै पनि किसिमको वैकल्पिक सरकार गठनमा संलग्न हुने कार्य जसपा नेपालको उद्देश्य विपरीत हो ।’

ठाकुरले एक जिम्मेवार राजनैतिक पार्टीको नाताले जसपा नेपाल मधेशी, आदिवासी, जनजाति, थारु, दलित महिला, मुस्लिम लगायतका सीमान्तकृत, शोषित, पीडित, उपेक्षित समुदायको एजेण्डा सम्बोधनका लागि निरन्तर संघर्ष गर्ने पनि उल्लेख गरेका छन् ।

चाबी ठाकुरकै हातमा

यसैबीच, नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले प्रतिनिधिसभामा आफ्नो विश्वासको मत लिन नसकेपछि नयाँ सरकार गठनको प्रकृया सुरु भएको छ ।

काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी नेपाल (उपेन्द्र यादव पक्ष) ले सरकार बनाउने प्रकृया सुरु गरेसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले ३० गतेभित्र आफ्नो सरकार निर्माणका लागि दावी पेस गर्न आह्वान पनि गरिसकेकी छिन् ।

सरकार निर्माणको प्रकृया सुरु भएपनि जसपा नेपालका महन्थ ठाकुर पक्षले सहयोग नगरेसम्म अझै नयाँ गठबन्धनको सरकार बन्ने सम्भावना छैन । सरकार बनाउनका लागि १३६ सांसद चाहिन्छ तर विपक्षी (काँग्रेस, माओवादी केन्द्र र जसपा) गठबन्धनसँग हाल १२४ मत मात्रै छन् । सरकार बनाउनका लागि अझै १२ मतको आवश्यकता पर्छ, जो महन्थ ठाकुरसँग मात्र छन् ।

महन्थ ठाकुरसँग १५ जना सांसद छन् । जसले हिजोको विश्वा मतको लागि भएको मतदानमा तटस्थ पक्षमा मतदान गरेका थिए ।

यद्यपि तीन दलीय गठबन्धनले जसपा नेपालका अध्यक्ष महन्थ ठाकुरलाई फकाउने प्रयास गरिरहेको छ ।

काँग्रेस भन्छ– ठाकुरसँग छलफल हुन्छ

नेपाली काँग्रेसका नेता डा.प्रकाशशरण महतले प्रधानमन्त्री ओली नेतृत्वको सरकार ढलेपछि नयाँ सरकार गठनको प्रयास भइरहेको बताउँदै त्यसका लागि हरेक दलसँग छलफल चलिरहेको बताए । हिजो विपक्षमा खसेको मतको आधारमा मात्र सरकार बन्ने अवस्था छैन, तर त्यसबाहेक अन्य मतहरु पनि संसदमा छन्, ती दलहरूसँग कुराकानी चलिरहेको उहाँले बताए । 

जसपा नेपालका अध्यक्ष ठाकुर पक्षका सांसदहरु तटस्थ बसेका कारण उनीहरुसँग कुरा गर्ने आधार बाँकी रहेको बताउँदै महतले अध्यक्ष ठाकुरसँग पनि छलफल हुने बताए । अध्यक्ष ठाकुरले आफूहरुको माग जसले पूरा गर्छन्, त्यसलाई समर्थन गर्ने भनेका छन्, नयाँ गठबन्धनले त्यस विषयमा विचार गर्दै छलफललाई अगाडि बढाउने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप