कोरोनाको कहर : २४ घण्टै ड्यूटीमा पशुपतिका दाउरे दाइ
काठमाडौं । सुकबहादुर तामाङले आफ्नो जीवनको ३० वसन्त पशुपति आर्यघाट नजिकै रहेको टिम्बर कर्पोरेसनको काठ डिपोमा बिताइसके । सिन्धुपाल्चोक घर भएका ६२ वर्षीय तामाङको दिनचर्या भनेकै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने शवहरूको लागि दाउरा काटेर तयार पार्नु हो । हरेक दिन ड्युटीमा खटिरहने सुक बहादुर सोमबार पनि त्यसरी नै दाउरा काटिरहेका थिए । कोरोनाका कारण मृत्यु हुनेको संख्या बढ्दै गएपछि आर्यघाटमा दाउराको माग बढेसँगै उनको व्यस्तता झन् बढेको छ ।


“दाउरा चिर्नेको काम गर्ने हामी ६ जना छौँ । पहिला त निकै कम दाउराको माग आउँथ्यो अहिले एक दिनमै हामी प्रत्येकले झण्डै ६ देखि ७ हजार किलो दाउरा काट्न परेको छ । खाना र आरामको केही टुंगो नै हुन्न । घाटले दाउरा सकिन लाग्यो भन्ने बित्तिकै म बन्चरो लिएर काठ चिर्न थालिहाल्छु । देशभरबाट नै यहाँ शव ल्याउने गरेको छ उनीहरुको काम पनि रोकिदिन त भएन नि,” तामाङले भने ।

नजिकै रहेको शवदाह गृहमा चाप बढेपछि अहिले पशुपति क्षेत्र विकास कोषले बागमती किनारमा अस्थायी शवदाह स्थल बनाएको छ जहाँ कोरोनाका कारण ज्यान गुमाएकाको अन्त्येष्टी गर्ने गरिन्छ ।

शवदाह स्थल भन्दा केही मिटर मात्रै पर रहेको काठ डिपोलाई पशुपति क्षेत्र विकास कोषले पछिल्लो १० दिनमा मात्रै एक लाख किलो भन्दा बढी दाउरा ल्याइदिनका लागि चिठ्ठी पठाएको त्यहाँका इन्चार्जले बताए ।

“पछिल्लो १० दिनमा मात्रै पशुपति क्षेत्र विकास कोषले एक पटक ३४ हजार ८ सय केजी र अर्को पटक ७१ हजार केजी दाउरा आपूर्ति गर्नको लागि चिठ्ठी पठाएको छ । हामीले पनि त्यही अनुसार नै आपूर्ति गरेका छौ । अन्य समयमा दैनिक माग औसतमा करिब ६ देखि ७ हजार किलोग्राम हुने गर्थ्यो अहिले यो कैयन गुणाले बढेको छ,’ टिम्बर कर्पोरेसन नेपालको पशुपति स्थित डिपोका इन्चार्ज द्रोणप्रसाद पोखरेलले रातोपाटीलाई जानकारी दिए ।

पशुपतिमा रहेको रामघाटमा दाउरा आपूर्ति जिम्मा पाएको टिम्बर कर्पोरेसनले हरेक वर्ष औसतमा २४ देखि २५ लाख केजी दाउरा पशुपति क्षेत्र विकास कोषलाई आपूर्ति गर्दै आएको छ । यो वर्ष यो संख्या अझै बढ्ने आँकलन गरिएको छ ।

“आर्यघाटलाई खाँचो पार्न भएन नि । हाम्रो डिपो २४ सै घण्टा खुल्छ, त्यसैले म यहीँ डिपोमा सुत्छु । राती दाउरा चाहियो भनेर कोही आयो भने म आफै घन र बन्चरो लिएर दाउरा चिर्न थालिहाल्छु,” तामाङले भने ।








खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन
-
पोखरा–दुबई हवाई उडानका लागि फ्लाई दुबईले पायो अनुमति
-
१२ बजे १२ समाचार: २५ वटा सेवामा हडताल गर्न निषेधदेखि ‘मुसा प्रवृत्ति’को बिगबिगीसम्म
-
सुशासन र समृद्धिका तगाराहरू
-
कागजी सुशासन र अलपत्र विकास
-
विभेदबाट मुक्ति र सामाजिक न्याय स्थापना गर्न नसक्नु सुशासन र समृद्धिका तगारा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण