बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौंका ठूला भवन आइसोलेशन केन्द्रका रुपमा सञ्चालन गरिने

मङ्गलबार, २८ वैशाख २०७८, १४ : ५४
मङ्गलबार, २८ वैशाख २०७८

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले काठमाडौंँमा उपलब्ध ठूला भवनलाई आइसोलेशन केन्द्रका रुपमा सञ्चालन गरी कोरोना संक्रमितको उपचार प्रभावकारी बनाइने बताएका छन् । स्थानीय वसुन्धरामा सञ्चालन हुन लागेको ‘राधा स्वामी कोभिड आइसोलेशन तथा अक्सिजन थेरापी सेन्टर’को आज निरीक्षण गर्दै कोभिङ–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्रका संयोजक पोखरेलले  मुख्यसचिव डा.शंकरदास वैरागी र काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई  आइसोलेशन केन्द्र सञ्चालन गर्ने प्रबन्ध मिलाउन टेलिफोनबाट निर्देश गरे । उपप्रधानमन्त्री पोखरेलको निर्देशनपछि यसै सातादेखि नेपाली सेनाले सो केन्द्र सञ्चालनमा ल्याउने तयारी गरेको छ ।

तत्काल ८८ शय्याको अक्सिजन थेरापी सुविधासहित चल्न लागेको आइसोलेशन केन्द्रका लागि राधा स्वामी केन्द्रले भवन उपलब्ध गराएको हो । आवश्यकतानुसार दुई सय शय्यासम्म सञ्चालन गर्ने तयारी गरिएको छ । आइसोलेसन केन्द्रका लागि चाहिने पूर्वाधारका लागि कामपाले बजेट र  नेपाली सेनाले उपचार, सुरक्षा र व्यवस्थापनको जिम्मेवारी लिएका छन् ।  आइसोलेशन केन्द्र चलेपछि कोरोनाका बिरामीको उपचारमा थप राहत मिल्ने विश्वास लिइएको छ ।

उपप्रधानमन्त्री पोखरेललाई नेपाली सेनाका क्लिनिक रजिष्ट्रार महासेनानी डा.सुमनराज डंगोलले केन्द्रका बारेमा जानकारी गराएका थिए । सो अवसरमा टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी र  उपप्रमुख ज्ञानमाया   डंगोलको पनि सहभागिता रहेको उपप्रधानमन्त्रीका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप