बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

तत्काल अक्सिजन नपाए कोभिडका बिरामी भर्ना नलिने मेडिसिटी अस्पतालको चेतावनी

मङ्गलबार, २८ वैशाख २०७८, १५ : ४८
मङ्गलबार, २८ वैशाख २०७८

ललितपुर । कोभिड १९ संक्रमित बिरामीहरुको उपचार गराउँदै आएको ललितपुर स्थित नेपाल मेडिसिटी अस्पतालले तत्काल अक्सिजनको सहज आपुर्ति गरिदिन नेपाल सरकारसँग अपिल गरेको छ । 

प्रत्येक दिन ४ सय ५० देखि ५ सय अक्सिजन सिलिन्डर आवश्यक पर्नेमा नेपाल सरकारबाट १ सय सिलिन्डर मात्र प्राप्त हुने जानकारी आएसँगै कोरोना संक्रमितको उपचारमा समस्या भएको भन्दै अस्पतालले नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सिसिएमसी र सम्बन्धित निकायहरुसँग तत्काल अक्सिजनको व्यवस्था गरिदिन अपिल गरेको हो ।  

अस्पतालले आज एक विज्ञप्ती जारी गर्दै १ सय सिलिन्डर मात्रले कुनै पनि हालतमा उपचार गर्न सम्भव नहुने भएकाले शोका लागि सहज आपूर्ति गर्ने व्यवस्था मिलाउन माग गरेको हो । 

अस्पताल विज्ञप्तीमा भनेको छ, ‘कोभिड १९ को विश्वव्यापी महामारीले निम्त्याएको हालको यस अवस्थामा नेपाल मेडिसिटी अस्पतालले आफ्नो सम्पूर्ण क्षमता, जनशक्ति र संयन्त्रको उपयोग गरी कोभिडका बिरामीहरुको उपचारमा संलग्न भइरहेको व्यहोरा अवगत गराउन चाहन्छौं ।’

अस्पतालका सुपरिन्टेन्डेन्ट तथा प्रवक्ता डा. राज राणाले जारी गरेको विज्ञप्तीमा अगाडि भनिएको छ, ‘यस परिस्थितीमा अस्पतालले कोभिड तथा नन कोभिड बिरामीहरुको सुरक्षित तवरले उपचार गराइरहँदा हाल आएर अक्सिजनको चरम अभाव महशुस गरीएको छ । अहिले अस्पतालमा १ सयजना भन्दा बढी नन कोभिड बिरामीहरु तथा १२० जना भन्दा बढी कोभिडका बिरामीहरुको उपचार भइरहेकोमा ४० जना भन्दा बढी भेन्टिलेटर सहितको विभिन्न सघन उपचार कक्षमा रहेको र यो संख्या देशभरकै अस्पतालहरू मध्ये ठूलो संख्यामा रहेको समेत जानकारी गराउँदछौं ।’  

अहिलेको विषम परिस्थितिका कारण सिर्जना भएको अक्सिजन अभाव लगायत अन्य समस्याका कारण कोभिड १९ संक्रमणका जटिल स्थितिका बिरामीहरुको नयाँ भर्ना लिन अस्पताल असमर्थ रहेको  र हाल उपचाररत बिरामीहरुलाई समेत अक्सिजन अभावमा यस अस्पतालमा उपचार गर्न नसकिने अवस्था निर्माण हुन सक्ने अवस्था रहेको पनि अस्पतालले जनाएको छ ।

स्थिती सामान्य बन्दै आवश्यक अक्सिजन परिमाण र अन्य सामग्रीहरु प्राप्त भएसँगै नयाँ भर्नाका लागि अस्पताल तयार रहेको पनि जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप