शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

निषेधाज्ञाको साइड इफेक्ट भन्सार र राजस्वमा : आयात र निर्यातको के छ अवस्था ?

वीरगञ्जको भन्सार कार्यालय प्रमुख चपेटामा
बुधबार, २९ वैशाख २०७८, १० : २९
बुधबार, २९ वैशाख २०७८

काठमाडौँ । कोरोना सङ्क्रमणको दोस्रो लहरले  निषेधाज्ञाको साइड इफेक्ट विस्तारै मुलुकका भन्सार कार्यालहरूमा देखिन थालेको छ । कोरोना भाइरसको तीव्र सङ्क्रमण रोकथाम गर्न सरकारले निषेधाज्ञा घोषणा गरेको करिब दुई साता पनि नबित्दै यसको प्रभाव मुलुकको आयात, निर्यात र राजस्व सङ्कलनमा देखिन थालेको भन्सार कार्यालहरूले बताएका छन् ।

यस्तो प्रभाव बन्दाबन्दीका बेला नाकाको अवरोध वा आयात, निर्यातमा प्रतिबन्ध लागेर नभई बजार अभावका कारण व्यवसायीले नै मालसामान ल्याउन नचाहेकाले देखिएको भन्सार कार्यकालहरूको भनाइ छ ।                          

यद्यपि दक्षिण (भारत) तर्फका नाकाबाहेक उत्तर (चीन) तर्फका नाका भने अहिले पनि साबिककै रूपमा सञ्चालन भइरहेको भन्सार विभागले जनाएको छ ।

‘अहिलेसम्म उत्तर–दक्षिण कुनै पनि भन्सार नाकामा निषेधाज्ञाको अवरोध आएको वा आयात–निर्यातमा समस्या आएको सूचना आएको छैन । हालसम्म साबिककै परिमाणमा आयात– निर्यात भइरहेको भन्ने पाएका छौँ । जहाँसम्म कोभिड–१९ को प्रभावको कुरा छ, तुलनात्मक रूपमा उत्तरतर्फ भन्दा दक्षिणतर्फका नाकाहरू प्रभावित बन्दै गएको सुन्नमा आएको छ । तर त्यता पनि केकति प्रभाव परेको छ, त्यो भने अहिले नै यकिन भइसकेको छैन । केही दिनमा नतिजा आउँला’ भन्सार विभागका प्रवक्ता शिशिर घिमिरेले रातोपाटीलाई बताए ।

प्रवक्ता घिमिरेका अनुसार यतिबेला छिमेकी मुलुक भारत नै कोरोना सङ्क्रमणको तीव्र मारमा रहेकाले त्यसको प्रभाव भन्सार क्षेत्रमा पनि परेको हुनसक्छ । तर उताबाट लोड भइसकेका माल सामान नेपाल आइपुग्न कम्तीमा पनि २०, २२ दिन लाग्ने हुँदा त्यसको प्रभाव  अहिले नै यकिन नहुने उनले भनाइ छ ।

उता चीनतर्फको नाकामा पनि कुनै अवरोध नभएको अवस्थामा माल सामान आउने समयावधिलाई हेरेर मूल्याङ्कन हुने घिमिरेले बताए ।

मुख्य चपेटामा वीरगञ्ज भन्सार कार्यालय

मूलतः यतिखेर कोभिड–१९ को दोस्रो लहर निषेधाज्ञाको प्रमुख चपेटामा वीरगञ्ज भन्सार कार्यालय परेको देखिन्छ । भारतीय माल सामानको प्रवेशद्वार मानिने यो नाका यतिखेर कोभिड–१९ को दोस्रो लहरले भारत र नेपाल दुवैतर्फ परेकाले कमै सञ्चालनमा रहेको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।

यसबारे रातोपाटीलाई जानकारी दिँदै वीरगञ्ज भन्सार कार्यालय प्रमुख ढुण्डीप्रसाद निरौलाले तुलनात्मक रूपमा निषेधाज्ञापछि वीरगञ्ज भन्सारमार्फत हुने आयात झण्डै ५० प्रतिशतले नै घटेको र सोको प्रभाव अहिले राजस्व सङ्कलनमा परिरहेको बताए ।

‘सामान्य अवस्थामा अहिले वीरगञ्ज भन्सार कार्यालयको आयात दर र राजस्व दुवै घटेको अवस्था छ भन्ने नै हो भने अहिले यहाँको राजस्व सङ्कलन झण्डै ५० प्रतिशतले नै घटेको छ,’ निरौलाले भने,  सामान्यतया सरदर दैनिक ७० करोड राजस्व सङ्कलन भइरहेकामा  कोभिड–१९ को दोस्रो लहर निषेधाज्ञापछि वीरगञ्ज भन्सार कार्यालयले दैनिक करिब ३५ करोड जति मात्र राजस्व सङ्कलन गरिरहेको छ ।’

निरौलाका अनुसार गत चैतमा अधिकतम १९ अर्ब ८७ करोड राजस्व सङ्कलन गरेको भन्सार कार्यालयले वैशाखमा मुस्किलले १४ अर्ब जति मात्र सङ्कलन गर्न सकेको छ । जब कि वैशाखका लागि भन्सार कार्यालयले १९ अर्ब ४४ करोडको राजस्व लक्ष्य पाएको थियो ।

निरौलाका अनुसार यतिखेर वीरगञ्ज भन्सारमार्फत खाद्यान्न र पेट्रोलियम पदार्थको आपूर्तिबाहेकका अन्य सबै खाले अतिरिक्त मालसामानको आयातमा कमी आएको छ । उद्योग, कलकारखानका आवश्यक कच्चा पदार्थदेखि मेसिनरी सामग्री, सवारी साधन र गार्मेन्टका सामानको आयातमा तीव्र गिरावट आएको छ ।

चालू आर्थिक वर्षका लागि कुल १ खर्ब ७० अर्ब ७६ लाख ४५ हजार राजस्व लक्ष्य पाएको वीरगञ्ज भन्सार कार्यालयले वितेको ९ महिनामा कुल १ खर्ब २४ अर्ब ७७ करोड ४९ लाख ८० हजार रुपैयाँ राजस्व सङ्कलक गर्न सफल भएको छ ।

तातोपानी नाका

उत्तरतर्फको कोदारी, तातोपानी नाका कोभिड–१९ को निषेधाज्ञाकै बीच पनि सामान्य अवस्थामा रहेको तातोपानी भन्सार कार्यालयले जनाएको छ । गत साउन–भदौदेखि केही प्राविधिक कारणले बेलाबखत अवरोध, बन्द हुँदै खुल्दै गरे पनि हाल नाका निर्वाध सञ्चालनमा रहेको तातोपानी भन्सार कार्यालय प्रमुख लालबहादुर खत्रीले रातोपाटीसँग बताए ।

हाल दैनिक सदर ८ देखि १० वटा मालवाहक कन्टेनर तातोपानी भन्सार हुँदै नेपालतर्फ छुट्ने गरेको उनको भनाइ छ ।

‘अहिलेकै अवस्थामा तातोपानी भन्सार कार्यालयलाई कोभिड–१९ को सङ्क्रमण निषेधाज्ञाको प्रभाव परेको भन्न मिल्दैन । निर्वाध चिनियाँ माल सामान लोड भएका कन्टेनरहरू नेपाल छिरिरहेका छन् । यस्तो सङ्ख्या दैनिक अधिकतम १२ देखि १४ वटासम्म कन्टेनर पुग्ने गरेका छन् ।

विशेषगरी यतिखेर निर्माण क्षेत्रका, हाइड्रोपावरमा प्रयोग हुने मेसिनरी माल सामान र कृषि मलको आयात यो नाकाबाट भइरहेको छ,’ खत्रीले भने, ‘चालू आर्थिक वर्षमा मात्र यो नाका हुँदै झण्डै ४०० कन्टेनर कृषि मल आयात भएको छ ।’

तर कृषि मलमा राजस्व लिन नपाइने हुँदा तातोपानी भन्सार कार्यालयले अपेक्षित राजस्व सङ्कलन गर्न नसकेको भन्सार प्रमुख खत्रीको भनाइ छ ।

यद्यपि चालू आर्थिक वर्षको ९ महिनामा मात्र तातोपानी भन्सार कार्यालयले कुल ७७ करोड राजस्व सङ्कलन गर्न सफल भएको उनको भनाइ छ ।

‘राजस्व सङ्कलनकै कुरा गर्ने हो भने त यो वर्ष तातोपानी भन्सार कार्यालयले गत वर्षको भन्दा पनि राम्रो राजस्व सङ्कलन गरेको छ । ९ महिनाको तथ्याङ्क हेर्दा झण्डै ७७ करोड राजस्व सङ्कलन भइसकेको छ । तर पनि यो वर्षको १ अर्ब ५९ करोडको लक्ष्य भेटिनेमा हामी पूर्णतः विश्वस्त छैनौँ । किनभने कोभिड–१९ को प्रभाव यस पटक भन्सारमा राजस्व नै नउठ्ने वस्तु मलको आयात बढी छ । तर पनि आर्थिक वर्षको अन्त्यसम्ममा कम्तीमा १ अर्ब राजस्व उठ्छ कि भन्नेमा छौँ,’ भन्सार प्रमुख खत्रीले भने ।

केरुङ– रसुवागढी नाका

उत्तरतर्फकै अर्को नाका, केरुङ– रसुवागढी नाकामा समेत कोभिड–१९ को दोस्रो लहर खासै प्रभाव नपरेको रसुवागढी भन्सार कार्यालय प्रमुख रामप्रसाद रेग्मीले रातोपाटीसँग बताएका छन् । कोभिड–१९ को दोस्रो लहर निषेधाज्ञाको समयमा समेत रसुवागढी नाका हुँदै दैनिक ६–७ वटा मालबाहक कन्टेनर निर्वाध नेपाल प्रवेश गरिरहेको भन्सार प्रमुख रेग्मीले जानकारी दिए ।

त्यसो त गत वर्षदेखि नै कोरोना भाइरसको विश्वव्यापी सङ्क्रमणपछि लामो समय एकतर्फी नाका बन्द गराएको चिनियाँ पक्षले खुला भएको समयदेखि नै नेपाल प्रवेश गर्ने मालबाहक कन्टेनरलाई कोटा लगाउँदै आएको छ । सुरुमा दैनिक ४ वटा मात्र कन्टेनर नेपाल प्रवेश गर्न दिएकोमा पछिल्लो समय चिनियाँ पक्षले दैनिक ८ वटासम्म कन्टेनर प्रवेश गर्न दिइरहेको छ ।

यस्तो अवस्थामा अहिलेको कोभिड–१९ को दोस्रो सङ्क्रमणका बेलामा चिनियाँ पक्षबाट मालसामान आयातमा कुनै अवरोध नभएको भन्सार प्रमुख रेग्मीले रातोपाटीसँग बताए ।

‘अहिलेको अवस्थामा केरुङ, रसुवागढी नाका प्रभावित भएको अवस्था छैन । जुन कोभिडपछिको आयात निर्यातको दर थियो सोही दरमा अहिले पनि माल सामान आइरहेकै छन् । बरु यता कोभिडको दोस्रो सङ्क्रमणको निषेधाज्ञाका कारण बजार, उद्योग कलकारखाना बन्द हुँदा व्यवसायीले नै सामान ल्याउन कम गरेकाले अब आयात घट्छ कि भन्ने भएको छ । तर अहिले नै घटिसकेको अवस्था भने होइन,’ रेग्मीले भने ।

रेग्मीका अनुसार हालसम्म रसुवागढी भन्सार कार्यालयले दुई अर्बभन्दा माथिको राजस्व सङ्कलन गरिसकेको छ भने चालू आर्थिक वर्षको अन्त्यसम्ममा करिब साढे ३ अर्ब राजस्व सङ्कलन हुने अपेक्षा गरेको छ ।

यद्यपि यस वर्षको भन्सार राजस्व असुलीको लक्ष्य भने कुल ११ अर्बको हो ।

गत वर्षदेखिको निरन्तर अवरोध र चालू आर्थिक वर्षमा समेत कोभिड सङ्क्रमणका साथै प्राविधिक समस्याका कारण लक्ष्यमा ब्रेक लाग्न पुगेको भन्सार प्रमुख रेग्मीको भनाइ छ ।

त्यसो त हालसम्म थोरै कोटमा भने पनि निर्वाध माल सामान आयात भइरहेको अवस्थामा कोभिड–१९ को तीव्र सङ्क्रमण चिनियाँ पक्षबाट के हुने हो र आफ्नै क्षेत्रबाट समेत कस्तो अवस्था रहने हो भन्ने अन्योलका बीच अहिले नै यसै भन्न सकिने अवस्था नभएको भन्सार प्रमुख रेग्मीको भनाइ छ ।

हाल रसुवागढी नाका हुँदै चिनियाँ स्याउ, प्याज, लसुन र थोरैथोरै मात्र ओख्खर आयात भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप