शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना नियन्त्रणमा सक्रिय बन्दै मकवानपुरका स्थानीय तह

बुधबार, २९ वैशाख २०७८, ११ : ३०
बुधबार, २९ वैशाख २०७८

मकवानपुरमा कोरोना संक्रमण बढ्दै गएपछि स्थानीय जनप्रतिनिधिले अक्सिजनसहितको आइसोलेसनको व्यवस्थापनमा जोड दिएका छन् ।

कोरोना संक्रमण दर बढ्दै गएपछि जिल्लाको हेटौँडा उपमहानगरपालिका, थाहा नगरपालिका र ८ वटा गाउँपालिकाले संक्रमितको उपचारका लागि अक्सिजनसहितको आइसोलेसन वार्ड निर्माण कार्य तीव्र बनाएका हुन् ।

थाहा नगरपालिकाले स्थानीय स्तरमा २० बेडको आइसोलेसन कक्ष निर्माण  गरेको छ । बज्रबाराहीमा निर्मित आइसोलेसन कक्ष तयार भइसकेको र अब सेवा दिन सकिने नगरपालिकाले जनाएको छ ।

थाहा नगरमा हाल १३५ सक्रिय संक्रमित रहेको नगरपालिकाका प्रमुख लवशेर विष्टले जानकारी दिए । अधिकांश संक्रमित होम आइसोलेसनमा रहेको र पालिकाबाट दैनिक रुपमा उनीहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिइएको उनले बताए ।

होम आइसोलेसनमा बसेका संक्रमितहरुका लागि सहुलियत दरमा अक्सिमिटर उपलब्ध गराउने कामसमेत भइरहेको उनले बताए ।

आर्थिक अवस्था कमजोर हुने संक्रमितहरुलाई निःशुल्क र अन्य संक्रमितहरुलाई सहुलियतमा अक्सिमिटर उपलब्ध गराउनका लागि पालिकाले तत्काल ५० वटा अक्सिमिटर खरिद प्रक्रिया अगाडि बढाएको उनको भनाइ छ ।

त्यस्तै राक्सिराङ गाउँपालिका–५ स्थित ठाडेचुरेमा २६ बेडको कोभिड अस्पताल निर्माण गरिएको छ । अस्पतालका लागि आवश्यक अक्सिजनसहितको स्वास्थ्य सामग्री खरिद गरिसकिएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए ।

बकैया गाउँपालिकाले पनि १० बेडको अक्सिजन सेवा सहितको आइसोलेसन कक्ष स्थापना गरी संक्रमितलाई उपचार सेवा प्रवाह गरिएको जनाएको छ ।

बकैयाले वडा नम्बर ३ मा रहेको हात्तीसुँडे सामुदायिक स्वास्थ इकाईमा अक्सिजनसहितको १० बेडको आइसोलेसन कक्ष तयार गरी सञ्चालनमा ल्याएको गाउँपालिकाका अध्यक्ष दामोदर खनालले जानकारी दिए ।

बागमती गाउँपालिकाले भने पालिकाकै स्वास्थ्यकर्मी परिचालन गरी २० बेडको आइसोलेसन कक्ष तयार गरेको गाउँपालिका अध्यक्ष सर्केश घलान बताउँछन् ।

आइसोलेसनका सबै पूर्वाधार र सामग्रीको व्यवस्थापन भइसकेको र आवश्यकता अनुसार अन्य सामग्री खरिद गर्ने गरी कोरोना संक्रमितकोे उपचारमा पालिका सक्रिय रहेकोे उनले बताए ।

त्यसैगरी कैलाश गाउँपालिकामा एक जना मेडिकल डाक्टर र २ जना नर्सलाई परिचालन गरी २० बेडको आइसोलेसन कक्ष सञ्चालनमा ल्याइएको छ । हाल १० वटा बेडमा अक्सिजनको व्यवस्था रहेको, अन्य १० वटाको लागि अक्सिजन सिलिण्डर खरिद प्रकृया अगाडि बढाइएको गाउँपालिका अध्यक्ष टंक मोक्तानले बताए ।

भीमफेदी गाउँपालिकामा भने २५ बेडको आइसोलेसन कक्ष तयारी अवस्थामा रहेको जनाइएको छ । पालिकाले १२ वटा अक्सिजन सिलिन्डर स्टकमा राखेर संक्रमितको उपचारका लागि पूर्वतयारी थालेको हो ।

तत्काल संक्रमण देखा परेका नागरिकहरुमा कुनै पनि जटिलता नदेखिएकाले उनीहरुलाई होम आइसोलेसनमै बस्ने र स्वास्थ्यकर्मीबाट नियमित निगरानीको व्यवस्था मिलाइएको गाउँपालिका अध्यक्ष हिदम लामाले बताए ।

त्यसैगरी ५३ जना सक्रिय संक्रमित रहेको मकवानपुरगढी गाउँपालिकाले १५ बेडको आइसोलेसन कक्ष सञ्चालनको तयारी गरिरहेको छ ।

व्यवस्थापकीय पक्षमा समस्या हुँदा आइसोलेसन कक्ष सञ्चालनमा ढिला हुन गएको गाउँपालिका अध्यक्ष विदुर हुमागाई बताउँछन् ।

इन्द्रसरोवर गाउँपालिकाले कोरोना संक्रमितको उपचारका लागि १२ बेडको आइसोलेसन कक्ष तयारी अवस्थामा रहेको जनाएको छ । तीमध्ये २ वटा बेडमा अक्सिजनको व्यवस्थापन गरिएको र अन्य ६ वटा अक्सिजन खरिदको अन्तिम अवस्थामा रहेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत किरणनिधी तिवारीले जानकारी दिए ।

मनहरी गाउँपालिकाले स्थानीय स्रोत साधन परिचालन गरी २५ बेडको कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ । संक्रमणको दर र बिरामीको अवस्था अनुसार उक्त अस्पतालको क्षमता वृद्धि गराएर ३० बेडसम्म सञ्चालन गर्ने तयारी रहेको गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले जानकारी दिए ।

यता, हेटौँडा उपमहानगरपालिकाले भने हेटौँडा अस्पतालसँग समन्वय गरी हेटौँडा–६ गौरिटार रंगशालामा रहेको आइसोलेसन कक्षलाई व्यवस्थापन गरी सञ्चालन गरेको छ ।

उक्त आइसोलेसन कक्षमा अन्य पालिकाबाट पठाइएका र बाहिरी जिल्लासहित हेटौँडाका संक्रमितहरुलाई राखी उपचार सेवा प्रवाह गरिँदै आएको छ ।

उक्त आइसोलेसन कक्षको क्षमता कूल १२० बेड रहेको र आवश्यकता अनुसार अन्य स्थानमा आइसोलेसन कक्ष विस्तार गर्ने कार्य भइरहेको उपमहानगरपालिकाकी उपप्रमुख मिना कुमारी लामाले रातोपाटीलाई बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप