बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

‘तटस्थ नेता’ दौडिए बालुवाटारदेखि शीतलनिवास !

नयाँ सरकार बन्न नदिन ओलीसँग जसपा नेताको चोचोमोचो
बुधबार, २९ वैशाख २०७८, १७ : २८
बुधबार, २९ वैशाख २०७८

सरकार बनाउने र ढाल्ने विषयमा तटस्थ रहेको दाबी गर्दै आएका  जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष महन्थ ठाकुर र बरिष्ठ नेता राजेन्द्र महतोको बालुवाटार र शीतलनिवासतिर दौडधूप बढेको छ ।

संविधानको धारा ७६ को उपधारा (२) अनुसार बहुमतको सरकार बनाउने गठबन्धनप्रति अरुचि देखाउँदै तटस्थ बसेका यी नेताहरु बुधबार बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेपछि राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगे ।

बालुवाटारमा प्रधानमन्त्री ओलीसँग सल्लाह गरिसकेपछि ठाकुर र महतोले राष्ट्रपतिसमक्ष उपेन्द्र यादवको हस्ताक्षरलाई वैधता नदिन आग्रह गरेर फर्किएको बुझिएको छ । दुबै नेताहरु संसदबाट संयुक्त सरकार बन्न नदिने र केपी ओलीलाई सहयोग गर्ने लाइनमा सक्रिय बनेका छन् ।

अहिले बन्न लागेको गठबन्धन सरकारलाई सघाउने आफूहरुको नीति नरहेको महतोको भनाइ छ । यसअघि रातोपाटीसँगै कुराकानी गर्दै उनले पार्टी निर्णय विपरीत काँग्रेस–माओवादीको गठबन्धनमा लाग्ने अध्यक्ष उपेन्द्र यादवलाई कारबाही गर्ने चेतावनीसमेत दिएका थिए ।

​तर, राष्ट्रपतिले बहुमतको सरकार बनाउन आह्वान गरेको भोलिपल्टदेखि नै दौडधूपमा रहेको यो समूहको बुधबार थप सक्रियता बढेको छ । यो समूहको दौडधूप विपक्षी गठबन्धनका लागि टाउको दुखाइ बनेको छ भने एमाले अध्यक्ष केपी ओलीका लागि उत्साहजनक देखिएको छ । जसपामा भने केपी ओलीको विकल्पमा सरकार बनाउन उपेन्द्र–यादव बाबुराम भट्टराईको समूह लाग्दै गर्दा महन्थ–राजेन्द्र समूह भने ओलीतिर ढल्किएपछि जसपाभित्रको विवाद थप चुलिएको छ ।

राष्ट्रपतिले दिएको समयसीमा विहीटारसम्म रहेको सन्दर्भमा ठाकुर पक्षले विपक्षी गठबन्धनसँग छलफल गर्न चासो देखाएको छैन बरु प्रधानमन्त्री ओलीसँगै बुधबार उनले दुईपटक वार्ता गरेका छन् । मंगलबार पनि ओली र ठाकुरबीच फाेन सम्वाद भएको थियो ।

स्रोतका अनुसार बिहान एक चरण ओलीसँग छलफल गरेका ठाकुर र महतोले दिउँसो पुनः छलफल गरेका हुन् । सो क्रममा उनीहरुले आफूहरुले विपक्षी गठबन्धनलाई नसघाउने भन्दै ओलीलाई आश्वस्त पारेको बुझिएको छ ।

राष्ट्रपतिले आह्वान गरेको समय सीमाभित्र बहुमतको सरकार बन्न नसकेमा धारा ७६ (३) अनुसार ठूलो दलको सरकार बन्दा केपी ओलीलाई समर्थन गर्ने महतो र ठाकुरले ओलीलाई आश्वासन दिएको स्रोतको दाबी छ ।

वैशाख २७ गते प्रतिनिधिसभामा भएको मतदानमा तटस्थ बसेका ठाकुरले नयाँ सरकार गठन प्रक्रियामा शेरबहादुर देउवालाई नसघाउने सोही रात विज्ञप्ति जारी गर्दै  स्पष्ट पारेका थिए ।

ठाकुरले वैकल्पिक सरकार गठनमा संलग्न हुने कार्य जसपाको उद्देश्य विपरीत भएको बताएका छन् ।  ‘जसपा सत्ताको प्राप्तिभन्दा एजेण्डा सम्बोधनको विषयमा केन्द्रित रहेको र मुद्दा सम्बोधन नै जसपा नेपालको मूल ध्येय रहेको अवस्थामा मुद्दाबाट विचलित भई सरकार निर्माण गर्ने, सरकारमा सहभागी हुने वा कुनै पनि किसिमको वैकल्पिक सरकार गठनमा संलग्न हुने कार्य जसपा नेपालको उद्देश्य विपरीत हो,’ उनको भनाइ छ ।

ठाकुरको यो निर्णयसँगै नयाँ सत्ता समीकरणमा जुटेका काँग्रेस, माओवादी र उपेन्द्र यादव पक्षमा चुनौती थपिएको छ । तर, माधव नेपाल पक्षका २० सांसदले राजीनामा दिने निर्णय गरेका कारण देउवालाई बहुमत पु¥याउने बाटो त्यताबाट पनि खुल्ने सम्भावना पनि देखिन थालेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप